कार्यालय ध्वस्त भएपछी कर्णाली प्रदेश सरकारको भुक्तानी ठप्प

कार्यालय ध्वस्त भएपछी कर्णाली प्रदेश सरकारको भुक्तानी ठप्प

केन्द्रबिन्दु
0
Shares

काठमाण्डौ । जेनजी आन्दोलनकारीहरुले कार्यालय जलाइदिए पछि कर्णाली प्रदेश सरकारको सरकारी भुक्तानी प्रणाली ठप्प भएको छ । जेनजी पुस्ताका आन्दोलनकारीले २४ गते प्रदेश लेखा नियन्त्रक कार्यालय (प्रलेनिका)मा आगजनी गरेका थिए ।
आगजनीमा कार्यालयका सम्पूर्ण कागजात, कम्प्युटर तथा अन्य आवश्यक उपकरणहरु जलेर नष्ट भएपछि प्रदेश लेखा नियन्त्रण कार्यालयका आर्थिक सम्बन्धि सम्पूर्ण गतिविधिहरू अनिश्चितकालका लागि प्रभावित बनेका छन् ।

कर्णाली प्रदेश सरकार र यहाँका स्थानीय तहको सार्वजनिक वित्त व्यवस्थापनको पाटो लाई चुस्तदुरुस्त र पारदर्शी राख्ने संवैधानिक जिम्मेवारी बहन गरेको कार्यालय नै आन्दोलनकारीले आगजनी गरेका थिए । कार्यालयमा रहेका लेखा सम्बन्धी सम्पूर्ण कागजी दस्ताबेज र उपकरण जलेर नष्ट भएपछि प्रदेश सरकारको समग्र वित्तीय व्यवस्थापनको पाटो रोकिएको प्रदेश लेखा नियन्त्रक कार्यालय सुर्खेतका प्रमुख रत्नप्रसाद सुवेदीले बताए ।

यस्तै कार्यालयका पुराना आयव्यय विवरण, कर्मचारीको तलब तथा भुक्तानी आदेश सम्बन्धी सम्पूर्ण फाइलजलेर नष्ट भएको सुवेदीले बताए। ‘डिजिटलप्रणालीमा सुरक्षित गर्न प्रयोग गरिने उपकरण सँगै भौतिक अभिलेख जलेपछि हिसाब मिलान र प्रमाणीकरणमा कठिनाइ भएको छ’उनले भने, ‘केही समयका लागि प्रदेश सरकारको चालू र पुँजीगत बजेट खर्च प्रणाली नै ठप्प अवस्था छ ।’ प्रदेश लेखानियन्त्रक कार्यालय मार्फत प्रदेशका विभिन्न मन्त्रालय, मातहतका कार्यालय, लोकसेवा आयोग तथा अन्यकार्यालयमा कार्यरत कर्मचारीलाई मासिक तलब–भत्ता समेत भुक्तानी गर्न सकिने अवस्था नरहेको उनले बताए ।

जेनजी आन्दोलनकारीको आगजनीले खरानी बनेको कार्यालयका नौ वटा मोटरसाइकल र दुई चारपाङ्ग्रे गाडी आगजनीबाट पूर्णरूपमा नष्टभएको छन् । आगजनीका कारण कार्यालयमा विद्युत्, इन्टरनेट, टेलिफोन र खानेपानी सेवा पूर्णरूपमा अवरुद्ध छ । प्रदेश सरकारले संकलन गर्ने कर, राजस्व र अन्य आम्दानीको लेखाजोखा समेतमा असर परेको कार्यालय प्रमुख सुवेदीले बताए । भवन बाहेक सेवाप्रवाहका लागि आवश्यक सम्पूर्ण सामग्रीपुनःबनाउनुपर्ने र खरिद गर्नुपर्ने अवस्था रहेको कार्यालयले जनाएको छ ।

Logo