आजकल ‘डा.’ लेख्नेहरूको बिगबिगी नै छ । म फलानो ‘डा.’ भन्नासाथ कहिल्यै अलमल्लमा नपरी श्रद्धाभावले हेर्ने म पनि अलमल्लमा पर्छु । म मात्र किन, तपाईं पनि परेको हुनुपर्छ वेला वेला । नपरे पनि घोत्लेको त पक्कै हुनुपर्छ । यो ‘ब्याचलर मेडिकल ‘डा.’ पर्यो कि ? ‘मास्टर्स’ सकेर, ‘एमफिल’ तुराएर बनेको सम्बधित विषयको चिन्तक वा ‘फिलोसफर’ भनिने ‘डा.’ हो ।
कुनै समय थियो मलाई यो ‘डा.’ लेखेको मान्छे देख्यो कि निहुरी मुन्टे न हुन मन लाग्थ्यो सद्भावले । मान्छेका भीडमा लोकलाजले हुन नसके पनि आँखा चिम्म गरेर एकपल्ट श्रद्धाले झुक्न मन लाग्थ्यो । कममा कम यी सम्बन्धित विधाका पोख्त त छन् भनेर । यस्तै प्रसङ्गमा पन्ध्रै वर्ष पहिले एक दिन नाटक विधामा डा. बनेका प्रा. पनि भएका विद्वान्लाई सोधेँ- नेपालमा नाटक विधा त अब लोपजस्तै हुन लागिसक्यो कतिले गरे होलान् नाटकमा पिएचडी ? मौलिक नेपाली भाषामा नाटक लेखिन थालेदेखि नेपालमा कति जति नाटकका पुस्तक प्रकाशित भए होलान् ? थाहा होला नि तपाईंलाई ।’ लाजले भुतुक्कै भए उनी- ‘ती सबै हिसाब राखेर के साध्य ?’ हुन त यसमा पनि मेरै मूर्खता थियो नै किनभने-
यत्रो ठूलो संसारका यति धेरै समाज । यति धेरै समाजमा अनगिन्ती संस्कृति, परम्परा, संस्कार र त्यसभित्रका अर्को अनगिन्ती विषय विधा । अनगिन्ती विषयभित्र पनि लाखौँ करोडौँ मत र विचार । लाखौँ करोडौँ मत र विचारभित्र अनेक तत्त्व, रस र वाद । यस्तो अनगिन्ती भित्रको एउटा रोँ बराबर त्यान्द्रो समातेर बनेका डा.हरूमा तपाईं नै भन्नोस्, सम्बन्धित विधामा विद्वत्ताको आशा राख्ने म नै मूर्ख नभए अरू के त ? यसमा झन् अरूको थेसिस कपी पेस्ट गरेरै भए पनि डा. धस्नुपर्ने रोग लागेर डा. भई टोपलेकाहरूको त के कुरा गरेर साध्य । त्यसमा पनि झन् प्रा.को पुच्छर जोड्न पाएका तर दसौँ वर्षदेखि एक पिरियड अध्यापन नगर्ने प्रा.डाहरू गजक्क देखेर म वाल्ल नपर्नेे त कुरै भएन ।
विशिष्टिकरणका नाउँमा विषयभित्रका विषयहरू छरपष्ट छरिनु स्वाभाविक होला तर विशिष्टिकरणका नाउँमा अर्थ न बर्थका सतही त्यान्द्रो समाउनु कताको बुद्धिमानी होला ? यसैको गतिलो परिणाम हो आफ्नै विषय विधामा गतिलो भाव, गहन विचार दिएर, मीठो र मौलिक शैली वा पन हालेर, व्याकरणगत शुद्ध पारेर एक पेज लेख्न सक्दैनन् आजका डाक्टरसापहरू । आफ्नो स्वअध्ययन, प्रस्तुतिको निरन्तर अभ्यास, सोचनशील स्वभाव, धैर्य भए न आउने हो आफ्नो पन । सतही अर्काको विचार र कार्य सुनेर हेरेर जन्मिएका कथा होस् वा कविता, निबन्ध होस् वा समीक्षा, उपन्यास होस् वा महाकाव्य, अध्ययन होस् वा अनुसन्धान सतही नै मात्र हुन्छन् र भएका छन् ।
आफ्नो त पेशा नै अर्काको अक्षर स्याहार्ने परेर हो नि यत्ति भन्न सकेको । कस्ता कस्ता तीन चार ओटा एमए गरेँ भन्ने, पिएचडी गरेँ भनेर गजक्क घिरौँला जत्रा नाक बनाएर र फर्सीजस्ता मुख फुलाएर आउनेहरूका रचनाको गुदी र शुद्धता हेर्दा वेला वेला लाज लाग्छ किन किन आफैदेखि ।
