काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले नेपाललाई नयाँ पुस्ताको काँधमा राखेर सही बाटोमा अघि बढाउनुपर्नेमा जोड दिएकी छन् ।
सामाजिक सञ्जालमार्फत उनले भनेकी छन्, ‘इमान्दार नेतृत्व, स्पष्ट दृष्टि र जनताको विश्वाससहित हामीले स्वमूल्याङ्कन गर्नुपर्छ र एकजुट भई सहिदको बलिदानलाई न्याय दिनुपर्छ। र पुनर्निर्माणमा जुट्न हामी सबैको दायित्व हो । नेपाल अब नयाँ पुस्ताको काँधमा र सहि बाटोमा अघि बढाऔं ।’
देश शोकमा डुबेको अवस्थालाई मध्यनजर गर्दै उनले जेनजी आन्दाेलनमा घाइतेको शीघ्र स्वास्थ्य लाभको कामनासहित मृतकका परिवारजनमा हार्दिक समवेदना व्यक्त गरेकी छन् ।
उपमेयर डंगोलले राष्ट्रले भोगेको क्षति र असंख्य परिवारले सन्तान गुमाएको पीडाको मूल्य चुकाउन दोषी जो कोही भए पनि कानूनी कारबाहीको दायरामा आउनुपर्ने माग गरेकी छन् ।
उनले ‘जेन्जी’ पुस्ताले सुरु गरेको भ्रष्टाचार विरुद्ध सुशासन र समृद्धिको आन्दोलनलाई केवल आक्रोशका रूपमा नभई ‘परिवर्तनको माग’ का रूपमा लिनुपर्ने बताइन् । यस आन्दोलनका क्रममा भएको जनधनको क्षति, हत्या र तोडफोडको निश्पक्ष सत्यतथ्य पत्ता लगाउन छानबिन गर्नुपर्ने आवश्यकता औंल्याएकी छन् ।
सहिदको रगतले लेखेको इतिहासलाई बिर्सन नसकिने उल्लेख गर्दै उनले बलिदान खेर नजान दिन सबैको दायित्व भएको बताइन् । डंगोलका अनुसार अबको राजनीति ढाकछोप र बहानामा होइन, जवाफदेही र पारदर्शितामा टेकेर अघि बढ्नुपर्छ।
उनले दलहरूलाई पनि विगतका कमजोरीलाई सुधार्दै अघि बढ्न आग्रह गरेकी छन् ।





























प्रतिक्रिया