काठमाडौं । ग्रेट वाल मोटर (जिडब्लुएम) चीनको एक प्रसिद्ध अटोमोबाइल कम्पनी हो, जसले सन् १९८४ मा आफ्नो यात्रा सुरु गरेको थियो । स्थापना भएदेखि नै कम्पनीले गाडी उद्योगमा विशेष पहिचान बनाउँदै आएको छ । मुख्यतया एसयुभी र पिकअप ट्रक उत्पादनमा केन्द्रित ग्रेट वाल मोटरले विश्वभरि आफ्नो उत्पादन विस्तार गरिरहेको छ ।
कम्पनीले विभिन्न ब्राण्डमार्फत गाडीहरू बजारमा ल्याउने गरेको छ । जिडब्लुएमका प्रमुख ब्राण्डहरूमा हाभल, पोअर, ट्याङ्क र ओरा समावेश छन् । यी ब्राण्डहरू अन्तर्गत पेट्रोल, डिजेल, हाइब्रिड तथा पूर्ण विद्युतीय (ईभी) गाडीहरू उपलब्ध छन् । जसले उपभोक्तालाई आवश्यकताअनुसार छनोट गर्ने सुविधा दिएको छ ।
जिडब्लुएमले विश्व बजारमा प्रतिस्पर्धात्मक मूल्य, नवीन प्रविधि र मजबुत डिजाइनका कारण सवारी क्षेत्रमै अग्रणी भूमिका निर्वाह गर्दै आइरहेको छ । ग्राहकको आवश्यकता र वातावरणमैत्री प्रविधिलाई प्राथमिकता दिँदै कम्पनीले भविष्यमा अझ प्रभावकारी र दिगो यातायात समाधान प्रदान गर्ने लक्ष्य लिएको छ ।
नेपालमा जिडब्लुएमको ओरा ०३ मोडलको ईभी उपलब्ध रहेको छ । यसको आधिकारीक विक्रेता भिजी इम्पेक्स हो । जिडब्लुएमले २०२१ मा आफ्नो आधिकारिक प्रवेशसँगै नेपालमा पहिलो पटक हाभल ब्रान्डका एसयुभीहरू र पोअर पिकअप ट्रकहरू भित्र्याएको थियो । यसपछि २०२२ मा ओरा ०३ मोडेल नेपालमा प्रवेश गरेको हो ।
कस्ताे छ ओरा ०३ ?
जिएमडब्लु ओरा ०३, जसलाई कतिपय ठाउँमा ओरा गुड क्याट पनि भनिन्छ । नेपालमा उपलब्ध जिडब्लुएम ब्रान्डको एक लोकप्रिय विद्युतीय कार हो । डिजाइनको हिसाबले यो गाडी रेट्रो शैली र आधुनिक प्रविधिको आकर्षक संयोजन हो, जसले यसलाई बजारमा छुट्टै पहिचान दिन सफल भएको छ ।
यस विद्युतीय कारमा ९९ किलोवाटको परमानेन्ट म्याग्नेट सिङ्क्रोनस मोटर जडान गरिएको छ । साथमा, ४७.७ किलोवाट आवरको लिथियम आइरन फस्फेट ब्याट्री रहेको छ, जसले करिब ४ सय किलोमिटरको एनईडिसी रेन्ज दिन सक्छ । यसले दैनिक सहरिया यात्रा र मध्यम दूरीका यात्राका लागि पर्याप्त दूरी सुनिश्चित गर्छ ।
सुरक्षाका हिसाबले ओरा ०३ उच्च स्तरमा रहेको कार हो। यसले युरोपेली सुरक्षा परीक्षण संस्था युरो– एनसिएपी बाट ५– तारे सुरक्षा रेटिङ प्राप्त गरेको छ । यसमा अटोमेटिक इमर्जेन्सी ब्रेकिङ, लेन किपिङ असिस्ट, ३६० डिग्री क्यामेरा प्रणाली लगायतका अत्याधुनिक सुरक्षा सुविधाहरू समावेश छन् ।
यो कार अन्य सुविधाका हिसाबले पनि निकै समृद्ध छ । अटोमेटिक क्लाइमेट कन्ट्रोल, पानोरामिक सनरुफ, १०.२५ इन्चको इन्फोटेनमेन्ट स्क्रिन, वायरलेस चार्जिङ लगायतका फिचरहरूले यसलाई प्रिमियम विद्युतीय सवारीको रूपमा स्थापित गर्छ ।
नेपालमा जिडब्लुएमको आधिकारिक वितरक भि.जी. इम्पेक्स हो । ओरा ०३ को प्रो भेरियन्टको मूल्य हाल ४२.४९ लाख रुपैयाँ तोकिएको छ ।
ओरा ब्रान्ड अन्तर्गतको ओरा ०३ जीडब्लुएमको विद्युतीय सवारीसाधनहरूमध्ये सबैभन्दा लोकप्रिय मोडलमध्ये एक बनेको छ । यसको रेट्रो–मोर्डन डिजाइन, मजबुत निर्माण गुणस्तर र अत्याधुनिक सुविधाहरूका कारण यो गाडी विश्वका विभिन्न मुलुकहरूमा तीव्र रुपमा लोकप्रिय बन्दै गएको छ ।
ओरा ०३ले अस्ट्रेलिया, न्यूजिल्याण्ड, इङ्याण्ड, जर्मनी, थाइल्यान्ड, इन्डोनेसिया, फिलिपिन्स, दक्षिण अफ्रिका, ब्राजिल र चिली जस्ता देशहरूमा उल्लेखनीय रूपमा बजार विस्तार गर्दैछ, यस्ता विविध देशहरूमा उपभोक्ताले ओरा ०३ लाई नयाँ प्रविधि, दक्षता र स्टाइलको उत्कृष्ट संयोजनको रूपमा स्वीकार गरिरहेको कम्पनीको दाबी छ ।
ओरा ०३को सफलताले जिडब्लुएम ब्रान्डले विद्युतीय सवारीसाधनको विश्व बजारमा लिएको अग्रगामी स्थानलाई थप मजबुत बनाएको छ । कम्पनीले भविष्यमा अझ प्रविधिमैत्री र दिगो सवारी समाधान ल्याउने प्रतिबद्धता जनाएको छ ।





























प्रतिक्रिया