अन्तराष्ट्रिय फिचर फिल्म विधा ’अस्कर अवार्डमा ‘अञ्जिला’ सिफारिस

अन्तराष्ट्रिय फिचर फिल्म विधा ’अस्कर अवार्डमा ‘अञ्जिला’ सिफारिस

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ ‘द एकेडेमी अफ् मोसन पिक्चर आट्र्स एण्ड साइन्सेस (अस्कर अवार्ड)’ मा नेपालको प्रतिनिधित्व ‘अञ्जिला’ चलचित्रले गर्ने भएको छ । नेपालस्थित अन्तरराष्ट्रिय फिचर चलचित्र छनोट समिति (नेपाल)ले अमेरिकामा आयोजना हुने ९८औँ ‘अस्कर अवार्ड’ मा ‘अन्तराष्ट्रिय फिचर फिल्म’ विधामा नेपालबाट ‘अञ्जिला’ चलचित्र सिफारिस भएको जानकारी दिएको हो ।

उक्त समितिका अध्यक्ष विमल पौडेलले प्राप्त चलचित्र मध्ये बाट विषयवस्तु र कलात्मकता प्रस्तुति, त्यसले दिएको सन्देशलाई मध्यनजर गर्दै ‘अञ्जिला’ लाई प्रतिनिधित्व गराउने निर्णय भएको जानकारी दिए । उनले भने, “चलचित्रको गहन मूल्याङ्कनपश्चात् प्राविधिक पक्ष, कथाको प्रस्तुति, चरित्रको भावनात्मक विश्लेषण र कलात्मक सिल्पलाई ध्यानमा राखेर हामीले चलचित्र छनोट गरेका हौँ ।”
पौडेलका अनुसार अस्करमा प्रतिस्पर्धा गर्नका लागि दुई नेपाली कथानक चलचित्र ‘गुन्यू चोलो (द ड्रेस) र ‘अञ्जिला’ प्राप्त भएको जानकारी दिए । चलचित्र अञ्जिला नेपाली महिला फुटबल टिमकी गोलरक्षक अञ्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित छ । खेलाडी सुब्बाले अभिनय गरेको चलचित्रलाई मिलन चाम्सले निर्देशन गरेका छन् ।

उक्त चलचित्रका निर्माता प्रेमकुमार श्रेष्ठले खेलाडीका विषयमा बनेको चलचित्रले नेपालको तर्फबाट प्रतिनिधित्व गर्नु गौरवको विषय भएको बताए। “नेपालले खेलमा राम्रो प्रगति गरिरहेको छ, सोही कारण हामीले खेलाडी सुब्बाको जीवनी र सङ्घर्षलाई समेटेर चलचित्र तयार गरेका हौँ”, उनको भनाई छ ।

यसले नेपालको सुन्दरतासँगै महिला खेलाडीको सङ्घर्षपूर्ण यात्रा र सफलताको कथा समेटेको श्रेष्ठले बताए। यो अन्यका लागि प्रेरणाको स्रोत बन्ने विश्वास व्यक्त गरे।
चलचित्र अञ्जिलामा खेलाडी सुब्बासँगै दयाहाङ राई, सिर्जना सुब्बा, माओत्से गुरुङ, बुद्धि तामाङ लगायत कलाकारले अभिनय गरेका छन्। गत वर्ष नेपालमा प्रदर्शन भएको उक्त चलचित्रले घरेलु बजारमा रु नौ करोडको हाराहारीमा व्यापार गरेको निर्माण पक्षले जनाएको छ।

Skip This
Skip This
Logo