काठमाडौं । निजी विद्यालय सञ्चालकहरुको संगठन नेशनल प्याब्सन,प्याब्सन, अपेन, र हिसानले विद्यालय शिक्षा विधेयकप्रति असहमति जनाउँदै संयुक्त रूपमा आन्दोलन घोषणा गरेका छन् ।
बुधबार काठमाडौंमा संयुक्त पत्रकार सम्मेलन गरी उनीहरुले ५ बुँदे माग अघि सार्दै आन्दोलन घोषणा गरेका हुन् । आफूहरूको अस्तित्व र योगदानलाई उपेक्षा गर्ने गरी विधेयकमा अव्यवहारिक र अन्यायपूर्ण प्रावधान राखिएको दाबी गर्दै तिनको खारेजी तथा संशोधन हुनुपर्ने उनीहरुकाे माग छ ।
उनीहरुले ‘पूर्ण छात्रवृत्ति’ भन्ने शब्द हटाइनु पर्ने, विद्यालयमा उत्पादन नहुने पोसाक, स्टेशनरी, शैक्षिक सामग्री, खाजा जस्ता वस्तु उपलब्ध गराउनुपर्ने प्रावधान खारेज गर्नुपर्ने, कम्पनी ऐनअनुसार दर्ता भई सञ्चालनमा रहेका विद्यालयलाई गैर नाफामूलक’ बनाउँदै लगिने प्रावधान हटाइनु पर्ने माग गरेका छन् ।
त्यस्तै, छात्रवृत्ति वितरणको अधिकार सम्बन्धित विद्यालयमै रहनुपर्ने माग गरेका छन् । उनीहरुले भदौ ५ गते बिहान ११ देखि १ बजेसम्म माइतीघर मण्डलादेखि नयाँबानेश्वर चोकसम्म प्रिन्सिपलहरूले ब्यानरसहित र्याली गर्ने र कोणसभा गर्ने, भदौ ६ गते देशभर स्कुल बस उतारेर नगर परिक्रमा गर्ने तथा काठमाडौँको चक्रपथ वरिपरि कालो झन्डा/ब्यानरसहित र्याली गर्ने बताएका छन् । यसैगरी भदौ ८ गते निर्णायक आन्दोलनमा प्रवेश गर्ने घोषणा गरेका छन् ।






























प्रतिक्रिया