कवि दुर्गा तिवारीद्वारा लिखित ‘नचुमेको क्षितिज’ कविता कृति मेरो हातमा परेको केही समय भइसकेको छ । कृतिको घुम्टो खोलिएको लामो समयपछि यसभित्रका कविता चुम्दैछु । "/>

पुस्तक समिक्षा: ‘नचुमेको क्षितिज’ का चुम्नुपर्ने कविताहरु

पुस्तक समिक्षा: ‘नचुमेको क्षितिज’ का चुम्नुपर्ने कविताहरु

केन्द्रबिन्दु
0
Shares

कवि दुर्गा तिवारीद्वारा लिखित ‘नचुमेको क्षितिज’ कविता कृति मेरो हातमा परेको केही समय भइसकेको छ । कृतिको घुम्टो खोलिएको लामो समयपछि यसभित्रका कविता चुम्दैछु । कविता सरसर्ती पढ्नु र पढेर ग्रहण गर्नुमा निकै फरक छ । पढेर ग्रहण गर्ने हिसाबले मैले यसलाई चुमिरहेकी छु । पुस्तकभित्र लामा छोटा, विभिन्न स्वादका गिती र गद्य मिश्रित ७४ वटा कविता सङ्कलित छन् । रमेश पौडेलको आवरण कला निकै सुन्दर देखिन्छ ।

कविताको महत्वपूर्ण पक्ष लय हो । लयले कवितालाई श्रुति मधुर बनाउँछ । तिवारीका कविता सुन्दर लयमा उनिएका छन् । कृतिभित्रका अधिकांश कविताले उनका वाल्यकालका स्मृतिलाई यादगर तुल्याएका छन् । किशोर उमेरमा आउने विपरीत लिङ्गप्रतिको आकर्षणको पर्यायवाची अर्थात् शालीन शब्द प्रेम उनका कवितामा जीवन्त बनेर आएका छन् ।

उनका कविता पढ्ने जो कोही पाठकले आफ्ना विगतका स्मृतिका पाना पल्टिरहेको अनुभूत गर्छन् । मायामा बुर्कुसी मारिरहेका हुन्छन् । प्रेमको निश्वास लिइरहका हुन्छन् । कविताका प्रेमिल विषयवस्तुभित्र आफूलाई समाहित गरिरहेका हुन्छन् । कविताका प्रत्येक अनुच्छेदले तिनलाई तानिरहको हुन्छ । आफूलाई पोखरावासी भनेर गर्व गर्ने उनका कवितामा पोखराको सेरोफेरो अटाएको छ । कास्कीका प्रकृतिले फन्को मारेका छन् । परिवेशको केन्द्र पोखरा बन्नुका साथै अन्नपूर्ण माछापुच्छ«े, फेवा, रूपा र वेगनासले कविताको प्राण भरेका छन् ।

सङ्ग्रहको पहिलो कविताको शीर्षक ‘सरस्वती ज्ञान देऊ’ रहेको छ । सरस्वतीलाई ज्ञानको माता भन्दै आफूभित्र भएको अज्ञान हटाउन आग्रह गरिएको यो कविता लयात्मकताका दृष्टिले सुन्दर छ । प्रेमको विषयमा केन्द्रित दोस्रो कविताको शीर्षक हो, ‘तिम्रै साथ खोजेकी थिएँ ’ ।

प्रिय !
हराउनेछ तिम्रो उन्माद र हाँसो
अनि खुसी हराउनेछ तिम्रो त्यतिबेला
तिमी फेरि एकफेर
मेरो सरलतालाई हेरिरहनेछौ
बल्ल बोध हुनेछ तिमीलाई त्यतिबेला
मेरो निश्वार्थ मायाको
अनि मेरो साथको
प्रिय ! मेरो साथको ।

मायावी संसारमा हराएकी कविले पश्चताप र वियोगात्मक भाव अभिव्यक्त गरेपनि अन्तिममा प्रेमी फर्केर आउने आशावादी स्वर मुखरित गरेकी छन् । त्यस्तै ‘कस्तो मात’ र ‘स्मृतिका पानामा’ कवितामा पनि विगतकै प्रेमिल स्मरण अटाएका छन् ।

बाबु !
खुला गगनले तिमीलाई
मलाई नओढ भनेको छैन
तिमी निर्बाध भै ओढ गगनलाई
अनि निश्चित भै सुत मेरो काखमा
तिम्री आमा कि आमा
म धर्ती आमा छँदै छु नि
बाबु ! तिमी मेरै हौ ।

यस कवितामा कवि विशाल धर्तीमाता भएर उभिएकी छन् । सडकमा छोडिन विवश सन्तानका निम्ति यो निकै संवेदनशील कविता हो । यस सङ्ग्रहभित्रका अधिकांश कवितामा श्रृङ्गारिक अभिव्यक्ति दिनमा दुर्गा तिवारी खप्पिस देखिन्छिन् । प्रायः उनका गीति कविता प्रेमिल भावका नै छन् । ‘मेरी गाउँकी एउटी परी’ शीर्षकको कविताले प्रकृति जस्तै निर्मल मनकी धनी नेपाली नारीको प्रतिनिधित्व गरेको छ । ‘जानेकी छु ’ शीर्षक दिइएको कवितामा आफूमा छलकपटरहित स्वभाव भएको र आफ्नै स्वाभिमानले बाँच्न सिकाएको भाव अभिव्यक्त गरिएको छ ।

