काठमाडौं । विश्वव्यापी स्तरमा सफल भइसकेको चिनियाँ अटोमोबाइल ब्राण्ड जिली अब आधिकारिक रूपमा नेपाली बजारमा प्रवेश गरिसकेको छ । नेपालका लागि जिलीको आधिकारिक वितरक एलआरआर मोटर्सले नेपाली उपभोक्तामाझ जिलीका उत्पादनको औपचारिक बिक्री सुरु गरेको हो । पहिलो मोडलका रूपमा जिली ग्यालेक्सी ईएक्स–५ एसयूभी प्रस्तुत गरिएको छ। जसले नेपाली ईभी बजारमा नयाँ प्रतिस्पर्धा र नयाँ विकल्प ल्याउने अपेक्षा गरिएको छ ।
ग्यालेक्सी ईएक्स–५ जिलीको सहायक कम्पनी फ्लाइमी अटोमार्फत नेपाल भित्रिएको हो । यस मोडलले अन्तर्राष्ट्रिय बजारमा उल्लेखनीय सफलता हासिल गरिसकेको छ । विशेष गरी अष्ट्रेलियन बजारमा यसको बिक्रीले राम्रो प्रदर्शन गरिरहेको छ । नेपाल ल्याइएका भेरियन्टहरू पनि अष्ट्रेलियन स्पेकमै आधारित भएकाले नेपाली ग्राहकले विश्वस्तरीय गुणस्तर अनुभव गर्नेछन् ।
एलआरआर मोटर्सले ईएक्स–५ लाई प्रो र म्याक्स गरी दुई भेरियन्टमा प्रस्तुत गरेको छ । प्रो भेरियन्टको मूल्य ५७ लाख ९९ हजार रुपैयाँ तोकिएको छ भने म्याक्स भेरियन्टको मूल्य ६७ लाख ९९ हजार रुपैयाँ निर्धारण गरिएको छ ।
यस्ता छन् विशेषता :-
ईएक्स–५ को दुवै भेरियन्टमा १६० किलोवाट क्षमताको इलेक्ट्रिक मोटर जडान गरिएको छ । यसले २१५ हर्सपावर उत्पादन गर्छ र ६.९ सेकेन्डमै ० देखि १०० किलोमिटर प्रति घण्टा गति लिन सक्छ । यसले प्रदर्शन र पावरका हिसाबले प्रिमियम ईभी सेग्मेन्टलाई टक्कर दिनेछ ।
यसमा प्रयोग भएको ६०.२ किलोवाट आवरको सर्ट ब्लेड ब्याट्री अन्तर्राष्ट्रिय मापदण्डअनुसार सुरक्षित र भरपर्दो मानिन्छ । ब्याट्रीको सुरक्षा उच्च स्तरको भएकाले यसलाई ‘अब्बल सेफ्टी स्ट्यान्डर्ड’ भनिएको छ । एलआरआर मोटर्सले ब्याट्रीमा ८ वर्ष वा अनलिमिटेड किलोमिटर वारेन्टी दिने घोषणा गरेको छ, जसले ग्राहकलाई थप विश्वास दिलाउनेछ ।
जिली ईएक्स–५ को बाहिरी स्वरूप एरोडायनामिक प्रोफाइल र आधुनिक डिजाइनमा आधारित छ । बलियो बडी लाइन र सार्प प्रोफाइलले यसलाई सडकमा शक्तिशाली उपस्थितिको अनुभूति दिलाउँछ । भित्री भागमा भने प्रिमियम लक्जरी अनुभव दिलाउने फिचरहरू राखिएका छन् ।
यसमा १५.४ इन्चको टच–स्क्रिन इन्फोटेन्मेन्ट सिस्टम, १०.२ इन्चको डिजिटल क्लस्टर, वायरलेस चार्जिङ, भ्वाइस कमान्ड, र प्यानोरामिक सनरुफ जस्ता सुविधा दिइएका छन् । यी सबै फिचरले ड्राइभर र यात्रुलाई नयाँ पुस्ताको स्मार्ट अनुभव दिनेछन् ।
दुवै भेरियन्टमा सुरक्षालाई उच्च प्राथमिकता दिइएको छ । ६ वटा एयरब्याग, एबीएस, ईबीडी, ईएससी, एइबी, ब्लाइन्ड स्पट मोनिटरिङ, हिल अशिष्ट लगायतका फिचर राखिएका छन् । साथै, गाडीमा इन्टिग्रेटेड स्मार्ट यूआई प्रणाली दिइएको छ । जसमार्फत मोबाइल एप प्रयोग गरेर गाडीको गति नियन्त्रण गर्ने सुविधा पनि मिल्छ ।
ग्यालेक्सी ईएक्स–५ नेपाली बजारमा पाँच रङमा उपलब्ध छ — स्नो–ह्वाइट, फ्रोस्टी ग्रे, मूनलाइट सिल्भर, कार्बन ब्ल्याक र टर्क्वोइज ग्रिन । यसले ग्राहकलाई आफ्ना शैली र रुचिअनुसार गाडी रोज्ने विकल्प दिन्छ । आकर्षक मूल्य, शक्तिशाली मोटर, सुरक्षित ब्याट्री, स्मार्ट इन्टेरियर र प्रिमियम अनुभव भएको यो मोडलले नेपाली ईभी बजारमा नयाँ उचाइ थप्ने विश्वास गरिएको छ ।































प्रतिक्रिया