यातायात व्यवस्था कार्यालय हेटौँडाले जोगिएका सामानबाट सेवा सञ्चालन गर्दै

यातायात व्यवस्था कार्यालय हेटौँडाले जोगिएका सामानबाट सेवा सञ्चालन गर्दै

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ ।‘जेनजी’ आन्दोलनको आगजनीबाट ध्वस्त भएको यातायात व्यवस्था कार्यालय हेटौँडा जोगिएका समान राखेर सेवा सञ्चालन गर्ने तयारीमा जुटेको छ ।

आगजनीबाट सो कार्यालयको भुइँतला र माथिल्लो तला जलेर पूर्ण रुपमा ध्वस्त भएका थिए भने पहिलोतला सुरक्षित छ । सुरक्षित रहेका कोठामा जोगिएका टेबुल कुर्सी राखेर तत्काल कार्यालयको सेवा सञ्चालन गर्ने तयारीमा जुटेको कार्यालय प्रमुख प्रविण श्रेष्ठले जानकारी दिए ।

“आगजनीबाट भुइँतलामा रहेको सेवाग्राहीका करिब ७० हजार फाइल तथा आवश्यक कागजात जलेर खरानी भइसकेको छ”, प्रमुख श्रेष्ठले भने, “अहिले भुइँतलामा थुप्रिएको खरानी सफा गरिरहेका छौँ, मेरो कार्यकक्ष सहित पहिलो तलाको केही कोठा करिब करिब सुरक्षित छ, हामी त्यही कोठामा कार्यालय व्यवस्थापन गरेर तत्काल नियमित सेवाप्रवाह गर्ने तयारीमा जुटेका छौँ ।”

आगजनीबाट कार्यालयमा जडान गरिएको विद्युत्, इन्टरनेट र खानेपानी क्षतिग्रस्त भइसकेको छ । प्रमुख श्रेष्ठले भने , ‘‘तत्काल विद्युत् र इन्टरनेट सेवा जडानको काम भइरहेको छ, ती काम सकिएपछि दर्ता, नवीकरण, रोड प्रमिट लगायतका काम सुरु गछौँ।” कार्यालयमा रहेका सेवाग्राहीको फाइल तथा महत्वपूर्ण कागजात जलिसकेकाले अब कसरी काम अघि बढाउने भन्ने विषयमा मन्त्रालय, विभाग र कर्मचारीसँग आवश्यक छलफल भइरहेको श्रेष्ठको भनाइ छ ।

सेवा सञ्चालनका लागि तत्काल आवश्यक कागजात छपाइ, विद्युतीय समान खरिदको काम भइरहेकाले चाँडै सेवा सञ्चालन हुने प्रमुख श्रेष्ठले बताए। जेनजी प्रदर्शनका क्रममा आगजनीबाट कार्यालयमा करिब रु एक करोड २० लाख मूल्य बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको श्रेष्ठले जानकारी दिए। आगजनीबाट कार्यालयमा रहेका २४ थान कम्प्युटर, ३८ थान प्रिन्टर, दुई थान ल्यापटपलगायत ६३ किसिमका सामान जलेर खरानी भएका छन् ।

यस्तै, कार्यालयको भण्डारण कक्षमा राखिएको पाँच हजार थान इम्बोस्ट नम्बर प्लेटसमेत जलेर नष्ट भएको छ भने प्रदर्शनकारीले दुई मोटरसाइकल र एउटा स्कुटरसमेत जलाएर खरानी बनाएको कार्यालय जनाएको छ ।

Skip This
Skip This
Logo