मान्छेमा किन बौद्धिक खडेरी छाएको हो ? इच्छाशक्ति, सङ्कल्प र धैर्य किन खस्कँदै गएको हो ? निरन्तरता, लगनशीलता र मौलिकता किन धरापमा परेको हो ? गुणात्मक सिर्जनाभन्दा सङ्ख्यात्मक सिर्जनाको बाढी किन आएको हो ? लेखकले किन पछाडि फर्कन नसकेको वा नचाहेको हो ? प्रश्न अनगिन्ती छन् र हुन सक्छन् । सर्जक जबसम्म आफ्नो रचनाको पहिले पाठक र अनि समीक्षक बन्न सक्दैन तबसम्म उसका सिर्जना युगजयी, कालजयी बन्न सक्दैन ।
देशमा बुद्धि र हुत्ती नभएका डाक्टरको भीड जम्मा गर्नेभन्दा छानेर निफनेर बुद्धि र हुत्ती भएकालाई डाक्टर बनाउने र बरू तिनको अनुसन्धानको शोधग्रन्थ विश्वविद्यालयले जनताको पहुँचमा पुगेस् भनेर प्रकाशित नै गरिदिए पनि हितै हुन्थ्यो कि हाम्रा पनि ? कताकता कसकसले के के सारे र ताने ढ्वाँग फुक्न त पाइन्थ्यो बरु अनि यो फुकाइको फन्दाले तिनलाइ कस्थ्यो पो कि ? भाषा साहित्यका डाक्टरसापहरूको हविगत देख्दा कल्पना गर्न मन लागेन के तपाईंलाई ? अन्य अर्थशास्त्र, समाजशास्त्र, इतिहास, संस्कृति आदि आदि लगायत प्राविधिक विषयमा डा. भिरेकाहरूको के हविगत होला । न अनुसन्धान, न सिर्जना, न सम्बन्धित विषयविधाका प्रयोगशाला । हातकै औँलामा गन्न सकिने सर्जक बनेका डा.सापहरूलाई ठेला चलाउने, भट्टा चलाउने, सामान्य स्कुल कलेजसम्म देखेका वा त्यो पनि नदेखी कुनै अन्य निजी पेशामा लागेर सिर्जनामा रमाउनेहरूले वेला वेला वाचनमा, लेखनमा, तर्कमा, बितर्कमा, स्वअध्ययनमा, अनुसन्धानमा, कार्यमा पछारिरहेको देख्दा मेरो हाँसोको फोहरा कहीँ कतै देखे आश्चर्यमा नपर्नु होला ।
मलाई याद छ, एकपल्ट एउटा पिएचडीको थेसिस निर्देश गर्ने कामको जिम्मा पाएका एक गुरुले शोधपत्रमा धेरै मिलाउनुपर्ने भनेर फर्काएको र केही समय अलमलिएको सो थेसिस पछि ‘तपाईंको के जान्छ र पास गरिदिनुहोस् न’ भनेर कतातिर माथिको फोनको दबावमा पास गर्नु परेको ती प्रा.सापको अवस्था । एक अर्का नाम चलेका लेखक विद्वान्ले त एकपल्ट मलाई नै गुहारे ‘तपाईं यत्रा ठेली ठेली किताब लेख्नुहुन्छ यसो लेखिदिनुहोस् न मेरा लागि पनि, म सकेको एक दुई लाख टकर््याइहाल्छु क्या रे !’ मजस्तो भुट्टी भाङ्ग्रो अर्काको निर्देशको रेखा (फर्म्याट) मा पटक्कै नहिँड्ने ज्याद्रोसँग उनको नचलेपछि के गरे गरे डा. ठोकेर वेला वेला ठूलै मञ्चमा आसीन हुन थाले ।
