काठमाडौं । अटो व्यवसायीहरूको आशाको केन्द्र बनेको नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)ले १७औं संस्करणको नाडा अटो शो–२०२५ आयोजना गर्ने तयारी गरिरहेको छ । यहि भदौ ३ गतेदेखि ८ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने यस वर्षको शोमा उड्ने कारदेखि रोबोटजस्ता अत्याधुनिक प्रविधिहरू प्रदर्शनमा राखिने चर्चाले सबैको ध्यान खिचेको छ । यस वर्षको नाडा अटो शोमा के कस्ता आकर्षण रहनेछन् ? अहिलेको अटो बजारको अवस्था कस्तो छ ? लामो समयसम्म एकै छानामुनि अटाएको अटोमोबाइल क्षेत्रकाृ विभाजनलगायत नाडा अटो शोको तयारीका विषयमा केन्द्रित रहेर नाडाका अध्यक्ष करण चौधरीसँग केन्द्रबिन्दुले कुराकानी गरेको छ । प्रस्तुत छ, उक्त कुराकानीको सम्पादित अंशः
नाडा अटो शोको तयारी कस्तो चलिरहेको छ, यसपालि के विशेष छ ?
-नाडा अटो शोको तयारी एकदमै तीव्र गतिमा भइरहेको छ किनभने यसपाली हामीले धेरै माथिल्लो स्तरको लक्ष्य राखेका छौँ। विगतका संस्करणहरूमा गरिएका कार्यक्रमभन्दा यसवर्ष फरक र भव्य बनाउने हाम्रो योजना छ । यसपालिको सबैभन्दा ठूलो र नयाँ आकर्षणका रूपमा हामी उड्ने गाडी र रोबोटहरू प्रदर्शन गर्दैछौँ। यसको मुख्य उद्देश्य भनेको भविष्यको मोबिलिटीका लागि आवश्यक नीति, पूर्वाधार र बहसका लागि सरकारलाई घच्घच्याउनु हो।
नाडा अटो शो केवल प्रदर्शनी मात्र नभएर एक व्यावसायिक थलो पनि हो, जहाँ अवलोकनकर्ताहरूलाई आकर्षित गरेर व्यवसाय विस्तार गर्न सकिन्छ ।
उड्ने गाडी र रोबोटहरू नाडा अटो शोका लागि मात्रै लक्षित हो कि, दीर्घकालीन योजना पनि छ ?
-नाडाले आजसम्म गरेका सबै कामहरू सधैं दीर्घकालीन सोच राखेरै गरेको छ । यसपालिको प्रदर्शनी पनि यसैको निरन्तरता हो । हाम्रो मुख्य उद्देश्य ‘फ्युचर अफ मोबिलिटी’ का लागि आवश्यक नीति र पूर्वाधार निर्माणमा सरकारलाई सहयोग गर्नु हो । नाडा यस विषयमा गहिरिएर र एकजुट भएर लाग्नेछ । विगतमा पनि हामीले नयाँ प्रविधिहरू प्रदर्शनी गर्दा त्यससम्बन्धी बहस सुरु भएको थियो र यसपालि पनि त्यस्तै अपेक्षा छ। नाडाले जहिले पनि देश र उद्योगको हितका लागि दूरगामी सोच राख्ने गरेको छ।
नाडा अटो शोमा उड्ने गाडी र रोबोटबाहेक अन्य के–के कुराहरू अवलोकनकर्ताहरूका लागि आकर्षणका रूपमा रहने छन् ?
-नाडा अटो शो केवल प्रदर्शनी मात्र नभएर एक व्यावसायिक थलो पनि हो । यसको मुख्य फोकस प्रदर्शकहरूको हितमा हुन्छ, जसले अवलोकनकर्ताहरूलाई आकर्षित गरेर व्यवसाय विस्तार गर्न सक्छन्। नाडा अटो शोमा ग्राहकहरूले सम्पूर्ण अटोमोबाइल ब्रान्डहरू एकै ठाउँमा हेर्न र बुकिङ गर्न सक्छन्, जुन हाम्रो सफलताको मुख्य कारण हो।
उड्ने गाडी र रोबोटहरू प्रदर्शन गर्नुकाे मुख्य उद्देश्य भनेको भविष्यको मोबिलिटीका लागि आवश्यक नीति, पूर्वाधार र बहसका लागि सरकारलाई घच्घच्याउनु हो।
यसपालि हामीले विन्टेज कार पवेलियन पनि राखेका छौँ, जसले पुरानो र क्लासिक कारका पारखीहरूलाई आकर्षित गर्नेछ । यसका साथै, बौद्धिक अवलोकनकर्ताहरूका लागि अटोमोबाइल क्षेत्रका विभिन्न विषयमा बहस गर्न अटो डायलग कार्यक्रम पनि आयोजना गर्दैछौँ।
यसपाली नाइमाले पनि छुट्टै अटो शो सम्पन्न गरिसकेको छ, यसले नाडालाई कत्तिको चुनौती थपिएको छ ?
