काठमाडौँ । बागमती प्रदेशका सभामुख भुवनकुमार पाठकले आफ्नो पदबाट राजीनामा दिएका छन् । पाठकले सामाजिक सञ्जाल ह्वाट्सएपमार्फत उपसभामुख अप्सरा चापागाईलाई आधिकारिक पत्र पठाएका हुन् ।
सभामुख पाठकले नेपालको संविधान र प्रदेशसभा नियमावली, २०७४ बमोजिम आज बुधबार राजीनामा दिए ।
गत भदौ २३ गते भ्रष्टाचारविरुद्ध र सुशासनको पक्षमा भएको प्रदर्शनमा अस्वाभाविक बल प्रयोगबाट भएको मानवीय क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै भदौ २४ गते नै सामाजिक सञ्जालमार्फत राजीनामाको घोषणा गरेका थिए । राजीनामा घोषणा गरे पनि उनले औपचारिक पत्र भने पठाएका थिएनन् । पाठकले तत्कालीन समयमा प्राविधिक कारणले कानुनी प्रक्रिया पूरा गर्न अनुकूल नभएकाले पत्र नबुझाएको बताए ।
सबै प्रक्रिया पूरा गरेर आज औपचारिक रूपमा राजीनामा पत्र बुझाएको उनले बताए ।
राजीनामा पत्रमा उनले उक्त घटनाले आफूलाई अत्यन्त भावविह्वल बनाएको र राष्ट्र शोकमा डुबेको बेला नेपाली जनताको चाहना र युवा पुस्ताको भावना विपरीत पदमा बसिरहनु उचित नलागेको उल्लेख गरेका छन् ।





























प्रतिक्रिया