काठमाडौं । नेकपा एमाले नेता महेश बस्नेतले प्रधानमन्त्री र गृहमन्त्रीलाई मात्रै दोष लगाएर जेननी आन्दोलनका वास्तविक अपराधीलाई बचाउन नहुने बताएका छन्। उनले हालै भएको आन्दोलनका क्रममा भएको क्षति र हिंसाको निष्पक्ष छानबिनको माग गरेका छन्।
सामाजिक सञ्जालमा एक लामो स्टाटस लेख्दै बस्नेतले आफू एमाले भएकोमा गर्व गर्ने बताएका छन्। उनले पूर्वप्रधानमन्त्री ओलीलाई आफ्नो नेता मात्रै नभई आदर्श पनि मानेको उल्लेख गर्दै संकटको बेलामा दुलाभित्र लुक्ने मान्छे आफू नरहेको स्पष्ट पारेका छन्। “ओली राजनीतिमा रहुन् वा नरहुन्, फेरि प्रधानमन्त्री बनुन् वा नबनुन्, उहाँप्रतिको मेरो सम्मान कहिल्यै घट्दैन,” उनले लेखेका छन्।
बस्नेतले आन्दोलनका क्रममा मारिएका ७२ जनामध्ये २१ जनाको मृत्यु सरकारका कारणले भएको र बाँकी ५१ जनाको मृत्यु आन्दोलनकै हिंसाबाट भएको दाबी गरेका छन्। उनले उच्चस्तरीय न्यायिक छानबिन समिति गठन गरेर दोषीलाई कारबाही गर्नुपर्नेमा जोड दिएका छन्। “गोली प्रहरीतर्फबाट मात्र होइन, अन्यतर्फबाट पनि चलेको सुन्नमा आएको छ,” उनले भने, “त्यसैले न्यायिक छानबिन होस् र दोषीलाई उचित कारबाही होस्।”
उनले कलिला बालबालिकालाई आफ्नो स्वार्थका लागि उचालेर आन्दोलनको नाममा आगजनी र लुटपाट गराउने प्रवृत्तिलाई गम्भीर अपराध भन्दै त्यस्ता व्यक्तिलाई खोजेर कडा कारबाहीको दायरामा ल्याउनुपर्ने माग गरेका छन्। “यिनीहरुका कारणले अहिले जलेका र नष्ट भएका राष्ट्रिय तथा व्यक्तिगत सम्पत्तिको पुनर्निर्माण गर्न कति वर्ष लाग्ला ? कसले गर्ला ?” उनले प्रश्न गरेका छन्।
बस्नेतले एमाले र कांग्रेसलाई गाली गर्नुभन्दा हिम्मत भए आफूहरूले भन्दा राम्रो काम गरेर देखाउन चुनौती दिएका छन्। उनले फेसबुकमा लेखेर मात्र देश नबन्ने, कामले मात्रै देश बन्ने बताउँदै भक्तपुर र देशमा छोटो समयमा आफूहरूले गरेको काम ५० वर्षमा पनि अरुले गर्न नसक्ने ठोकुवा गरे।





























प्रतिक्रिया