‘विगतप्रति’ कविताले विगतका कतिपय पलहरू यादगर हुन्छन् भन्ने संकेत गरेको छ । ‘अँजुलीका खुसी’ गीति कविता असाध्यै मार्मिक छ । आफूले जीवनमा खुसी चुम्न नसकेको अनुभूति यस कवितामा आएको छ । ‘हाम्रो सहर’ शीर्षकको कवितामा कविमा सहरप्रतिको वितृष्णा देखिन्छ । सहरको रुखोपनमा कविको मन कत्ति पनि रमाउन सकेको छैन । यही कविताको भावसँग मिल्दो जुल्दो कविता ‘ठूली’ र ‘म कसरी लेखूँ र कविता ?’ शीर्षकका कविता पनि हुन् । यी कवितामा सहरको जीवन वेसाहारा मायाबिहीन हुदै गएको, स्वार्थपन बढ्दै गएको भाव व्यक्तिएको पाइन्छ । त्यस्तै मान्छे सहरीया परिवेशमा विलिन हुँदै आफ्नो अस्तित्व गुमाइरहेका छन् भन्ने भाव प्रस्तुत गर्न खोजिएको छ । यहाँ कविले सङ्घर्षलाई पछारेर सुखको मैदान उक्लने अभिलासा लिएकी छन् । कविको मातृहृदय निकै आशावादी देखिन्छ ।

सङ्ग्रहभित्र कवि कतै आमा बनेर पग्लेकी छिन् । कतै छोरा बनेर दरिएकी छिन् । कतै बाबुलाई सम्बोधन गर्न पुगेकी छिन् त कतै आमालाई कवितामा उतारेकी छन् । उनका ३÷४ वटा कविता सन्तानप्रति समर्पित रहेका छन् । विषयगत विविधता मात्र होइन कविमा आफू विभिन्न पात्रको भूमिकामा रहेर मञ्चन गर्ने रङ्गकर्मीको क्षमता पनि अब्बल देखिन्छ ।

विषयगत विविधतालाई केलाउँदै जादा दुर्गाका कविताले नछोएको कुनै विषय नै छैन । मातृत्व, देशप्रेम, मानिसका स्वतन्त्रता, मानवता आदि आदि । यस्तै विषयगत विविधताका दृष्टिले ‘सार्थकताको खोजीमा नारीदिवस’ शीर्षकको कविता अति संवेदनशील लाग्छ । सुन्दरीको गहना भिराएर नारीलाई प्रशंसा गर्ने यही समाज क्षणभरमा अनेकौँ लाञ्छनाका बिल्ला भिराउन पनि पछि हट्दैन भन्ने भाव यस कवितामा समेटिएको छ ।

समग्रमा जीवनको महत्वपूर्ण पाटो जीवन भोगाइ हो । जीवनका यिनै भोगाइका हर पक्षलाई सङ्ग्रहभित्रका कविताले बोलेका छन् । वर्तमानमा बाँचेको जीवनका अनुभूतिलाई एउटै डोरीमा उनेर नफुस्किने गरी गाँठो पार्नु एउटा शशक्त कविको खुबी हो । भाषिक सरलता र सरसता उनका कविताका पहिचान हुन् । कृतिभित्र गद्य र गिती दुबै कवितालाई छासमिस गरिएको छ । एउटाको अभाव वा स्वाद अर्काेले दिन नसक्ने हुँदा अभाव र पूर्तीका हिसाबले छुट्टा छुट्टै सङ्ग्रहमा प्रकाशन गरेको भए अझ राम्रो हुने थियो । कविताका कतिपय भाषा मानक नभई स्थानीय क्षेत्रमा प्रयोग गरिने भाषिकाको प्रयोग गरिएको हुँदा कतिपय पाठकलाई अथ्र्याउन कठिन हुने देखिन्छ ।

त्यस्तै काहीँकाहीँ सामान्य भाषिक कमजोरी देखिनु स्वभाविक हो । कविता सङ्ग्रह अब्बल छ केहीलाई छोडेर अरु सबै कविता उत्कृष्ट छन् । कवि दुर्गालाई यति सानो समीक्षामा मात्र पढेर बुझिदैन । विविध विषयमा समेटिएको कविता कृतिको लामै समीक्षा लेख्नुपर्ने हुन्छ । छोटै भएपनि यस समीक्षाले कविको कवितालाई न्याय गर्ने नै छ । दुर्गा तिवारीको कविता कृतिले क्षितिज चुमोस् । शुभकामना !

Skip This
Skip This
Logo