काठमाडाैं । सुडानको पश्चिमी डार्फर क्षेत्रमा गएको एक भीषण पहिरोमा परी एक हजारभन्दा बढी मानिसको मृत्यु भएको छ ।
विद्रोही समूह सुडान लिबरेशन मुभमेन्ट/आर्मी (एसएलएम/ए)का अनुसार भारी वर्षापछि गएको पहिरोले पूरै एउटा गाउँ पुरिएको हाे । जसमा एक जना मात्र जीवित फेला परेका छन् ।
यो घटना आइतबार मार्रा पहाडी क्षेत्रको तारासिन गाउँमा भएको हो। वर्षाका कारण पहिरो जाँदा पूरै गाउँ ध्वस्त भएको र एक हजारभन्दा बढी मानिसको मृत्यु भएको प्रारम्भिक जानकारीमा उल्लेख छ । विद्रोही समूहले मृतकहरूको शव निकाल्न र उद्धार कार्यका लागि संयुक्त राष्ट्र संघ र अन्तर्राष्ट्रिय सहायता निकायहरूसँग सहयोगको अपिल गरेको छ।
पहिराे गएको क्षेत्र दुर्गम भएकोले सडक यातायातबाट पुग्न सकिँदैन। यही कारणले गर्दा युद्धको समयमा मानिसहरू अक्सर यो पहाडी क्षेत्रमा आश्रय लिन्छन्। यस क्षेत्रमा बाक्लो जनसंख्या छ र धेरै विस्थापित मानिसहरू पनि यहाँ बसोबास गर्दै आएका छन्।
हाल सुडानमा जारी तेस्रो वर्षको युद्धले देशलाई विश्वको सबैभन्दा खराब मानवीय संकटको अवस्थामा पुर्याएको छ। डार्फरका केही भागमा अनिकालको अवस्था पनि घोषणा गरिएको छ। सुडानी सेना र अर्धसैनिक र्यापिड सपोर्ट फोर्सेसबीचको युद्धबाट भागेका मानिसहरूले पनि मार्रा पहाडमा आश्रय लिइरहेका थिए, जहाँ खाना र औषधीको अभाव छ।































प्रतिक्रिया