काठमाडौं । भोलि, भदौ ३ गतेदेखि सुरु हुने १७ औं संस्करणको नाडा अटो शो २०२५ यसपटक विशेष हुने भएको छ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले आयोजना गर्ने यो शोमा केवल विदेशी ब्रान्डका नयाँ गाडीहरू मात्र नभएर नेपालमै उत्पादित अटोमोबाइलका इकोसिस्टम पनि प्रमुख आकर्षणको रूपमा रहने भएका छन् ।
आयोजकका अनुसार यसपटकको नाडा अटो शोले ‘मेड इन नेपाल’ नारालाई विशेष प्राथमिकता दिँदै स्वदेशी उद्योग र उत्पादनलाई ठूलो प्लेटफर्म प्रदान गरिएको छ ।कुनै समय आयातमा मात्रै केन्द्रित रहेका नेपाली अटो व्यवसायीहरूले पछिल्लो समय उत्पादन र एसेम्बलतर्फ ध्यान केन्द्रित गरेका छन् । नाडा शोमा यसको प्रत्यक्ष झलक देख्न सकिन्छ । नेपालमै बनेका हेल्मेट, लुब्रिकेन्ट्स, ब्याट्री र तीन पाङ्ग्रे सवारी साधन पनि प्रदर्शनीमा राखिने छन् ।
कोहिनुर प्लास्टिक इन्डस्ट्रिजले उत्पादन गर्ने केपीआई ब्रान्डको हेलमेट पनि शोमा सहभागी हुँदैछ । नेपाल ल्युब आयल लिमिटेडको गल्फ लुब्रिकेन्ट र पूर्वाञ्चल ल्युब आयलको पीएलओ ब्रान्ड पनि प्रदर्शनीमा रहनेछन् ।
नाडा अटो शोको यो संस्करण ‘फ्युचर मोबिलिटी’ मा पनि केन्द्रित छ । शोको सबैभन्दा ठूलो आकर्षण फ्लाइङ कार र ह्युमनोइड रोबोट हुनेछ । यसका साथै, नेपालमा एसेम्बल हुने दुई पाङ्ग्रे इलेक्ट्रिक बाइक तथा स्कुटर र तीन पाङ्ग्रे इलेक्ट्रिक सवारीसाधन ‘सामुराई’ पनि प्रदर्शनीमा राखिनेछन् । नेपालमै उत्पादित एसटिसी राइड / इनर्जीका लिड एसिड ब्याट्रीहरू पनि शोमा देख्न पाइनेछ । यो समावेशी प्रदर्शनीले नेपाली अटोमोबाइल क्षेत्रको भविष्यलाई संकेत गर्दछ ।
प्रदर्शनीमा रहने स्टल र ब्रान्डहरू
यसपटकको नाडा अटो शोमा कुल ७५ वटा स्टल रहनेछन् । विभिन्न सेग्मेन्टका गाडी र उत्पादनहरूलाई समेट्ने गरी स्टलहरू विभाजन गरिएको छ । चार पाङ्ग्रे सवारीतर्फ दिपल, अवतार, डोङफेङ, नामी, सेरेस, टाटा, सुजुकी, टेस्ला, आयोन, एक्सपेङ, रिडारा, स्काइवेल, बीवाइडी, फोटोन, आइएडब्लू ब्रम्बी, जेवाई एयर, बिलाभल, एलएस अटो र जिङपेङ गरी १८ वटा ब्रान्डका स्टल रहनेछन् ।
दुई पाङ्ग्रे सवारीमा हिरो, रोयल इन्फिल्ड, जोनसन र यामाहा गरी ४ वटा ब्रान्डले सहभागिता जनाउनेछन् । त्यसैगरी, लाइट कमर्सियल भेहिकल न्यू जोनाउ, डीएफएसके, डोङफेङ, कामा, फोटोन, सोकोन, सीजी केवाइसी/किङलङ, मोन्ट्रा, स्काईवर्थ, काइन्यु, केवाइ/नाभीको र सुनलङ गरी १३ वटा ब्रान्डका स्टल रहनेछन् ।
अटो कम्पोनेन्ट्सतर्फ एशियन, गल्फ, डकह्याम्स, एटिएस एल्गी, माफ्रा, म्याक्ससाइन, वेभेक्स/कुरुमा, मासिमो नेपाल, म्याचिलिन, लिक्वी मोली, एसटिसी राइड/इनर्जी, सिएट टायर, जेके/गुड टायर, स्पाइसर, भुल्कन, आइटिआर/एटिएफ युएसबी/होबी, सिवाइजी, केपिआई एन्ड कोहिनुर, मनाती, इलेक्ट्रिक भेहिकल चार्जर, टाटा ग्रिन, टोटल इनर्जी, स्टुड्स/एसएमके, माइक्रोबिज, होराइजन एफसिटी, म्याक, पीएलओ लगायतका ४० वटा स्टल रहनेछन् ।
यसका अतिरिक्त, नाडाले ‘मेड इन नेपाल पेभेलियन’ र ‘भिन्टेज कार पेभेलियन’ पनि राख्नेछ । नाडाले यसपटक ‘अटो डायलग’ नामक विशेष कार्यक्रम पनि आयोजना गर्दैछ । समग्रमा, नाडा अटो शो २०२५ ले अटो क्षेत्रको सम्पूर्ण इकोसिस्टमलाई एकै छानामुनि ल्याएर नेपाली उपभोक्ता र व्यवसायी दुवैलाई लाभ पुऱ्याउनेछ ।































प्रतिक्रिया