काठमाडौँ । भदौ २४ गतेको प्रदर्शनका क्रममा कोहलपुर नगरपालिका वडा नं. ११ स्थित राजस्व अनुसन्धान कार्यालयबाट लुटिएको सुन, चाँदी र नगद स्थानीय समुदाय र प्रहरीको संयुक्त पहलमा फिर्ता गरिएको छ।
इलाका प्रहरी कार्यालय कोहलपुरका अनुसार लुटिएको २ लाख ५२ हजार ६२६ रुपैयाँ १ लाख १७ हजार ६५० नेपाली र ८४ हजार ३६० भारतीय, ४२१.३२ ग्राम सुन र ९.९८४ किलोग्राम चाँदी फिर्ता गरिएको हो। स्थानीय समाजका अगुवाहरूको सक्रियतामा सोमबार राति ८ बजे यी सामान प्रहरीलाई बुझाइएको प्रहरी नायब उपरीक्षक लक्ष्मी खनालले बताइन्।
कोहलपुर वडा नं. १ का ३२ वर्षीय अजय परियारसहितका व्यक्तिहरूले लुटिएका सामान प्रहरीमा बुझाएका हुन्। राजस्व अनुसन्धान कार्यालय, स्थानीय जनप्रतिनिधि र समाजसेवीको रोहबरमा मुचुल्का उठाई सामान सुरक्षित राखिएको छ।
सामाजिक सञ्जालमा लुटपाटका भिडियो र तस्बिर सार्वजनिक भएपछि लुटिएका सामान फिर्ता गर्ने कार्यमा स्थानीयको सक्रियता बढेको प्रहरीले जनाएको छ।































प्रतिक्रिया