कञ्चनपुर
गत साउन १० गते कञ्चनपुरको भीमदत्त नगरपालिका–२ उल्टाखामकी १३ वर्षीय बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको आइतबार एक महिना पुगेको छ । घटना भएको महिना दिनपछि प्रधानमन्त्री केपी शर्मा ओलीको सन्देश बोकेर सत्तारुढ दलका नेता एवं सांसद र प्रमुख प्रतिपक्षी दल कांग्रेसका नेता एवं सांसदले आइतबार पन्त र प्रहरीको गोली लागेर मृत्यु भएका भीमदत्त नगरपालिका–१८ सालघारका सन्नी खुनाको घरमा पुगेका छन् ।
घटनाले उग्ररुप लिएपछि सत्तारुढ दलका नेता एवं सांसदले विशेष चासोका साथ पीडित परिवारसँग भेटघाट गरेका हुन् । यस्तै प्रतिपक्षी कांग्रेसका नेता एवं सांसदले घटनाको छानबिनका लागि भन्दै दुवै मृतकका परिवारसँग भेट गरेका थिए । सत्तारुढ दल नेकपाका स्थायी समिति सदस्य एवं कैलाली, ४ बाट निर्वाचित लेखराज भट्ट, नेकपाका सांसद एवं कञ्चनपुर, ३ बाट निर्वाचित डा. दिपक प्रकास भट्ट, कञ्चनपुर, २ बाट निर्वाचित नरबहादुर धामीका साथै प्रदेश सभाका सदस्यहरु पीडितका घरमा पुगेका थिए । पीडित परिवारलार्इ भेट्न नेकपाका नेता एवं ७ नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकास शाह लगायत प्रदेश सरकारका प्रतिनिधिहरु पुगेका थिए ।
सत्तारुढ दल नेकपाका स्थायी समिति सदस्य एवं सांसद लेखराज भट्टले प्रधानमन्त्री ओलीको सन्देश लिएर आएको बताए । उनले भने, ‘हाम्रो पाटी र सरकार पीडाप्रति सम्वेदनशील छौँ, यो दुर्घटना दुर्भाग्य हो ।’ घटना प्रति वर्तमान सरकार गम्भीर भएको बताउँदै उनले जस्तोसुकै शक्तिशाली भए पनि दोषीलार्इ कारबाही हुने विश्वास दिलाए । ‘सरकार पीडित परिवारसँग छ, ‘उनले भने, ‘तपाईको न्यायका लागि हामी साथमा छौँ ।’
कञ्चनपुर, ३ का सांसद डा दिपक प्रकास भट्टले निर्मलाको हत्यारा कारबाहीका लागि प्रधानमन्त्रीले कडा निर्देशन दिएको बताउँदै सत्तारुढ दल र सरकार घटनाप्रति सम्वेदनशिल भएको बताए । यस्तै कञ्चनपुर, २ का सांसद नरबहादुर धामीले पीडित परिवारलाई न्याय दिने विश्वास गरेका थिए । सत्तारुढ दलका सांसदले खुना परिवारसँग भेट गरी पीडित परिवारप्रति समवेदना प्रकट गर्दै सरकारले सहिद घोषणा गरेको बताए ।
नयाँ पत्रिकाबाट





























प्रतिक्रिया