तपाईं यस्ता डा.सापहरूलाई कसरी चिन्नुहुन्छ कुन्नि ? केही गतिला लेख्न सकियोस् कि नसकियोस्, कुनै अध्ययन अनुसन्धान गर्न सकियोस् कि नसकियोस् यिनले डा. देखाएर गफले पहाड पल्टाएर थुप्रै कामहरू हात पार्छन् र दायाँवायाँ लस्कर सेना राखी आधा पैसामा अरूलाई काम जोताएर आफू भने ठूलै हण्डी मार्ने कलामा पारङ्गत हुन्छन् । विचरा यी ठूला ठूला कार्यक्रमहरूमा मञ्चासिन, मञ्च नपाए दायाँबाया नहेरी सरासर अघिल्लो आसनमा जम्ने, बाटोमा भेट्दा, नमस्कार ठोक्दा गजक्क नाक फुलाएर म फलानो डा. भन्ने । कुरा गर्दा धेरै नै जानेजस्तो खूबै गम्भीर भएर कुरा राख्ने र सुन्ने अनि पछि आफ्नो डा.को रबाफले दबाव दिने । स्वर ठूलो पारी गर्जने । मीठो बिस्तारै बोलेर अरूलाई आकर्षण गर्ने वा दबावमा पार्ने कला भने तिनले जानेकै हुन्छन् ।
यी त भए विषय विधामा फिलोसफर अर्थात् दार्शनिक उपाधि पाएका विद्वान्हरूका कुरा । दर्शनको क, ख, ग नजानेकाहरूका भीड मात्रले सम्बन्धित विधाको अवस्था कसरी सुध्रिएला ? अरूको शोधपत्र सार्ने, मिलाउने, अरूलाई लेखाएर डा.साप बन्नेहरूको अहिले देशमा बिगबिगी नै छ । यसै देशमा एकले बुझाएको शोधपत्रको कति कसले कपी पेस्ट र्गयो थाह पाउन नसक्ने हाम्रा विश्वविद्यालय र तिनका महान् डा., प्रा. र प्रा.डा.हरूले अन्य देशको हजारौँ विश्वविद्यालयका हजारौँ सङ्ख्याका शोधपत्रहरूबाट सरक्क सारेको त झन् थाहा पाउने कुरै रहेन । पैसा मात्रको भरमा अनगिन्ती नक्कली डा.सापहरूको पनि विदेशबाट आगमन भइरहेछ । अब तत्काल शोधपत्रमा कति प्रतिशत भाव, विचार, वाक्य, शब्द कसकसका आए, तानिए, सारिए भनी जाँच्ने यन्त्रको खाँचो परेको छ भनी हाम्रा विश्वविद्यालयहरूले कहिले बुझ्ने होला र खै ?
अब अर्कोतिर पनि अनुमान लगाउनोस् न । ब्याचलर गरेका मेडिकल डा.सापको के कस्तो अवस्था छ । यी डा. लेखे पनि प्रविधिक (टेक्निकल) डाक्टर हुन् न कि विषय विधाका फिलोसफर वा विशेषज्ञ । प्रविधिक भएका कारण यिनलाई आफ्नो विषय विधाभन्दा बाहिरको भुट्टी भाङ्ग्रो ज्ञान नहुन सक्छ । हुने सयौँ हजारौँमा एक दुई निस्कन पनि सक्छन् ननिस्कन पनि ।
यहाँका प्राविधिक डाक्टरले न रोगको अनुसन्धान गरे, न औषध विज्ञानको अनुसन्धान गरे, न कुनै सम्बन्धित विधाको अनुसन्धानमूलक कृति लेखे । कसैले लेखे त मात्र नगण्य रूपमा सामान्य रोगको परिचयात्मक किताब लेखे त्यो पनि मात्र पैसा कमाउनका लागि । डाक्टर बन्न जति बाआमाले खर्च गरे त्यसको दुई गुना ब्याज र स्याज जम्मा गर्ने मात्र खेतीमा लागे । यसो स्टेथोस्कोप टाँसेर धन सोहर्ने कामबाहेक कोही छ मरेपछि पनि बाँच्ने काम गर्ने प्रविधिक डाक्टर यो देशमा ? तपाई भन्नु होला, फलानोले अस्पताल खोलेको छ, फलानोले उपचार गरेको छ, फलानोले अप्रेशन गरेर मान्छे बचाएको छ, सेवा गरेको छ, तर हजुर के उसले मेवा दुई गुना बटुलेको छैन ? डाक्टर बनेको केको लागि हो ? के यो सेवा हो ? जुन काम उसको पेशा हो त्यो काम गर्नु उसको अति नै सामान्य कार्य वा कर्म हो र कर्म नै उसको धर्म पनि हो तर यो सेवा भने होइन । वृत्ति र पेशाभन्दा बाहिर गएर गरिने काम वा कार्यलाई मात्र सेवा मान्न सक्छु म ! तपाईं नि ?
