काठमाडौं । युवाकवि मोतीराम भट्टको १६०औं जन्मजयन्तीको अवसरमा छहरा साहित्य समाज, धापासीद्वारा ह्वाइट माउन्टेन स्कुल टोखा–६, काठमाडौंमा आयोजित एक कार्यक्रममा मोतीराम भट्ट सम्बन्धी चर्चा, रचना पाठ तथा कविता वाचन गरिएको थियो ।
साहित्यकार योगेन्द्र तिमिल्सिनाले अध्यक्षता गरेको सो कार्यक्रममा वरिष्ठ कवि प्रा. नारायणप्रसाद कट्टेल प्रमुख अतिथि थिए । छहरा साहित्य समाजका सचिव भोला प्रेमीले स्वागत मन्तव्यका साथ कार्यक्रम प्रारम्भ गरेका थिए ।
सो कार्यक्रममा कवि तोया गौतमले मोतीरामको योगदान बारे चर्चा गर्दै श्रृङ्गार रसको एक टुक्रा कविता पनि वाचन गरेका थिए । प्रा. गङ्गाधर कट्टेलले अङ्रेजी कवि मिल्टनको प्रसङ्ग समेत उल्लेख गरी मोतीरामका विशेष प्रवृत्तिहरु बारे चर्चा गरेका थिए । उनले “बालेर बत्ती गयो” शीर्षक एक कविता वाचन गरे । कवि भोला प्रेमीले “मोतीराम भट्टको सम्झनामा” शीर्षक एक श्रृङ्गारिक कविता वाचन गरेका थिए ।
प्रमुख अतिथि नारायणप्रसाद कट्टेलले मोतीरामको स्मरण गर्दै उनको योगदान बारे चर्चा गरे । उनले विदेशमा बसेको युवक स्वदेश फर्कने कामना गर्दै आफ्नो कविता “भाषै त हो उन्नयनको निम्ति” वाचन गरे । बालकवयित्री सारा तिमिल्सिनाले मोतीराम भट्टको कृति पिकदूतबाट साभार “बर्षाका ऋतुमा बडा विरहमा, एकलै बसैँ झ्यालमा” बोलको एक प्रेमिल कविता वाचन गरेका थिए ।
अन्त्यमा, कवि आनन्द पौड्यालले “मोतीको सम्झना” शीर्षक एक कविता वाचन गर्दै उपस्थित सबैलाई धन्यवाद ज्ञापन गरेका थिए । रमा न्यौपाने, ज्ञानेन्द्रप्रसाद दाहाल, रघुनाथ आचार्य, मानसी खतिवडा, शाश्वत तिमिल्सिना, तिलक शर्मा पौडेल असल श्रोताको रुपमा कार्यक्रममा सहभागी भएका थिए ।
अन्त्यमा अध्यक्ष योगेन्द्र तिमिल्सिनाले युवाकवि मोतीराम भट्टको स्मरण गर्दै कार्यक्रम समापन भएको घोषणा गरेका थिए ।





























प्रतिक्रिया