विश्व कीर्तिमानधारी स्लोभेनियाली आरोही दम्पतीद्वारा ताप्लेजुङको विद्यालयलाई सहयोग

विश्व कीर्तिमानधारी स्लोभेनियाली आरोही दम्पतीद्वारा ताप्लेजुङको विद्यालयलाई सहयोग

केन्द्रबिन्दु
105
Shares

ताप्लेजुङ । विश्व कीर्तिमानधारी स्लोभेनियाली आरोही दम्पती आन्द्रे स्ट्राम्फ र मारिया स्ट्राम्फले ताप्लेजुङको फुङलिङ नगरपालिका–१ मा अवस्थित महेन्द्र आधारभूत विद्यालयलाई बालकक्षा स्तरोन्नतिका लागि तीन लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेका छन् । यो सहयोग स्थानीय समाजसेवी मणि खतिवडा, स्लोभेनियास्थित नेपाली मानार्थ महावाणिज्यदूत आश्विनकुमार श्रेष्ठ र स्लोभेनियाको जिग्राजिया कान स्कूलको समन्वयमा सम्भव भएको हो ।

आन्द्रे र मारिया सन् १९९० मा विश्वको सर्वोच्च शिखर सगरमाथाको जोडीका रूपमा सफल आरोहण गर्ने पहिलो दम्पती हुन्, जुन उपलब्धि गिनिज बुक अफ वल्र्ड रेकर्डमा समेत दर्ज छ । नेपालप्रति गहिरो प्रेम राख्ने यो दम्पतीले दर्जनौँ पटक नेपाल भ्रमण गरिसकेका छन् । विशेषगरी ताप्लेजुङ र कञ्चनजङ्घा क्षेत्रप्रति उनीहरूको विशेष मोह रहेको छ । केही समयअघि उनीहरूले नेपालको ताप्लेजुङदेखि दार्चुलासम्मको १,७०० किलोमिटर लामो ग्रेट हिमालयन ट्रेलको साहसिक यात्रा पूरा गरेका थिए । ताप्लेजुङदेखि हुम्लाको हिल्सासम्मको यो यात्राको अनुभवलाई समेटेर उनीहरूले (रातको शक्ति ताराहरूको उज्यालोमा) नामक पुस्तक प्रकाशित गरेका छन् । यो पुस्तकको बिक्रीबाट प्राप्त रकमको केही हिस्सा उनीहरूले महेन्द्र आधारभूत विद्यालयको बालकक्षा स्तरोन्नतिका लागि प्रदान गरेका हुन् ।

यो सहयोगको मुख्य समन्वयकर्ता ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिका–१, नाङखोल्याङका मणि खतिवडाले गरेका हुन् । पर्यटन व्यवसायी तथा समाजसेवी खतिवडाले यसअघि पनि आफ्नो गाउँमा सुन्दरमाता आधारभूत विद्यालयको भवन निर्माण र बरठाँठा आधारभूत विद्यालयको कक्षाकोठा स्तरोन्नतिमा महत्वपूर्ण योगदान पु¥याएका थिए । साथै, उनकै पहलमा नाङखोल्याङमा विशेषज्ञसहितको स्वास्थ्य शिविर सञ्चालन भएको थियो । स्लोभेनियास्थित नेपाली मानार्थ महावाणिज्यदूत आश्विनकुमार श्रेष्ठ र जिग्राजिया कान स्कूलले पनि यो परियोजनामा महत्वपूर्ण भूमिका खेलेका छन् । उनीहरूको सहकार्यले यो सहयोग ताप्लेजुङको शैक्षिक क्षेत्रमा केन्द्रित भएको हो ।

यसका साथै आन्द्रे र मारियाले यो सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन् । उनीहरूले नेपालको ग्रामीण क्षेत्रको शैक्षिक र सामाजिक विकासमा सक्दो सहयोग गर्ने योजना बनाएका छन् । “हामी नेपालको प्राकृतिक सौन्दर्य र यहाँका मानिसहरूको आतिथ्यताबाट सधैँ प्रभावित छौँ,” आन्द्रेले भने, “हाम्रो सानो सहयोगले यहाँका बालबालिकाको भविष्य उज्ज्वल बनाउन सकिन्छ भन्ने विश्वास छ ।”

यो सहयोगले महेन्द्र आधारभूत विद्यालयमा अध्ययनरत बालबालिकाहरूलाई गुणस्तरीय शिक्षाको अवसर प्राप्त हुनेछ । विशेषगरी बालकक्षाको स्तरोन्नतिले साना विद्यार्थीहरूको आधारभूत शिक्षा बलियो बनाउनेछ । साथै, यो पहलले स्थानीय समुदायमा शिक्षाप्रति जागरूकता बढाउन र अन्य अन्तर्राष्ट्रिय सहयोगीहरूलाई प्रेरित गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

Skip This
Skip This
Logo