देशमा सबैभन्दा इमानदार र सम्मानको काम हो शिक्षण । कहीँ कतै नबिकेका, शिक्षा र सेवा आयोगको प्रमाणपत्र नपाएका, राम्रो जागिर नपाएर निजी विद्यालयमा पढाउने अस्थायी शिक्षकले पढाएका निजी स्कुल र कलेजले शतप्रतिशत रिजल्ट ल्याउनु तर सबै किसिमका प्रमाणपत्र पाएका, तलब, भत्ता, सुबिधा पाएका स्थायी शिक्षकले पढाएका स्कुल कलेजले दुई-चार प्रतिशत रिजल्ट ल्याएको देख्दा मैले शिक्षकभन्दा गद्दार यो देशमा कोही छैन भने तपाईं के भन्नुहुन्छ ? यता अमूक कुनै एउटै शिक्षकले निजी स्कुल कलेजमा पढाउँदा शतप्रतिशत र त्यही शिक्षकले सबै सुबिधायुक्त सरकारी स्कुल कलेजमा पढाउँदा जिरो प्रतिशत ल्याउनुभन्दा ठूलो राष्ट्रघात कुन हुनसक्छ ? शिक्षा सेवा भनेर, नारा चुटेर स्कुल कलेज खोलेर अनेक तरिकाले जनता लुट्ने काम देश र जनताप्रतिको गद्दारी हो । तपाईं माने मान्नोस् नमाने नमान्नोस् सत्य यही नै हो ।
यता न्यूनतम् सेवा शुल्क लिएर जनताको सेवा गर्छु भन्ने भावनाले चिकित्सक बन्ने, अस्पताल खोलेर स्वास्थ्य सेवा गर्छु भन्नेको हालत पनि शिक्षा क्षेत्रमाभन्दा कम ठगी छैन । जुनसुकै चिकित्सक कुनै न कुनै रूपमा पैसा बटुल्ने खेलमा लागेकै छन् । नक्कली औषधी चलाइदिए वापत, गर्नै नपर्ने अनेक विधि परिक्षण गराइदिए वापत, क्लिनिक खोलेर होस् कि अस्पताल मात्र पैसा बटुल्नु मेडिकल डाक्टरको पेशा बनेको छ । एउटै रोग, एउटै अपरेशन, एउटै परिक्षण, एउटै औषधीको क्लिनिक पिच्छे, अस्पताल पिच्छे फरक पैसा । यो सरासरमा ठगी कसले गरिरहेछ ? आफ्ना वा आफन्त बिरामी परेपछि ऋण काढेर, घरबार बेचेर, जसरी भए पनि बचाउनु पर्ने भावनामा जकडिएको, जीवनको दोसाँधमा अल्झिएको मान्छेलाई निचर्नु र लुटुनु स्वास्थ्य क्षेत्रको कर्म बनिरहेको छ । यो सरासर राष्ट्र र जनताप्रतिको गद्दारी हो भनेर मैले भनेँ भने तपाईं मान्नु हुन्न र ? अर्कोतिर ‘….अस्पताल तथा रिसर्च सेन्टर’ नामधारी यहाँका अनगिन्तीमध्ये कुनै एक अस्पतालले आजसम्म कुन चाहिँ रोगको, औषधीको, जडिबुटीको, मानव संरचनाको अनुसन्धान गरेको हामी तीन करोडमा कोही एक जनतालाई थाहा छ हँ ? सरकारी सुबिधा ठग्ने, कर छल्ने यो परिपाटी कहिले अन्त्य होला र खै ? यसो स्टेथोस्कोप टाँसेर ‘नगद नारायण’ जम्मा गर्ने र त्यही ‘नगद नारायण’ले क्लिनिक वा अस्पताल खोलेर झन् मोटाएर आलिशान शौखमा बसेर भातभान्सा चलाउने बाहेक कुनै मेडिकल डाक्टरले केही अनुसन्धान र सेवाका काम गरेनन् यो देशमा ।
