भिन्ह (भियतनाम) । टाइफुन काजिकीले देशको मध्य भागमा करिब १६० किलोमिटर प्रतिघण्टाको गतिमा प्रहार गर्ने अनुमान गरिएसँगै सोमबार तटीय भियतनामका दशौँ हजार बासिन्दालाई सुरक्षित स्थानमा सारिएको छ ।
यस वर्ष भियतनाममा असर गर्ने पाँचौँ टाइफुन समुद्रमा सक्रिय छ र टोन्किनको खाडीमा ९.५ मिटर (३१ फिट) उचाइका छालहरू उठेका छन् ।
पाँच तटीय प्रान्तका तीन लाख २५ हजार पाँच सयभन्दा बढी बासिन्दालाई विद्यालय र सार्वजनिक भवनहरू अस्थायी आश्रयस्थल बनाई सुरक्षित राखिएको अधिकारीहरूले जनाएका छन् ।
भिन्हको वाटरफ्रन्ट सहर रातभर जलमग्न रह्यो । बिहानसम्म सडकहरू सुनसान बनेका थिए, पसल तथा रेस्टुरेन्टहरू बन्द थिए र बासिन्दा तथा व्यवसायीहरूले आफ्नो सम्पत्तिको प्रवेशद्वारमा बालुवा भरिएका बोराहरू राखेका थिए ।
सोर्ह हजारभन्दा बढी सैनिक परिचालन गरिएपछि बिहानैसम्म करिब ३० हजार मानिसलाई क्षेत्रबाट सुरक्षित निकालिएको थियो । टाइफुनको बाटोमा परेका दुईवटा घरेलु विमानस्थल बन्द गरिएका छन् र सबै माछा मार्ने जहाजहरूलाई बन्दरगाहमा फर्काइएको छ ।
“मैले हाम्रो सहरमा यति ठूलो टाइफुन आएको कहिल्यै सुनेको थिइनँ”, ६६ वर्षीय ले मान तुङले भिन्ह इनडोर स्पोट्र्स स्टेडियममा भने । त्यहाँ विस्थापित परिवारहरू चामलको साधारण नास्ता खाइरहेका थिए ।
“म अलिकति डराएको छु, तर अन्ततः हामीले यसलाई स्वीकार्नुपर्छ किनकि यो प्रकृतिको शक्ति हो— हामी केही गर्न सक्दैनौँ”, उहाँले सोमबार बिहान निकासी स्थलमा भने । भियतनामको राष्ट्रिय हाइड्रो–मौसम पूर्वानुमान केन्द्रका अनुसार टाइफुनले दिउँसो १ः०० बजे (०६०० जिएमटी) करिब १५७ किलोमिटर प्रतिघण्टाको हावासहित अवतरण गर्ने अपेक्षा गरिएको छ । -एएफपी





























प्रतिक्रिया