काठमाडौं । भृकुटीमण्डपमा जारी नाडा अटो शो २०२५ को चौथो दिन चिनियाँ अटो ब्रान्ड फोटोनले आफ्नो नयाँ इलेक्ट्रिक पिकअप ‘ई-टुनल्याण्ड’ सार्वजनिक गरेको छ। कम्पनीले फोटोनको इलेक्ट्रिक पीकअप ‘ई-टुनल्याण्ड’को बिक्री सुरू गरेको हो ।
इलेक्ट्रिक टुनल्याण्डमा फोटोनले चीनको प्रख्यात ब्याट्री निर्माता सीएटीएलद्वारा उत्पादित ८८ किलोवाट–आवर क्षमताको लिथियम-आयन ब्याट्री प्रयोग गरेको छ।
कम्पनीका अनुसार, यस ब्याट्रीले ३५० किलोमिटरको डब्ल्यूएलटीपी रेन्ज प्रदान गर्दछ । जुन नेपाली भौगोलिक परिस्थितिका लागि पर्याप्त दूरी हो। यसमा १३० किलोवाटको इलेक्ट्रिक मोटर जडान गरिएको छ। जसले शक्तिशाली पिकअप क्षमताको अनुभव दिलाउने कम्पनीले जनाएको छ ।
फोटोनले ई-टुनल्याण्डमा रहेको ब्याट्रीमा ८ वर्ष वा ४ लाख किलोमिटरसम्मको वारेन्टी दिएको छ भने मोटरमा ५ वर्ष वा २ लाख किलोमिटरको वारेन्टी प्रदान गरिएको छ। यी वारेन्टी सुविधाहरूले प्रयोगकर्तामा दीर्घकालीन भरोसा जगाउने मात्र होइन, नेपालमा अझै पूरै विश्वास जमाउन नसकेको इलेक्ट्रीक कमर्सियल गाडी सेग्मेन्टप्रति विश्वास बढाउने काम पनि गर्नेछ।
फोटोन ई-टुनल्याण्डको सुरुवाती मूल्य ६९ लाख ९९ हजार रुपैयाँ तोकिएको छ। तर नाडा अटो शो २०२५ को अवसरमा कम्पनीले १ लाख रुपैयाँ छुट दिँदै ६८ लाख ९९ हजार रुपैयाँमा सीमित अवधिका लागि उपलब्ध गराएको छ। ग्राहकहरूलाई आजैदेखि बुकिङ गर्ने सुविधा प्रदान गरिएको कम्पनीले जनाएको छ।
फोटोनको आधिकारिक वितरक एमएडब्लू वृद्धिले नेपालभर १२५ भन्दा बढी स्थानमा चार्जिङ स्टेसनहरू तयार गरिसकेको जनाएको छ। यो संख्या भविष्यमा झनै बढाइने लक्ष्य राखिएको छ, जसले प्रयोगकर्तालाई देशभर सहज चार्जिङ अनुभव दिलाउनेछ। ई-टुनल्याण्डको आगमनसँगै नेपाली बजारमा पहिले देखिनै लोकप्रिय रहेको राडार आरडी६ लगायतका पिकअपहरूसँग कडा प्रतिस्पर्धा सुरु भएको छ।































प्रतिक्रिया