विडम्बना ! एक दुई छाडेर अधिकांश बौद्धिक डाक्टर भिरेकाहरूको पनि हविगत उही नगद नारायण बटुल्ने र त्यही नगदले अरू लुट्न कतै न कतै स्कुल कलेजमा भागबन्डा पारेर खोल्ने खुलाउने काम चलिरहेकै छ । यो देश र जनताप्रतिको गद्दारी नजानेका, गरीब, सामान्य नागरिकबाट भएको हुँदै होइन । हो त यिनै डा. प्रा. आदि देखाउने दाँत भएकाले वा शासक प्रशासकले नै सिकाएका बुद्धि र पौरख हो । त्यसैले यो देश जान्ने, सुन्ने, पढेका, विद्वन्ले नै बिगारेको हो भनेर मैले भने के गलत ठहर्छ र ?
शिक्षा र स्वास्थ्यजस्तो अमूल्य भावनाको कार्य र पेशामा सबैभन्दा बढी लुटने, चुस्ने, ठग्ने काम गर्न उक्साउने जुनसुकै डाक्टर होस् वा प्रफेसर, शासक होस् वा नेता सबै डाँकू हुन् भनेर मैले ठोकेँ भने तपाई सहमत नहुनु पर्ने छ र ?
सुजिकारले लुगा सिलाउनु, कुचिकारले कुचो लगाउनु, मास्टरले पढाउनु, भान्छेले भात पकाउनु, पाइलटले प्लेन उडाउनु, डाक्टरले उपचार गर्नु आदिलाई तपाई के भन्नु हुन्छ ? जुन काम गर्छु भनेर मान्छेले पेशा बनाउँछ त्यो काममा इमानदार बन्नु मान्छेको कर्म र धर्म हो । त्यो उसको कर्तव्य नै हो किनकि यसैले उसको भातभान्सा चलेको हुन्छ । जुनसुकै कर्म वा कार्य जुन मान्छेले भातभान्सा चलाउन गर्छ, जीवनयापनका लागि गर्छ त्यो उसको वृत्ति हो र वृत्तिलाई तपाईं माने मान्नोस् सेवा तर म मान्न सक्दिनँ ।
डाक्टरमा विवेक मर्दै गएको छ त्यसैले अस्पताल ठगी र रोग ब्युँताउने प्रयोग र अखडा अनि मान्छे मार्ने मसान बन्दै गइरहेछ । शिक्षक र प्राध्यापकमा विवेक खस्कँदै गइरहेछ त्यसैले वर्षभरि तिनले खाएको तलब भत्ताले स्कुल कलेजमा उत्तीर्ण सङ्ख्या दुई चार प्रतिशतमा झरेको छ त्यसैले स्कुल कलेज व्यापार र राजनीतिको अखडा साबित हुँदै गइरहेको छ ।
यस्ता विवेकहीन डा. हुन् कि प्रा., नेता हुन् कि प्रशासक सबैलाई मैले डाँकू भनेँ भने तपाईं कति राजी हुनुहुन्छ ? यी र यस्ता विद्वानको मन र बुद्धिमा कहिले कति विवेकको भावना उदाउने हो प्रतिक्षाबाहेक म बबुरो जनतासँग के नै छ र ?





























प्रतिक्रिया