लक्ष्मी ग्रुपका अध्यक्ष श्रेष्ठ ‘लाइफ टाईम अटोमोटिभ भिजिनरी अवार्ड’बाट सम्मानित

लक्ष्मी ग्रुपका अध्यक्ष श्रेष्ठ ‘लाइफ टाईम अटोमोटिभ भिजिनरी अवार्ड’बाट सम्मानित

केन्द्रबिन्दु
12
Shares

काठमाडौं । प्रतिष्ठित व्यावसायिक समूह लक्ष्मी ग्रुपका अध्यक्ष गणेश बहादुर श्रेष्ठ ‘लाइफ टाईम अटोमोटिभ भिजिनरी अवार्ड’बाट सम्मानित भएका छन् ।

केन्द्रबिन्दु अनलाइन मिडिया प्रालिको आयोजनामा पहिलोपटक भएको ‘केन्द्रबिन्दु ईभी बज पोलिसी डिस्कोर्स २०८२’का अवसरमा लक्ष्मी ग्रुपका अध्यक्ष गणेश बहादुर श्रेष्ठलाई सो अवार्ड प्रदान गरेको हो । पोखरामा साधारण परिवारमा जन्मिएर किराना पसल र फोटोग्राफीबाट व्यापारको यात्रा सुरू गरेका थिए । विभिन्न उतारचढावसँगै व्यापार विविधिकरण गर्ने क्रममा उनले उत्पादनतर्फ कन्फेस्नरी, प्लाष्टिक र डेरी, ट्रेडिङतर्फ जयमाँ लक्ष्मी ट्रेडिङ, अटोमोटिभ्स र इलेक्ट्रोनिक्स तथा इन्फ्रास्ट्रक्चरतर्फ सिद्धी लक्ष्मी स्टिल उद्योगलाई लक्ष्मी ग्रुपको छातामुनि स्थापना गरेका छन् ।

पछिल्लो समय हुण्डाइको गाडी बेच्ने मात्र नभइ नेपालमै एसेम्बलिङ गर्ने तयारी लक्ष्मी ग्रुपले गरेको छ । आर्थिक चुनौतीलगायत विभिन्न आरोह र अवरोह झेल्दै नेपालको औद्योगिक विकासमा पु-याएको योगदानको उच्च कदर गर्दै ‘लाइफ टाईम अटोमोटिभ भिजिनरी अवार्ड’ प्रदान गरिएको हो ।

को हुन् गणेश बहादुर श्रेष्ठ ?

वि.सं. २००३ सालमा बुबा दिलबहादुर श्रेष्ठ र आमा पुतलीदेवी श्रेष्ठको कान्छो छोराका रूपमा पोखराको बागबजारमा जन्मिएका गणेश बहादुर श्रेष्ठ हाल प्रतिष्ठित व्यावसायिक समूह ‘लक्ष्मी ग्रुपका अध्यक्ष छन् । पोखराकै मल्टिपल नेशनल हाइस्कुलबाट विद्यालय शिक्षा हासिल गरेका उनले आफ्नो परिवारको कमजोर आर्थिक अवस्थाका कारण उच्च शिक्षा अध्ययन गर्न पाएनन् । तर, नेपालको औद्योगिक विकासमा महत्वपूर्ण योगदान दिन भने सफल बने ।

अध्ययन रोकिएपछि जीविकोपार्जनका लागि उनले किराना पसल र फोटोग्राफीलगायत विभिन्न काम गरे । त्यसबाट पनि सन्तुष्ट नभएका उनले वि.स. २०२१ सालमा पोखराकै पीएन क्याम्पसमा टाइपिस्टका रुपमा काम गरे भने २०२३ सालमा तत्कालीन भूमि सुधारमा खरदारको रुपमा तीन वर्ष पाल्पामा रही काम गरे । तर, नोकरीमा पनि सन्तुष्ट बन्न नसकेका श्रेष्ठले स्वरोजगार बन्ने उद्देश्य बोकेर २०३६ सालमा आफ्नो पुख्र्यौली पेसा पुष्टकारी बनाउने काम अँगाले ।

बुबा र बाजेले सामान्य ढङ्गबाट गर्दै आएको सो पेसालाई उनले व्यवस्थित गरी मास प्रडक्टतिर लगे । २०३० सालमा बुटलमा ‘लक्ष्मी मिठाइ भण्डार’ नामाकरण गरी पुष्टकारी र चकलेटहरूको उत्पादन सुरू गरे । त्यसअघि नै बुटवलमा चकलेट बनाएर असफल भएका व्यक्तिहरूले दिएको साधारण उपकरणमार्फत लक्ष्मी मिठाइ भण्डारलाई त्यहाँको औद्योगिक क्षेत्रभित्र स्थानान्तरण गरे ।

चकलेट बनाउन सुरू गर्दा अधिकांशले उनलाई पत्याएका थिएनन् । तर, कठोर सङ्कल्प, दिनरातको खटाइ र निरन्तरको मेहनतका कारण अन्ततः सफल भएरै छोडे । त्यतिमात्र होइन अहिले नेपाली चकलेटको बजारमा ६० प्रतिशत हिस्सा लक्ष्मी ग्रुपअन्तर्गतको कम्पनीले ओगट्दै आएको छ ।

तत्कालीन समयमा खासा हुँदै चीनसम्म आफ्नो उत्पादन निर्यात गरेको स्मरण गर्दै कामलाई कहिल्यै सानो ठान्न नहुने उनी बताउँछन् । विभिन्न उतारचढावसँगै व्यापार विविधिकरण गर्दै अघि बढेका श्रेष्ठ प्लाष्टिक र डेरीको व्यापार हुँदै हुण्डाइको गाडी बेच्नेदेखि एसेम्बलिङ गर्नेलगायत थुप्रै उद्योगहरू लक्ष्मी ग्रुपको छातामुनी स्थापित गर्न सफल भएका छन् ।

पछिल्लो समय लक्ष्मी ग्रुपअन्तर्गतका अधिकांश कामहरू आफ्ना छोराहरू अञ्जन श्रेष्ठसहितलाई सुम्पिइ गणेश बहादुर भने सामाजिक काममा क्रियाशील रहँदै आएका छन् ।

Skip This
Skip This
Logo