रसुवा

भगवान् शङ्कर विराजमान रहेको विश्वास गरिने पवित्र तीर्थस्थल गोसाइँकुण्डमा यही भदौ ६ गते पुत्रदा एकादशी देखि लागेको विशेष मेला भर्न हजारौँ भक्तजन आज निलाद्री पर्वत पुगेका छन् । "/>

गोसाइँकुण्डमा तीर्थयात्रीको भीड वढ्यो : जनैपूर्णिमा मेला

गोसाइँकुण्डमा तीर्थयात्रीको भीड वढ्यो : जनैपूर्णिमा मेला

केन्द्रबिन्दु
0
Shares

रसुवा

भगवान् शङ्कर विराजमान रहेको विश्वास गरिने पवित्र तीर्थस्थल गोसाइँकुण्डमा यही भदौ ६ गते पुत्रदा एकादशी देखि लागेको विशेष मेला भर्न हजारौँ भक्तजन आज निलाद्री पर्वत पुगेका छन् । पौराणिक कथन अनुसार समुन्द्र मन्थन गर्दा कालकुट विष निस्केको र त्यो विष छोडी दिँदा सम्पूर्ण चराचर प्राणीजगत् नै नष्ट हुने भएकाले सबैको रक्षाका लागि शङ्कर भगवानले विषपान गरी घाँटीमै राखेर प्राणी जगतलाई रक्षा गर्नु भएकाले मानव भएर जन्मिएपछि जिन्दगीमा एकपटक गोसाइँकुण्डको दर्शन गर्नुपर्ने मान्यता रही आएको छ ।

उग्रविषले शङ्कर भगवानको घाँटी पोलेपछि शीतल ठाउँ र चिसोपानीको खोजी गर्दै भौंतारिएर निलाद्री पर्वत पुगेर विश्राम लिएका थिए । हाल सो स्थानलाई गोसाइँकुण्डको नामले पुज्ने गरिन्छ । गोसाइँकुण्ड गाउँपालिका–५ मा पर्ने यस पवित्र तीर्थस्थलमा प्रत्येक वर्ष गङ्गा दशहरा पर्वमा १० दिन र जनैपूर्णिमा पर्वका अवसरमा पाँच दिन गरी वर्षको १५ दिन विशेष मेला लाग्ने गर्दछ ।

गोसाइँकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष सञ्जिव डिएमका अनुसार १० गते जनैपूर्णिमा पर्वका अवसरमा करीब आठ देखि १० हजार भक्तजनले कुण्डमा स्नान गर्ने अनुमान गरिएको छ । यात्रुका लाभालस्करका आधारमा अनुमान गरिएको हो । यात्रुको खाने, बस्ने व्यवस्थासमेत स्थानीय व्यवसायीले गरेका छन् ।

पवित्र पौराणिक धार्मिक गोसाइँकुण्डमा पूजा आरधना गर्नाले मनोकाङ्क्षा पूरा भई धनधान्य हुने जनविश्वास अनुरुप श्रद्धालु भक्तजन काठमाडौँ गल्छी, देवीघाट त्रिशूली धुञ्चेसम्म मोटर र त्यसपछि पैदलयात्राबाट चन्दनबारी लौरीविनायक एवं गणेश गौडाको तेर्सो ककरो भिर हुँदै गोसाइँकुण्ड पुग्ने गरेका छन् ।

यस वर्षको पर्व भदौ ६ गते पुत्रदा एकादशीदेखि १० गते ऋषितर्पणी (रक्षा बन्धन) को दिनसम्म लाग्ने र दशहरा पर्वभन्दा जनैपूर्णिमा पर्वमा भक्तजनको बढी आगमन हुने स्थानीय पुरोहित टङ्कप्रसाद ढकालले बताए । पौराणिक धार्मिक कुण्डमा स्नान गर्दा उकालो हिँड्दा लागेको थकाइ समाप्त भई शरीर हलुङ्गो हुनुका साथै नयाँ उमङ्ग पैदा हुने गरेको कुण्डबाट फर्केका यात्रुले बताएका छन् ।

कुण्डमा पुगेर मागेका सबै बर पाइने र अञ्जानमा गरेका सबै पाप समेत समाप्त भई नयाँ जोस, जाँगर बढ्न गई भगवानले दिएको सद्वुद्धिबाट पारिवारिक सन्तुुलन आउने, गाउँ समाजमा मठमन्दिर निर्माण सामाजिक कार्यमा समेत जागरण आउने विश्वास गरिएको छ । यस वर्षको मेला भर्न नवलपरासी, ताप्लेजुङ, सिन्धुपाल्चोक, काभ्रे, रौतहट, पर्सा, मकवानपुर, चितवन, काठमाडौँ, भक्तपुर, ललितपुर, गोरखा, धादिङ, नुवाकोट र रामेछाप समेतका जिल्लाबाट भक्तजन पुगेको गोसाइँकुण्ड क्षेत्र विकास समितिले जनाएको छ ।
रासस

Logo