काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोली साउथ अष्ट्रेलियासँग दुवै खेलमा पराजित भएको छ । बिहीबार भएको दोस्रो खेलमा नेपाल ३ रनले स्तब्ध भएको हो ।
साउथ अष्ट्रेलियाले दिएको १६१ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल निर्धारित २० ओभरमा अलआउट हुँदै १५७ रनमा समेटियाे । नेपालका लागि रुपेश सिंहले १९ बलमा सर्वाधिक ३७ रन जोडे । यस्तै, लोकेश बमले २६ बलमा ३२ रन बनाउनुबाहेक अन्यको प्रदर्शन राम्रो रहेन ।
त्यसअघि पहिले ब्याटिङ गरेको साउथ अस्ट्रेलियाले २० ओभरमा ८ विकेट गुमाएर १६० रन बनाएको थियो । साउथ अस्ट्रेलियाका रायन किङले सर्वाधिक ३९ रन बनाए । डानियल ड्रिउ र ह्यारी मानेन्तीले समान २९ रन बनाए ।
नेपालका करण केसी, शाहब आलम र रुपेश सिंहले २/२ विकेट लिँदा कुशल भुर्तेल र करण केसीले १/१ विकेट लिए ।
यसअघि आजै भएको खेलमा नेपाली टोली साउथ अष्ट्रेलियासँग तीन विकेटले पराजित भएको थियो ।
पहिलाे खेलमा नेपालले प्रस्तुत गरेको एक सय ४७ रनको लक्ष्य पछ्याएको साउथ अष्ट्रेलियाले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै लक्ष्य पूरा ग-यो । साउथ अष्ट्रेलियाका लागि विन्टरले सर्वाधिक ३६ रनको योगदान दिए । होगेनबोइजिमले २८, कप्तान हार्वेले २७, ड्रियुले २४ र मनेन्टीले २२ रनको योगदान दिए ।
नेपालका लागि सोमपाल कामीले तीन विकेट लिए भने नन्दन यादवले दुई र कप्तान रोहितकुमार पौडेलले एक विकेट लिए । त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै एक सय ४६ रनको योगफल बनाएको थियो ।
नेपालका लागि भीम सार्कीले सर्वाधिक ३२ रनको योगदान दिए भने दीपेन्द्रसिंह ऐरीले २६, आसिफ शेखले २२, आरिफ शेखले २१ र सोमपाल कामीले अविजित १८ रन बनाए । साउथ अष्ट्रेलियाका लागि थोम्पसन, ब्राउन र मनेन्टीले समान दुई/दुई विकेट लिए भने म्याकफाडेन र मेन्जिसले समान एक/एक विकेट लिए ।































प्रतिक्रिया