काठमाडौं माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले परिवर्तनकारी शक्तिहरु एक हुनुको विकल्प नरहेको बताएका छन् ।
संविधान दिवसका अवसरमा आज शुभकामना व्यक्त गर्दै उनले देशले सबै लोकतन्त्रवादी, गणतन्त्रवादी, परिवर्तनप्रेमी शक्तिबीच दह्रो एकताको आवश्यकता खोजेको औँल्याएका हुन् ।
लोकतन्त्रको विकल्प अझ उन्नत लोकतन्त्र नै हुने उल्लेख गर्दै प्रचण्डले संविधान र लोकतन्त्रको रक्षामार्फत राष्ट्रको स्वतन्त्रताको रक्षा गुर्न सबै नेपालीको साझा कर्तव्य भएको बताए । उनले जेनजी आन्दोलनसम्म आइपुग्दा समयले संविधानको निरन्तरतामा अझ विस्तार र परिमार्जन मागेको उल्लेख गरे ।
प्रचण्डले अहिले सबैभन्दा उच्च प्राथमिकताका साथ देशव्यापी पुनर्निर्माणमा लाग्नुपर्ने बताए । ‘मलाई विश्वास छ, जेनजी आन्दोलन लोकतन्त्र विरोधी होइन बरु यथास्थिति र तदर्थवादी शासन प्रणालीको विरोधी र उन्नत लोकतन्त्रको पक्षधर हो, त्यति हुँदाहुँदै पनि २३ र २४ भदौका आन्दोलनलाई एउटै कोणबाट हेर्न सकिँदैन । भदौ २३ को आन्दोलन वास्तविक जेनजी आन्दोलन थियो,’ दाहालले भनेका छन् ।
यस्तै आज पार्टी कार्यालय पेरिस डाँडामा आयोजित कार्यक्रम लाई संबोधन गर्दै प्रचण्डले विद्यमान संविधानलाई संशोधन गरेर प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था गर्न सकिनेमा जोड दिएका छन्। प्रचण्डले २०७२ सालमा संविधान बन्दा माओवादीले राखेको फरक मत अहिले सम्बोधन गर्नु पर्ने बेला आएको बताए । त्यसबेला नै प्रत्यक्ष निर्वाचित राष्ट्रपति कार्यकारीको व्यवस्था हुनुपर्ने लगायतका विषयम आफूहरुले फरक मत राखेको बताउँदै प्रचण्डले अहिले जेनजी आन्दोलनले त्यसलाई पुष्टि गरिदिएको बताएका छन् ।
त्यसबेलाका ठूला भनिकए (कांग्रेस एमाले ) ले अहिले जेनजीले उठाएका विषयलाई संविधानमार्फत सम्बोधन हुन नदिएको दाबी गर्दै प्रचण्डले अहिले जेनजी आन्दोलनले आधार तय गरेको उल्लेख गरे ।
संविधान बनाउँदा नै माओवादीले राखेको फरक मतलाई समेटेको भए अहिलेको परिस्थित नआउने भन्दै प्रचण्डले भने, ‘राजनीतिक स्थायीत्वका लागि प्रत्यक्ष निर्वाचित राष्ट्रपति आवश्यक छ भनेकै हो । बहस भयो । सहमति भएन । त्यसमा सहमति भएको भए अहिले अर्कै परिस्थिति हुन्थ्यो । जेनजीले आन्दोलन गर्नु पर्थेन । यति ठूलो क्षति हुने थिएन ।
प्रत्यक्ष निर्वाचित कार्यकारी, पूर्ण समानुपातिक निर्वाचन प्रणाली र पहिचानका विषय ठीक थिए भन्ने जेनजी आन्दोलनले पुष्टि गरेको दोहोर्याउँदै प्रचण्डले संविधानलाई संशोधन गरेर जानु पर्ने धारणा राखेका हुन् । ‘हामीले संविधान बनाउँदा भिन्न मत राखेका थियौं । जेनजीको आन्दोलनले फेरि पुष्टि गरेको छ, ती मत सही थिए’, उनले भने, ‘१० वर्षपछि पुन संशोधन गरेर त्यो ठाउँमा पुग्न सकिन्छ भन्ने आधार बनेको देख्छु म । त्यसलाई कार्यान्वयन गर्न अगाडि बढ्नुपर्छ ।’
कार्यक्रममा अध्यक्ष प्रचण्डले अहिलेका ठूला भनिएका दलहरुको अहंकारले यो भयंकर अवस्था आएको बताउँदै उनीहरुलाई संविधान बनाउने बेलामा पनि कुनै चिन्ता नभएको औँल्याए ।





























प्रतिक्रिया