संविधानसँगै सम्झनुपर्ने नामः सुवास नेम्वाङ

संविधानसँगै सम्झनुपर्ने नामः सुवास नेम्वाङ

केन्द्रबिन्दु
6
Shares

वि.सं. २०६४ र २०७० मा गरी दुई पटकको संविधानसभा निर्वाचनबाट छानिएका जनप्रतिनिधिबाट संविधान निर्माण भएको दशक पूरा भएको छ । “नेपालको संविधान, २०७२ पारित भएको घोषणा गर्दछु।” – सुवासचन्द्र नेम्वाङको त्यो एक वाक्यले इतिहास बनायो। आजकै दिन, अर्थात् असोज ३ गते। नेम्वाङ संविधानसभाका अध्यक्ष मात्र होइनन्, संविधान निर्माणको समयका अध्यक्ष अर्थात् आजिवन पद संविधान सभा अध्यक्ष पनि थिए।

२०६५ सालको पहिलो संविधानसभा असफल हुँदा पनि उनले संयम गुमाएनन्। २०७० सालमा दोस्रो संविधानसभा बनेपछि फेरि अध्यक्ष बने र आफ्नो उद्देश्यलाई मेहनतमार्फत् सफलतामा परिणत गरे। नेपालको संविधान २०७२ को निर्माण प्रक्रिया निकै लामो र जटिल थियो। यो संविधान कुनै एक व्यक्ति वा दलको एकल प्रयासबाट नभई विभिन्न राजनीतिक दल, आन्दोलन र जनचाहनाको लामो सङ्घर्षपछि बनेको हो। संविधानले सधैं सम्झिरहने नाम हो, सुवासचन्द्र नेम्वाङ।

२०६२/६३ सालको जनआन्दोलनको मुख्य माग नै राजतन्त्रको अन्त्य गरी जनताका प्रतिनिधिहरूले लेखेको नयाँ संविधान बनाउने थियो। आन्दोलन सफल भएपछि अन्तरिम संविधान २०६३ जारी भयो, जसले संविधानसभाको चुनावको बाटो खोल्यो। नेम्वाङ नेकपा (एमाले) पार्टीको तर्फबाट २०४८ र २०५२ मा राष्ट्रिय सभा सदस्य, २०५६ मा प्रतिनिधिसभा सदस्य, २०६३ मा पुनस्र्थापित प्रतिनिधिसभा सदस्य तथा व्यवस्थापिका संसद् सदस्य, २०७२ मा रुपान्तरिक व्यवस्थापिका संसद् सदस्य, २०७४ र २०७९ मा सङ्घीय सांसद अन्तर्गतको प्रतिनिधिसभा सदस्य भएका थिए।

२०६३ सालमा पुनः स्थापित प्रतिनिधिसभाको सभामुख, त्यसै वर्ष व्यवस्थापिका संसद्को सभामुख, २०६५ र २०७० को संविधानसभाको अध्यक्ष रहेका नेम्वाङ २०५६ मा प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिको सभापति पनि भएका थिए। साथै, उनी कानुन, न्याय तथा संसदीय व्यवस्था र सामान्य प्रशासन मन्त्री समेत रहेका थिए। २०६२/६३ को जनआन्दोलनपछि पुनर्स्थापित संसद्मा सभामुख र पहिलो तथा दोस्रो संविधानसभामा अध्यक्षको रूपमा नेम्वाङले निर्वाह गरेको संविधान जारी गराउन नेतृत्वदायी र अनुकरणीय भूमिका रह्यो। उनी चारपटक सभामुख हुँदा सधैं सर्वसम्मत रूपमा चयन भएका थिए । २०७२ साल असोज ३ गते जारी भएको नेपालको संविधान उनकै अध्यक्षतामा पारित भएको हो।

नेम्वाङ भौतिक रूपमा आज हामीसँग छैनन्, तर – “नेम्वाङजस्ता संयमी, राष्ट्रवादी र संवैधानिक नेताको अभाव लामो समयसम्म खट्किनेछ।” संविधान निर्माणजस्तो कठिन र विवादग्रस्त प्रक्रिया सञ्चालन गर्नु सजिलो थिएन। एकातिर राजनीतिक दलहरूबीचको असहमति, अर्कोतिर जनताको चर्को अपेक्षा, यी सबैबीच सबै पक्षलाई शान्त राख्दै संविधानसभाको दुई पटक अध्यक्ष भएका नेम्वाङले नयाँ संविधान जारी गर्न खेलेको भूमिका अतुलनीय रह्यो। त्यसैले संविधानसँगै सधैं उनलाई सम्झना गरिन्छ।

नेपालमा हाल देखिएको जेनजी आन्दोलनले देशको राजनीतिक र सामाजिक मञ्चमा नयाँ बहस जन्माएको छ। युवाहरूको बृहत् सहभागिता र सशक्त आवाजले सत्तारूढ शक्तिलाई मात्र होइन, संविधानका व्यवस्थाहरूलाई समेत पुनर्विचार गर्न बाध्य बनाइरहेको सन्दर्भमा, संविधान निर्माणमा देखिएको नेम्वाङको जस्तो राजनीतिक समन्वयकारी भूमिका अझै खोजिन थालिएको आभास हुन थालेको छ। पार्टीभित्र र राष्ट्रिय राजनीतिमा समेत समन्वयकारी भूमिका खेल्न सक्ने नेम्वाङ स्वच्छ र इमान्दार छवि भएका नेता थिए। नेपाली राजनीतिमा सहमति र सहकार्यको पर्यायजस्तै नेम्वाङ नेपाली राजनीतिमा सहमति र सहकार्यको पर्याय नै थिए ।

आज जनताको बलिदान र खासगरी संविधान सभाको निर्वाचनबाट बनेको संविधान र संसदलाई कसरी जोगाउने भन्ने सन्दर्भमा पुगेका छ । राजनीतिक सम्वेदनाको यस घडीमा संविधानसभा अध्यक्ष हुँदा नेपालका अधिराज्यको संविधान निर्माण गर्ने काममा उनले महत्वपूर्ण भूमिका निर्वाह गरेका कुरालाई असाध्यै महत्वका साथ सोच्नुपर्ने बेला आएको छ । संविधान जारी भएको दिन संविधान बन्न महत्वपूर्ण भुमिका खेलेका नेम्वाङ सदा/सदा स्मरणीय रहने छ ।

Skip This
Skip This
Logo