काठमाडाैं । उत्तर कोरियाली नेता किम जोङ-उन आफ्नो विशेष बुलेटप्रुफ रेलको यात्राका कारण विश्वभरि चर्चामा रहन्छन्। हवाई यात्राबाट जोगिने उनका हजुरबुबा किम इल-सुङ र बुबा किम जोङ-इलको परम्परालाई निरन्तरता दिँदै किम जोङ-उनले पनि चीन, भियतनाम र रुसजस्ता देशको भ्रमण गर्दा यही रेल प्रयोग गर्दै आएका छन्। यो साधारण रेल नभई उच्च सुरक्षा र विलासी सुविधाहरूले सुसज्जित ‘मूभिङ फोर्ट्रेस’ अर्थात् ‘हिँड्ने किल्ला’ हो।
किम जोङ उन चीनले आयोजना गर्ने सैन्य परेडमा सहभागी हुन आफ्नो विशेष रेलबाट २४ घण्टा यात्रा गरेर मंगलबार बिहान चीन पुगेका छन्। रोदोङ सिन्मुनले किमको परराष्ट्र मन्त्री चो सोन हुई लगायतका उनका सहयोगीहरूसँगको तस्बिरहरू पनि छापेको छ। तस्बिरमा उनीहरू अँध्यारो हरियो रङ्गको रेलभित्रको डेस्कमा बसेर मुस्कुराउँदै गरेका देखिन्छन्। त्यसपछि याे विषय फेरि चर्चामा आएकाे हाे ।

रेलका मुख्य विशेषताहरू-
उच्च सुरक्षा: यो रेल बुलेटप्रुफ र बम प्रतिरोधी सामग्रीले बनेको छ, जसले नेतालाई सुरक्षित राख्छ । यसमा उनको ठूलो सुरक्षा टोली र मेडिकल स्टाफको लागि पनि विशेष डिब्बाहरू छन्।
सुस्त गति: अत्यधिक तौलका कारण यो रेलको गति निकै कम हुन्छ। उत्तर कोरियाको कमजोर रेलमार्गमा यसको गति करिब ४५ किमी/घण्टा मात्र हुन्छ भने चीनमा यसले ८० किमी/घण्टासम्मको गति लिन सक्छ।
आरामदायी र विलासी: रेलभित्र किमको निजी कार्यालय, अत्याधुनिक सञ्चार प्रणाली, बैठक कक्ष, र आरामदायी सुविधाहरू छन्।
विशेष सुविधा: यो रेलमा दुईवटा बुलेटप्रुफ मर्सिडिज गाडी पनि बोक्न सकिन्छ। यात्राको क्रममा ताजा परिकारहरू तयार पार्न विशेष शेफहरू र फ्रान्सबाट मगाइएका महँगा वाइनको समेत व्यवस्था हुने गरेको बताइएको छ।
बहु-रेल प्रणाली: सुरक्षाका लागि किमले एकभन्दा बढी रेलको प्रयोग गर्छन्। एउटा रेल अगाडि सुरक्षा जाँच गर्दै गुड्छ, बीचमा किमको मुख्य रेल हुन्छ र पछाडि थप सुरक्षाकर्मी र सामान बोक्ने रेल हुन्छ।

किम परिवारले हवाई यात्राबाट जोगिन रेल प्रयोग गर्ने गरेको लामो इतिहास छ। सन् २००१ मा किम जोङ-इलले रुस भ्रमण गर्दा १० दिनसम्म रेल यात्रा गरेको कुरा निकै चर्चित भएको थियो। यहाँसम्म कि किम जोङ-इलको निधन पनि सन् २०११ मा रेल यात्राकै क्रममा भएको थियो। यो बुलेटप्रुफ रेलले कोरियाली नेताहरूको सुरक्षा व्यवस्थालाई मात्र नभई उनीहरूको जीवनशैलीलाई पनि प्रतिबिम्बित गर्छ।





























प्रतिक्रिया