काठमाडौं
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले मन्त्रिपरिषद पुनर्गठन हुन सक्ने बताएका छन् । खुमलटारस्थित निवासमा पत्रकारहरूसँग कुरा गर्दै प्रचण्डले मन्त्रीहरू हेरफेर हुन सक्ने बताएका हुन् । उनले आफ्नो–अर्को नभनी केही मन्त्रीको कामका आधारमा जिम्मेवारी हेरफेर हुन सक्ने बताए ।
‘मन्त्रीहरूको विषयमा केही न केही कदम चाल्नुपर्छ भन्ने नै छ । एउटा पक्षको छुँदा अर्को पक्षलाई नछुने भन्ने हुँदैन । जो सुकै पक्षको भए पनि कदम चाल्नुपर्छ भन्ने छ,’ प्रचण्डले भने, ‘सरकार र पार्टीलाई असफल बनाउने तथा जनतालाई निराश बनाउने अवस्था आएकाले केही न केही कदम चाल्छौँ ।’ कदम चाल्दा कसैले कसैलाई सिध्याउने नभई पार्टी, आन्दोलन र जनतालाई ध्यान दिएर निर्णय लिइने उनको भनाइ छ । आम जनतामा देखिएको निराशा मिडिया मार्फत पनि आएको बताउँदै प्रचण्डले सकारात्मक ढंगले समीक्षा गरिने बताए ।
‘सरकार र मन्त्रीहरूको विषयमा दुई अध्यक्षबीच गम्भीर छलफलसँगै समीक्षा गर्ने प्रक्रिया सुरु भएको छ,’ प्रचण्डले भने, ‘दुई अध्यक्ष बीच एक–आपसमा शंकाका रूपमा हेरिन्छ भन्ने होला, तर पार्टी र सरकारका विषयमा एक–आपसमा गम्भीर छलफल भइरहेको छ ।’ सरकार र पार्टी एकताको विषयमा ठोस प्रस्ताव तयार गरी सचिवालयबाट अन्तिम रूप दिएर स्थायी कमिटीमा छलफलपछि निर्णय गराउने तयारी भएको पनि उनले जानकारी दिए ।
प्रचण्ड भोली भारत भ्रमणमा निस्किने
यसै विच आफू बिहीबार (भोली ) भारत भ्रमणमा जान लागेको पनि प्रचण्डले जानकारी गराए । भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री सुष्मा स्वराज र भारतीय बुद्धिजीवीहरूसँग भेटघाट तथा छलफलको कार्यक्रम छ । २६ भदौमा स्वदेश फर्किए लगत्तै ३० भदौमा अर्को छिमेकी देश चीनको भ्रमणमा जाने कार्यतालिकाबारे पनि उनले जानकारी दिए ।
नयाँ पत्रिकाबाट





























प्रतिक्रिया