काठमाडौं
सर्वोच्च अदालतका कामु प्रधानन्यायाधीश जोशी आज आइतबारबाट पन्ध्र दिनका लागि विदा बस्ने भएका छन् । संसदीय सुनुवाई विशेष समितिले शुक्रबार जोशीलाई प्रधानन्यायाधीश बनाउन अस्वीकार गरेको थियो । शनिबार राष्ट्रपति समक्ष जानकारी गराएर उनी बिदामा बस्ने भएका हुन् ।
मुद्दा फैसला विवादास्पद र शैक्षिक प्रमाणपत्र शंकास्पद देखिएपछि कामु प्रधानन्याधीश जोशी विवादमा मुछिएका थिए । उनी आज देखि बिदामा बस्ने भएपछि न्यायाधीश ओमप्रकाश मिश्रले सर्वोच्चमा पेशी तोक्ने छन् । सर्वोच्च अदालतका सञ्चारविज्ञ किशोर पौडेलका अनुसार आइतबार देखि वरिष्ठत्तम न्यायाधीश मिश्रले पेशी तोक्नेछन् ।
यसैबीच कायममुकायम प्रधानन्यायाधीश जोशीले आफ्नो शैक्षिक योग्यताको प्रमाणपत्रका विषयमा गम्भीर प्रश्न उठेकाले स्वतन्त्र निकायबाट निष्पक्ष छानबिन गरी सत्यतथ्य पत्ता लगाइदिन सरकार र न्यायपरिषद्लाई आग्रह गरेका छन् । उनले शनिबार एक विज्ञप्ति प्रकाशित गरी आफ्नो शैक्षिक योग्यता माथि उठेको प्रश्नको निराकरणका लागि अनुरोध गरेका हुन् । जोशीले आफु माथी अन्याय भएको बताएका छन् ।
सम्मानीत संसदीय सुनुवाई विशेष समितिमा संविधान बमोजिम सुनुवाई भई सार्वजनिक संचार माध्यममा मेरो विषयमा सम्प्रेषित समाचारका आधार, आशंका र भ्रमका आधारमा तथ्यगत निष्कर्ष विना नै निर्णय भएको विषयमा आफ्नो गंभीर सरोकार रहेको उनले बताएका छन् ।तत्कालिन श्री ५ को सरकार शिक्षा मन्त्रालयको परीक्षा महाशाखाबाट एसएलसी सरह समकक्षी नेपाल राष्ट्रिय बिद्यापीठमा आफुले २०२९ सालको ब्याचमा परीक्षा दिई २०३० बैशाख ३० गते प्रवेशिका परीक्षा उतीर्ण गरेको तथ्यलाई नजर अन्दाज गरिएको उनको भनाई छ ।
मैले तत्कालिन अवस्थामा दिएको एसएलसी सरहको प्रवेशिका परीक्षाको लागि जारी भएको प्रवेश पत्रमा उल्लेख भएको क्रमांक एवं शैक्षिक प्रमाणपत्रहरुमा सोही नम्बर उल्लेख भएको एवं गोरखापत्रमा समेत सोही नम्बर प्रकाशित भएको तथ्य स्पष्ट भइरहेकोमा जुन निकायबाट परीक्षा दिएको हो सोही परीक्षा बोर्डबाट रुजु गर्नु पर्नेमा त्यसरी रुजु नगरी हचुवाका आधारमा गरिएको चर्चा परिचर्चा र त्यसै आधारमा बनाइएका धारणाले मेरो व्यक्तिगत मानमर्दन गरेको मात्रै नभई सो बोर्ड, सो बोर्डबाट शैक्षिक योग्यताहासिल गरेका सम्पूर्ण महानुभाव र न्यायपालिकालाई नै बदनाम गरिएको छ , जोशीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
यसलाई आफुले स्वतन्त्र न्यायालय माथि हस्तक्षेप गरी न्यायालयलाई विस्तारै कमजोर बनाई आफ्नो अभिष्ट पूरा गर्ने तत्वहरु सक्रिय भएको चरम अवस्थाको रुपमा बुझेको उनले बताएका छन् ।





























प्रतिक्रिया