-नेपालको कानुनअनुसार जो कोहीले पनि प्रदर्शनी गर्न सक्छन् र यसलाई म चुनौतीका रूपमा लिन्नँ । विगतका वर्षहरूमा पनि यस्ता धेरै कार मिट्स र कार्निभलहरू भएका थिए । तर त्यसले नाडालाई कुनै असर गरेको छैन । यहाँले नाडा र नाइमाको तुलना गर्नुभयो, जुन गर्न मिल्दैन। नाडा भनेको सम्पूर्ण अटोमोबाइल व्यवसायीहरूलाई समेट्ने एकमात्र संस्था हो। प्रदेशस्तरमा पनि नाडाको उपस्थिति छ, जुन अरू कुनै संस्थाको छैन। नाइमाका सदस्यहरू पनि नाडाका सदस्य नै हुन्, त्यसैले ‘फुटेको’ भन्ने कुरा गलत हो।
नाडा सम्पूर्ण अटोमोबाइल व्यवसायीहरूलाई समेट्ने एकमात्र संस्था हो। अरुसँग तुलना हुँदैन ।
अर्थतन्त्र सुस्त रहेको अवस्थामा अटो सेक्टरलाई चलायमान बनाउन नाडाले के कस्ता योजना अघि सारेको छ ?
-गत वर्षको अटो शोमा मैले अटोमोबाइल क्षेत्रको पहिचान दिलाउनुपर्ने आवश्यकता रहेको बताएको थिएँ । अहिले सरकारले यसको महत्व बुझेको छ र नीतिहरू पनि स्थिर बनाएको छ, जुन स्वागतयोग्य छ । अझै चलायमान बनाउनका लागि हामी मौद्रिक नीतितर्फ केन्द्रित छौँ। यदि सरकारले लोन टू भ्यालु र ग्रस डेट सर्भिस इन्कमलाई व्यवस्थित गर्न सक्यो भने अटोमोबाइल सेक्टरले निकै ठूलो गति लिन्छ भन्ने हाम्रो विश्वास छ। अटोमोबाइल सेक्टर उड्ने वाला छ।
नाडा अटो शोले सुस्त अर्थतन्त्रलाई गति दिन के कस्तो योगदान गर्छ ?
-नाडा अटो शोलाई अटो व्यवसायीहरूको चाड भनिन्छ किनभने वर्षभरि हुने कुल बिक्रीको ४० प्रतिशत बुकिङ यही शोबाट हुने गरेको छ । शोमा बुकिङ भएका गाडीहरू दसैंतिहारको सिजनमा डेलिभरी दिइन्छ, जसले अर्थतन्त्रमा एउटा ठूलो गति प्रदान गर्छ। यसले अटोमोबाइल क्षेत्रमा फेरि उत्साह र चहलपहल ल्याउने हाम्रो विश्वास छ । यो शोले अटोमोबाइल क्षेत्रमा फेरि एउटा उछाल आउँछ भन्ने मलाई लाग्छ ।
चार्जिङ पूर्वाधारको विस्तारमा भारतभन्दा अघि छाैं ।
ईभीको बजार फस्टाएको छ, तर चार्जिङ पूर्वाधार सन्तोषजनक छैन । यसमा नाडाको दृष्टिकोण के छ?
-नेपालमा चार्जिङ पूर्वाधारको विस्तार तीव्र गतिमा भइरहेको छ । एउटा तथ्यांकअनुसार, भारतमा प्रति चार्जिङ नोजल १०३ गाडी छन् भने नेपालमा २६ वटा मात्रै छन्। यसले हामी भारतभन्दा पनि चार्जिङ पूर्वाधारमा विकसित भएको देखाउँछ। हरेक ईभीसँग व्यक्तिगत चार्जर पनि हुन्छ । निजी क्षेत्रले पनि यसलाई व्यवसायको रूपमा लिएकाले चार्जिङ स्टेशनहरू बढिरहेका छन्। सरकारले पनि चार्जिङ स्टेशन बनाउने नीति अगाडि बढाएको छ, जुन पर्याप्त हुनेछ। निजी क्षेत्रले पनि चार्जिङ स्टेशनलाई एउटा व्यवसायको रूपमा लिएकाले धेरै ठाउँमा स्टेशनहरू खुलेका छन्। पहाडी र सुदूरपश्चिम भेगमा पर्याप्त नहोला, तर ती ठाउँमा गाडीको संख्या पनि कमै छ ।
नाडाको नेतृत्व सम्हालेपछि अटो क्षेत्रका समस्या समाधानका लागि धेरै पहल गर्नुभएको छ। तर पनि समस्या समाधान हुन सकेका छैनन्। सरकारसँगको समन्वयमा कहाँ ग्याप रहेको जस्तो लाग्छ ?
