काठमाडौं । लक्ष्मी ग्रुपअन्तर्गतको एलएक्सजी मोटर्स प्रालिले चिनियाँ प्रख्यात व्यावसायिक विद्युतीय सवारी ब्रान्ड ‘क्यारी’ नेपाली बजारमा भित्राएको छ। ‘नाइमा मोबिलिटी एक्स्पो २०२५’ मा क्यारी ईभीका दुई भेरियन्ट—केभान १ र केभान २ सार्वजनिक गरिएको हो। यी भ्यानहरू नेपाली सडक र यातायात आवश्यकताअनुसार विशेष डिजाइन गरिएको कम्पनीले जनाएको छ। १५ र १६ सिट क्षमतासहितका यी भ्यान व्यावसायिक यातायातदेखि शैक्षिक प्रयोजनसम्मका लागि उपयुक्त हुने कम्पनीको विश्वास छ।
क्यारी ईभी भ्यान कमर्सियल भेरियन्ट र स्कुल भेरियन्ट गरी दुई भिन्न प्रकारमा उपलब्ध छन्। कमर्सियल भेरियन्ट आधुनिक खैरो रंगमा आएको छ भने स्कुल भेरियन्ट सुरक्षात्मक पहेँलो रंगमा उपलब्ध छ। स्कुल भेरियन्ट बालबालिकाको सुरक्षामा विशेष ध्यान दिँदै डिजाइन गरिएको छ, जहाँ सुरक्षित सीट बेल्ट, सहज उचाइको सिट र अतिरिक्त सुरक्षा मापदण्डहरू समावेश छन्। यसले विद्यालय र कलेज सञ्चालनकर्तालाई विश्वासिलो विकल्प प्रदान गर्दछ, जसले दैनिक यातायातमा बालबालिकाको सुरक्षा सुनिश्चित गर्छ।
प्राविधिक क्षमताका हिसाबले यी भ्यानहरू उच्चतम स्तरका छन्। दुवै भ्यानमा ५३ किलोवाट आवरको एलएफपी सीएटीएल ब्याट्री जडान गरिएको छ, जसले पूर्ण चार्जमा ३०० किलोमिटरभन्दा बढी दूरी तय गर्न सक्षम बनाउँछ। स्थायी पर्मानेन्ट म्याग्नेट सिंक्रोनस मोटर (पीएमएसएम) जडान गरिएको यी भ्यानहरूले १३०/२७० एनएम टर्क र ५०/८० किलोवाट पावर उत्पादन गर्छन्। यसले व्यावसायिक यातायातमा पर्याप्त पावर र प्रदर्शन सुनिश्चित गर्छ। १८० एमएमको ग्राउन्ड क्लियरेन्सले नेपाली सडकका विविध अवस्थाहरूमा स्थिर र सुरक्षित यात्रा सुनिश्चित गर्दछ।
सुरक्षाका दृष्टिले पनि क्यारी ईभी भ्यान अत्याधुनिक छन्। यसमा एबीएस, ईबीडी, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल (ईएससी) र ब्रेक असिस्ट प्रणाली जडान गरिएको छ। अगाडि डिस्क र पछाडि ड्रम ब्रेकले प्रभावकारी ब्रेकिङ प्रदान गर्छ भने सिटबेल्ट वार्निङ र फायर एक्स्टिन्गुइशरले थप सुरक्षा सुनिश्चित गर्छ। स्कुल भेरियन्टमा बालबालिकाको सुरक्षालाई ध्यानमा राख्दै अतिरिक्त सुरक्षा उपायहरू राखिएका छन्, जसले यात्रालाई पूर्णतः भरोसायोग्य बनाउँछ।
यात्री र चालकको सुविधा बढाउन भ्यानमा आधुनिक एयर कन्डिसन, डबल पावर विन्डो, यूएसबी चार्जिङ पोर्ट र सहज डिजिटल ड्यासबोर्ड राखिएको छ। लामो यात्रामा पनि आरामदायी यात्रा सुनिश्चित गर्न उच्च गुणस्तरको सीटिङ प्रणाली अपनाइएको छ। कमर्शियल मोडल व्यवसायिक प्रयोगकर्ताका लागि सामान र कर्मचारी यातायातमा सहजता प्रदान गर्छ भने स्कुल मोडलले बालबालिकालाई सुरक्षित र आरामदायी यात्रा सुनिश्चित गर्दछ।
चार्जिङको सुविधामा पनि कम्पनीले व्यावहारिक विकल्प प्रस्तुत गरेको छ। प्रत्येक भ्यान खरिदसँग ३.३ किलोवाट पोर्टेबल चार्जर र ६.६ किलोवाट वाल माउन्टेड चार्जर उपलब्ध गराइन्छ। यसले घर, अफिस वा स्कूल ग्यारेजमै सजिलै चार्ज गर्न सकिने सुविधा दिन्छ। दीर्घकालीन रूपमा कम मर्मत खर्च र स्थिर ब्याट्री प्रदर्शनले यी भ्यानलाई व्यवसायिक र शैक्षिक प्रयोजनका लागि दीर्घकालीन विकल्प बनाउँछ।
एलएक्सजी मोटर्सले यसमार्फत नेपाली सडकमा हरित भविष्यको एक नयाँ ढोका खोलेको छ, जसले दीगो यातायातमा स्थायी योगदान दिने अपेक्षा गरिएको छ।





























प्रतिक्रिया