काठमाडौं । नवनियुक्त प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङले सामूहिक भावना र भातृत्वभावका साथ आ–आफ्नो जिम्मेवारी बहन गर्न मातहतका कर्मचारीलाई निर्देशन दिएका छन् ।
प्रहरी महानिरीक्षकको जिम्मेवारी सम्हालेपछि प्रहरी प्रधान कार्यालयमा आज आयोजित समारोहमा उनले सङ्गठनको दीर्घकालीन श्रीवृद्धि, व्यावसायिकता र प्रतिष्ठाको प्रवद्र्धनका लागि सकारात्मक सोच, सक्रियता र उत्तरदायित्व बोध गरी खटिन निर्देशन दिए ।
प्रहरी महानिरीक्षक खापुङले फौजदारी न्याय प्रणालीको प्रमुख अङ्गका रूपमा प्रहरीले देशव्यापी सञ्जालमार्फत अपराधको रोकथाम, नियन्त्रण र अनुसन्धानका साथै शान्ति सुरक्षा, ट्राफिक व्यवस्थापन, विपद् व्यवस्थापनलगायत कार्यमा राज्यको पहिलो प्रतिनिधिको रूपमा आफ्नो उपस्थिति देखाउनुपर्ने बताए ।
उनले आमनागरिकको अपेक्षालाई शिष्ट आचरण एवम् व्यवहारका साथ सम्बोधन गर्दै आम नागरिकको हृदयमा आस्था, विश्वास र भरोसा कायम राख्ने गरी कार्यसम्पादन गर्नुपर्नेमा जोड दिए ।
प्रहरी महानिरीक्षक खापुङले राष्ट्र र नागरिक सेवामा आफ्नो निजी स्वार्थ तथा व्यक्तिगत लाभभन्दा माथि उठेर जिम्मेवारी निर्वाह गर्न निर्देशन दिँदै संगठनले निर्दिष्ट गरेको अनुशासन पालना र व्यावसायिक प्रहरी कर्मचारीको मर्यादाको सीमाभित्र रहेर आफ्नो जिम्मेवारी निर्वाह गर्न सचेत गराए ।































प्रतिक्रिया