नेपालगञ्ज म्याराथन भाेलि, तयारी पूरा

नेपालगञ्ज म्याराथन भाेलि, तयारी पूरा

केन्द्रबिन्दु
0
Shares

नेपालगञ्ज।

छैटौं संस्करणको धारा नेपालगञ्ज म्याराथनको सम्पूर्ण तयारी तयारी पूरा भएको छ । आयोजक क्रियटिभ ह्यान्ड्सले बिहीबार पत्रकार सम्मेलन गर्दै मंसिर ६ गते शनिबार आयोजना हुने म्याराथनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

‘बाँच्नका लागि हिडौं’ भन्ने नारासहित आयोजना हुने यस पटकको म्याराथनमा तीन इभेन्ट्समा प्रतिस्पर्धा हुनेछ । सरकार र सशस्त्र द्वन्द्वरत तत्कालिन माओवादीका बीचमा मंसिर ५ गते भएको विस्तृत शान्ति सम्झौताको स्मरणमा हरेक वर्ष नेपालगञ्ज म्याराथन आयोजना हुने गरेको छ ।

कोरोना महामारीको कारण यसपटक पुरुष खुल्लातर्फ म्याराथन, महिलाको हाफ म्याराथन र ३ किलोमिटरको कर्पोरेट रन समावेश गरिएको आयोजकले जनाएको छ ।

यस पटकको म्याराथनमा १३ औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण पदक विजेता किरणसिंह बोगटी, साविक विजेता नवराज साउद, सागकै स्वर्ण पदक विजेता गोपी पार्की लगायतका २० भन्दा बढी धावकले प्रतिस्पर्धा गर्दैछन् । त्यस्तै महिलातर्फ १० भन्दा बढी खेलाडीले भाग लिने बताईएको छ ।

नेपाल एथ्लेटिक्स संघबाट मान्यता प्राप्त नेपालगन्ज म्याराथनलाई नेपाल ओलम्पिक कमिटी (एनओसी) ले ओलम्पिक छनोटका रुपमा समेत लिएको छ । म्याराथनका विजेताले अर्को वर्ष जापानमा आयोजना हुने ओलम्पिकमा नेपालको प्रतिनिधित्व गर्ने एनओसीले जानकारी गराएको छ ।

यस्तै यस पटकको म्याराथन र हाफ म्याराथनको पुरस्कार राशीमा पनि बृद्धि गरिएको छ । यस पटक म्याराथनका विजेताले ७५ हजार, दोस्रोले ३० हजार, तेस्रोले २० हजार रुपैयाँ प्राप्त गर्नेछन् । त्यस्तै चौथोले १०, पाँचौंले ८, छैटौंले ७, सातौंले ६ र आठौं हुनेले ५ हजार रुपैयाँ पाउनेछन् । म्याराथनको विजेताले गत वर्षको तुलनामा २० हजार रुपैयाँ पुरस्कार बढी पाउनेछन् ।

महिला हाफ म्याराथनको विजेताले ३०, दोस्राले १५, तेस्रोले १० हजार रुपैयाँ प्राप्त गर्नेछन् । त्यस्तै चौथोलाई ७, पाँचौंलाई ६ र छैटौं हुनेलाई ५ हजार रुपैयाँ प्रदान गरिनेछ ।

Skip This
Skip This
Logo