-अटोमोबाइल व्यवसायीहरूका सबै समस्या समाधान भए भने नाडाको अध्यक्षको आवश्यकता नै पर्दैन । यो एउटा निरन्तर छलफल र संवादको प्रक्रिया हो। हामी सरकारसँग विभिन्न चरणमा हाम्रो समस्या राख्ने गर्छौँ। कतिपय कुराहरू सरकारले बुझेको पनि छ। तर केही बाध्यताले गर्दा तुरुन्तै समाधान गर्न नसकेको हुन सक्छ । हामीले निरन्तर सरकारलाई घच्घचाइरहेका छौँ र मलाई विश्वास छ, मौद्रिक नीतिको पहिलो समीक्षामा हाम्रो मागहरू सम्बोधन हुनेछन्।
मोबिलिटी भनेको विलासिता होइन, यो आवश्यकता हो।
सडक पूर्वाधारको अवस्थाले अटो सेक्टरलाई कत्तिको प्रभाव पारेको छ ?
-सडक पूर्वाधार विस्तार भइरहेको छ र यसको गतिलाई नाडाले पनि नजिकबाट हेरिरहेको छ । नेपालमा बाढीपहिरोका कारण सडक खण्डहरू बिग्रने र पुनर्निर्माणमा ढिलाइ हुने समस्या छ । यस सन्दर्भमा नारायणगढ–बुटवल र पोखरा–मुग्लिङ सडक खण्डको काम जारी छ, तर समय लागिरहेको छ । म सरकारलाई के आग्रह गर्न चाहन्छु भने सडक पूर्वाधार निर्माणका लागि सरकार मात्र नभई निजी क्षेत्र पनि तयार छ । ‘बुट’ वा ‘पीपीपी’ मोडलमा काम गर्न निजी क्षेत्र अग्रसर छ । यसका लागि सरकारको साथ र सहयोग आवश्यक छ ।
नाडा अटो शोको तयारी र भविष्यको योजनाअनुसार अब के के कुरामा सुधार भए अटो सेक्टरले गति लिन्छ ?
-एउटै मात्रै कुरामा सुधार आवश्यक छ । सरकारले अटो सेक्टरलाई ‘उत्पादनमूलक’ क्षेत्रका रूपमा घोषणा गर्नुपर्यो। व्यवसायीहरूलाई चोर वा ठगका रूपमा हेर्नु भएन। व्यवसायीको रूपमा हेर्नुपर्यो। मोबिलिटी भनेको विलासिता होइन, यो आवश्यकता हो। सरकारले कति मूल्यको गाडीलाई विलासिता भन्ने भन्ने निर्णय गर्न सक्छ, तर मोबिलिटीमा वञ्चित गर्नु हुँदैन। नेपाली जनताको परिश्रमको कदर गर्दै सरकारले यस क्षेत्रलाई प्रोत्साहन गर्नुपर्छ।
तपाईंको कार्यकालमा अटो सेक्टरलाई अझै माथि पुर्याउने के योजना बनाउनुभएको छ ?
-अहिले तत्कालको लागि नयाँ सवारी आयात मापदण्डको बारेमा छलफल भइरहेको छ । नाडाले यसमा काम गरिरहेको छ र सुझावहरू पनि दिइरहेको छ। मलाई आशा छ कि यातायात विभागले नाडाको सुझावलाई समेटेर उपभोक्ता, आयातकर्ता र सरकार तीनवटै पक्षको हित हुने गरी यो मापदण्ड छिट्टै लागू गर्नेछ।
सरकारले अटो सेक्टरलाई ‘उत्पादनमूलक’ क्षेत्रका रूपमा घोषणा गर्नुपर्यो। व्यवसायीहरूलाई चोर वा ठगका रूपमा हेर्नु भएन।
यो पटकको नाडा अटो शोमा कति अवलोकनकर्ता आउनुहुन्छ भन्ने आंकलन गर्नुभएको छ ?
-गत वर्ष नाडाले ८६ हजार अवलोकनकर्ता भित्र्याएको थियो। यो वर्ष मेरो लक्ष्य १ लाख हो। साथै शोमा गाडी मात्र पाँच÷छ हजार बुकिङ हुन्छ भन्ने अपेक्षा छ ।
अन्त्यमा, नाडा अटो शो अवलोकन गर्न आउने दर्शकहरूलाई के सन्देश दिन चाहनुहुन्छ?
-नाडा अटो शो एउटा यस्तो संस्था हो जहाँ सबैलाई समेटिएको छ। यसपालिको नाडा अटो शोले साना बालकदेखि वृद्धसम्म सबैलाई आकर्षित गर्ने कार्यक्रमहरू समावेश गरेको छ । म सबैलाई यो भव्य प्रदर्शनीमा आएर भरपुर आनन्द लिन आग्रह गर्छु।
भिडियाे पनि-































प्रतिक्रिया