काठमाडौं । नाडा अटोमोवाइल्स् एशोसिएशन अफ नेपाल (नाडा)ले हालै विभिन्न सञ्चारमाध्यममा आफ्नो संस्थाबारे प्रकाशित भ्रामक समाचारहरूको खण्डन गरेको छ। संस्थाले एक विज्ञप्ति जारी गर्दै त्यस्ता दाबीहरू तथ्यहीन र निराधार भएको बताएको हाे ।
नाडाका अनुसार, संस्थाले सबै गतिविधि प्रचलित कानुन, विधान र संस्थागत प्रक्रियाअनुसार मात्रै सञ्चालन गर्दै आएको छ। केन्द्रीय कार्यसमितिले नाडालाई महासंघमा रूपान्तरण गर्ने प्रस्तावमाथि अन्तिम निर्णय लिनका लागि विशेष साधारण सभा बोलाउने निर्णय गरेको थियो, जसलाई कानुनी रूपमा मान्यता दिइएको नाडाको दाबी छ।
यसअघि, काठमाडौं जिल्ला प्रशासन कार्यालयले यस विषयमा प्राप्त उजुरीका आधारमा विशेष साधारण सभा स्थगित गर्न निर्देशन दिएको थियो। तर, नाडाका अनुसार, आवश्यक कागजात र स्पष्टीकरण बुझाएपछि प्रशासन कार्यालयले २०८२/०४/१५ को पत्रमार्फत उक्त स्थगन आदेश फुकुवा गरेको छ। पत्रमा प्रचलित कानुन, संस्थाको विधान र केन्द्रीय कार्यसमितिको निर्णयअनुसार नाडालाई वार्षिक वा विशेष साधारण सभा बोलाउने अधिकार रहेको स्पष्ट पारिएको छ।
यससँगै नाडाले विशेष साधारण सभा अब तोकिएकै मितिमा हुने जनाएको छ।विज्ञप्तिमा, पदाधिकारी हेरफेर वा कार्यकाल लम्ब्याउने जस्ता आरोपहरू पूर्ण रूपमा गलत रहेको उल्लेख छ ।
नाडाका अध्यक्ष करणकुमार चौधरीले आफू पदमा रहिरहन कुनै व्यक्तिगत स्वार्थ नभएको पनि स्पष्ट पारेका छन्। यदि सबै सरोकारवालाले सहमति जनाएमा तत्काल निर्वाचन सहितको वार्षिक साधारण सभा बोलाएर पद हस्तान्तरण गर्न तयार रहेको उनले बताए।
साथै नाडाले आफ्ना सबै सदस्य, व्यवसायी र शुभेच्छुकहरूलाई कुनै पनि भ्रामक समाचारको पछि नलागी संस्थाको आधिकारिक सूचना र लोकतान्त्रिक प्रक्रियामा विश्वास गर्न आग्रह गरेको छ।































प्रतिक्रिया