काठमाडौं
राष्ट्रपति विद्यादेवी भण्डारीको राजकीय भ्रमणका क्रममा नेपाल वायुसेवा निगमले गम्भीर लापर्वाही गरेको पाइएको छ । भण्डारीले गत वर्ष १२ मे २०१७ मा गरेको श्रीलंका भ्रमणका क्रममा निगमले ‘मानक सञ्चालन कार्यविधि’ विपरीत पाइलट तथा को–पाइलटको बन्दोबस्त गरेको फेला परेको छ ।
राष्ट्र प्रमुखको हैसियतमा भण्डारीले काठमाडौं देखि बैंकक सम्म निगमको विमानबाट यात्रा गरेकी थिइन् । अति विशिष्ट व्यक्तिको उक्त यात्राका क्रममा निगमले एकजना पाइलट र दुई जना को–पाइलटको मात्र बन्दोबस्ती गरेर उक्त कार्यविधि विपरीतको कार्य गरेको हो । निगमले क्याप्टेन सुवास रिजालको नेतृत्वमा दुईजना को–पाइलट (फस्ट अफिसर) हरू सञ्जय वैद्य र सञ्जय पौडेललाई मात्र खटाएको थियो ।
निगमको कार्यविधिमा अति विशिष्ट व्यक्तिको उडानका क्रममा एकजना प्रशिक्षक पाइलटको नेतृत्वमा अर्का प्रशिक्षक पाइलट वा क्याप्टेन, एकजना क्याप्टेन वा को–पाइलट गरी तीन जनाको टोली बनाउनुपर्ने व्यवस्था गरेको छ । निगमले यी प्रावधानविपरीत क्याप्टेन र दुईजना को–पाइलटका भरमा उडान व्यवस्था मिलाएको थियो । अन्तर्राष्ट्रिय मापदण्ड अनुसार उडानका क्रममा क्याप्टेन वा पाइलटलाई कदाचित केही भएमा अर्को उही तहको क्याप्टेन वा पाइलटले जहाज हाँक्नु पर्ने हुन्छ । पाइलट वा क्याप्टेनको सिटमा बसेर को–पाइलटले जहाज उडाउन पाउँदैन ।
राष्ट्रपति भण्डारीको उक्त उडानमा एकजना मात्र क्याप्टेनको व्यवस्था गरेर निगमले नागरिक उड्डयन प्राधिकरणद्वारा स्वीकृत कार्यविधि उल्लंघन गरेको प्राप्त कागजातबाट देखिन्छ । राष्ट्रपति भण्डारी श्रीलंकाको कोलम्बो जाने क्रममा बैंककसम्म निगमको जहाजबाट यात्रा गरेकी थिइन् । बैंककदेखि कोलम्बोसम्म अर्कै जहाजबाट राष्ट्रपति भण्डारीको यात्रा भएको थियो ।
निगमका प्रवक्ता रवीन्द्र श्रेष्ठले आफूलाई यस विषयमा कुनै जानकारी नभएको र बुझेर पछि बताउने उल्लेख गरे ।
अन्नपूर्णबाट





























प्रतिक्रिया