काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमण सम्पन्न गरी स्वदेश प्रस्थान गरेका छन् । स्थानीय समयअनुसार साँझ ६ बजे बेइजिङ अन्तर्राष्ट्रिय विमानस्थलबाट उनी बिदाइ भएका हुन् । बुधबार बेइजिङमा आयोजना भएको विजय उत्सवसम्बन्धी ८०औँ वार्षिकोत्सवका विशेष सैनिक ‘परेड’ कार्यक्रममा सहभागी भएर उनी स्वदेश फर्किएका हुन् ।
प्रधानमन्त्री ओली परेड सकिएपछि चिनियाँ राष्ट्रपति सी चिनफिङले आयोजना गरेको दिवाभोजमा सरिक भए ।
सीको मैत्रीपूर्ण निमन्त्रणामा साङ्घाई सहयोग सङ्गठन (एससिओ) शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्री ओली यही भदौ १४ गते २३ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चीनको तियानजिनतर्फ प्रस्थान गरेका थिए । भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सीसँग तियानजिनमा भेटवार्ता गरेका थिए ।
यस्तै, उनले शिखर सम्मेलनलाई सम्बोधन गरेका थिए । नेपाल सन् २०१६ देखि सो सङ्गठनको संवाद साझेदार रहँदै आएको छ ।
सो अवसरमा प्रधानमन्त्री ओलीले शिखर सम्मेलनमा सहभागी केही विश्व नेताहरूसँग भेटवार्ता गरेका थिए । उनले रूसी महासङ्घका राष्ट्रपति भ्लादिमीर पुटिन, गणतन्त्र माल्दिभ्सका राष्ट्रपति डा मोहमद मिज्जु, कम्बोडिया अधिराज्यका प्रधानमन्त्री डा सोमदेक मोहा बोरभोर तिपाहदे हुन महानेट, लाओ जनप्रजातान्त्रिक गणतन्त्रका प्रधानमन्त्री सोनेसाइ सिपानडोन तथा समाजवादी गणतन्त्र भियतनामका प्रधानमन्त्री फाम मिन चिङसँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए ।































प्रतिक्रिया