सुर्खेतमा निषेधाज्ञा, प्रदर्शनकारीले सरकारी र निजी घर जलाए

सुर्खेतमा निषेधाज्ञा, प्रदर्शनकारीले सरकारी र निजी घर जलाए

केन्द्रबिन्दु
0
Shares

कर्णाली । सुर्खेतमा जेनजी प्रदर्शनकारीहरूको आन्दोलन उग्र बन्दै गएपछि जिल्ला प्रशासन कार्यालय सुर्खेतले जनधनको क्षति कम गर्न निषेधाज्ञा जारी गरेको छ । प्रशासन कार्यालयले मंगलबार अपरान्ह ४ः३० बजेदेखि अर्को आदेश जारी नहुञ्जेलसम्मका लागि निषेधाज्ञा जारी गरेको हो ।

स्थानीय प्रशासन ऐन, २०२८ (संशोधन समेत) को दफा ६ (क) बमोजिम सुर्खेत जिल्ला वीरेन्द्रनगर नगरपालिकाको रत्नराजमार्ग अन्तरगत सुब्बाकुनादेखि पश्चिम बाङ्गेसिमल र यसको उत्तर–दक्षिण तीन सय मिटरमा आवतजावतमा रोक लगाएको छ । तोकिएको सीमानाभित्र कसैले आवतजावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाउने गरी निषेधाज्ञा जारी गरिएको सुर्खेतका प्रमुख जिल्ला अधिकारी जगदिश्वर उपाध्यायले जानकारी दिए ।

निषेधाज्ञा पूर्वप्रदर्शनकारीले सुर्खेतस्थित नापी कार्यालय, कर्णाली प्रदेश कोष तथा लेखा नियन्त्रकको कार्यालय, अख्तियार अनुसन्धान दुरुपयोग, कर्णाली प्रदेशसभा, मुख्यमन्त्री यामलाल कँडेलको सरकारी तथा वीरेन्द्रनगर नगरपालिका–६ भैरवस्थानस्थित नीजि निवास, नेपाली काँग्रेस, एमाले, माओवादी केन्द्र, राप्रपालगायतका पार्टीका कार्यालय समेत जलाएका छन् ।

त्यसैगरी, वीरेन्द्रगनगर नगरपालिका–७ इत्रामस्थित कांग्रेस केन्द्रीय सभापति तथा पूर्वरक्षा तथा उपप्रधानमन्त्री पूर्णबहादुर खड्का र उहाँका भाइ डम्बर खड्काको घरमा र वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनाया ढकालको निजी निवासीमा आगजनी गरेका छन् । भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनोदकुमार शाहको सरकारी निवासमा आगजनी र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री सुरेश अधिकारी, जलस्रोत तथा उर्जा विकासमन्त्री विजया बुढाको सरकारी निवासमा प्रदर्शनकारीहरूले तोडफोड गरेका छन् ।

त्यस्तै, प्रदर्शनकारीहरूले वीरेन्द्रनगर नगरपालिका ६ र ४ स्थितको वडा कार्यालय र साँझ ७ः०० बजेतिर यहाँको शुभ होटलसमेत आगजनी र तोडफोड गरेका छन् ।

Skip This
Skip This
Logo