प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकारविरुद्ध लड्न संगठित हुन पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिनु भएको छ । सभापति देउवाले सरकारले प्रहरी, सेना, न्यायालयसहित कर्मचारी तन्त्रलाई पार्टीकरण गर्ने षडयन्त्र गरिरहेको पनि आरोप लगाउनुु भयो ।
त्यसविरुद्ध लड्न पनि पार्टीका नेता, कार्यकर्तालाई संगठित हुन निर्देशन दिनु भएको हो । पार्टी निकट कर्मचारीको संगठन नेपाल निजामती कर्मचारी युनियनको स्थापना दिवसको अवसर पारेर मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले कर्मचारीतन्त्रलाई पार्टीकरण गर्ने सरकारको योजना सफल हुन नदिन सचेत रहनुपर्ने आवश्यक्ता पनि औंल्याउनु भयो । सभापति देउवाले कर्मचारीतन्त्रलाई हस्तक्षेपमुक्त बनाउने पार्टीको नीति रहेकोे पनि दावी गर्नु भयो ।
काँग्रेस सभापति देउवाले आफ्नो पार्टीले सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने दावी पनि गर्नु भयो । प्रमुख प्रतिपक्षको रुपमा नेपाली काँग्रेसको भूमिका कमजोर देखिएको भन्दै आलोचना भईरहेका बेला सभापति देउवाले सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको हो ।
उहाँले अवकाश प्राप्त पार्टी निकट कर्मचारीहरुलाई पार्टीले उचित स्थान दिने आश्वासन पनि दिनु भयो । सभापति देउवाले अवकाश प्राप्त कर्मचारीहरुको अनुभव राष्ट्र निर्माणमा लगाउन आफ्नो पार्टी तयार रहेको पनि बताउनु भयो ।































प्रतिक्रिया