काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा) नेता गणेश कार्कीले एउटा सम्बन्ध ‘बिग्रिए पछि’ कि मर्नु कि एक्लै जिन्दगीभर बस्नु भन्ने कसैले पनि नचाहने बताएका टिप्पणी गरेका छन् ।
रुपन्देही–३ मा छानिएका उम्मेदवार लेखजंग थापाको बहुविवाहबारे विभिन्न प्रतिक्रिया आइरहँदा नेता कार्कीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘लेखजंग थापाको बहुविवाहका सन्दर्भमा पहिलेको श्रीमतीसँग छोडपत्र भइसकेको तर सम्बन्ध चै अहिले पनि सुमुधुर रहेको भन्ने जानकारी प्राप्त गरेको छु । कानूनीरूपमा सम्बन्ध विच्छेद भएको भए अन्य त व्यक्तिगत र पारिवारिक सन्दर्भको बिषय भइहाल्यो । एउटा सम्बन्ध ‘बिग्रिए पछि’ कि मर्नु कि एक्लै जिन्दगीभर बस्नु भन्ने कसैले पनि चाहदैन भन्ने मानेको छु ।’
यस्तै उनले रास्वपामा उम्मेदवार छनोटको प्रक्रियालाई लोकतान्त्रिक र प्रतिस्पर्धी बनाउन पार्टीले निकै प्रयास गरिरहेको र यसबाट रास्वपालाई मात्र नभई नेपालको सम्पूर्ण राजनीतिलाई सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे।
कार्कीले यसअघि समानुपातिक सांसद छनोटमा आफू अन्यायमा परेको पनि बताएका छन्। त्यस बेला १२ वटा क्लस्टरबाट सांसद छनोट गर्ने भनिए पनि पछि ६ वटा मात्र बनाइएको र आफूलाई हटाइएको उनले गुनासो गरे। यद्यपि, यस पटकको उम्मेदवार छनोट प्रक्रियामा भने ठूलो त्रुटि नभएको उनको भनाइ छ।
‘मैले पटक पटक दोहोर्याइरहेको तथ्य हो, पार्टीको समानुपातिक सांसद छनौट १२ क्लस्टरमा चुनाव भएर नतिजा निकालिएको थियो । पछि सांसद छान्दा ६ क्लस्टर बनाइयो र म धपाइएँ । यसैले मैले आफु अलग्गै रहेर यसपटकको उम्मेदवार छनौटको प्रक्रिया चासोका साथ हेरेँ । प्रक्रियामा कुनै त्रुटी भएको जस्तो लाग्थेन र अहिले पनि त्रुटी भएकै हो भन्ने मेरो धारणा बनेको छैन । यद्यपि केहि कमजोरी भएका हुन सक्छन्, जसको छानविन र निष्कर्ष आवश्यक छ । पहिलेको समानुपातिक सांसद छनौटको विवाद पनि समाधानमा पुगेन, जुन बेला बेला भिन्न स्वरूपमा कच्पल्टिरहन्छ । यसले नयाँ प्रणाली निर्माणमा शंका बढाउँछ । त्रुटी हुने वा भएको आशंका हुने तर त्यसको निरूपण नहुने हो भने ति थुप्रिदै गएर थामी नसक्नुका बन्छन् ।’ उनले भनेका छन् ।































प्रतिक्रिया