काठमाडौँ
नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाले सरकारले वार्ताका लागि औपचारिक आग्रह गरे वार्तामा बस्न सकारात्मक संकेत देखाएको छ । सरकारले नेकपा नेता सोमप्रसाद पाण्डेको नेतृत्वमा विभिन्न समूहसँग वार्ता गर्न ५ सदस्यीय वार्ता टोली गठन गरेपछि चन्द नेतृत्वको पार्टीले त्यस्तो संकेत देखाएको हो ।
‘हाम्रो लाइन भनेको वार्ता नै नगर्ने भन्ने होइन, हामी वार्ताका लागि तयार छौं । के सर्तमा, कसरी र किन गर्ने विषयको प्रकृति हेरेर हामी धारणा बनाउँछौं’, नेकपा महासचिव चन्द (विप्लव)को सचिवालयमा कार्यरत एक केन्द्रीय सदस्यले भने ।
उनले वार्ता र संवादका लागि पहिले आफ्नो पार्टीसँग औपचारिक प्रस्ताव गर्नुपर्ने वताए । ‘सरकारले विभिन्न पार्टी, समूहसँग वार्ता गर्न समिति बनाएको हामीले पनि मिडिया मार्फत सुनेका छौं तर आधिकारिक केही जानकारी आएको छैन, आए के गर्ने धारणा तय गर्छौं’, ती नेताले भने । वार्तामा बस्नु अघि सरकारले सार्वजनिक रूपमा खुला वार्ताको आह्वान गर्नुपर्ने, पार्टीलाई आधिकारिक पत्र पठाउनु पर्ने, हिरासतमा रहेका पार्टी प्रवक्ता सहित नेताकार्यकर्ता रिहा गरी वार्ताको वातावरण बनाउनु पर्नेमा चन्दको पार्टीले जोड दिएको छ ।
सरकारले शुक्रबार मन्त्रिपरिषद बैठकबाट विगतमा छुटेका विभिन्न समूह, संक्रमणकालीन परिवेशमा देखा परेका द्वन्द्वरत समूहसँग वार्ता गर्न उच्चस्तरीय वार्ता टोली गठन गरेको थियो । समितिको संयोजक नेकपाका नेता सोमप्रसाद पाण्डे र नेताहरू सुरेश आलेमगर, ताराकान्त चौधरी, लीला भण्डारी र गृह मन्त्रालयका एक सहसचिव सदस्य छन् । आलेमगर र भण्डारी यसअघि चन्दसँगै सहकार्य गरेका पूर्वमाओवादीका नेता हुन् ।
अन्नपूर्णबाट





























प्रतिक्रिया