काठमाडौँ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले संविधानको भावना र मर्मलाई कागजमा सीमित नराखी सही कार्यान्वयन गर्न आवश्यक रहेको बताएका छन्।
आज धनगढीमा आयोजित संविधान दिवस समारोहमा उनले संविधानको सही कार्यान्वयन गरेर नेपालीको भविष्यको खाका तयार गर्नुपर्ने उल्लेख गरे ।
‘जेनजी’ आन्दोलनका क्रममा पुगेको धनजनको क्षतिले गहिरो चोट र पीडा महसुस भएको भन्दै मुख्यमन्त्री शाहले अब ‘जेनजी’को भावना बमोजिम सुशासनयुक्त, भ्रष्टाचारमुक्त समाज निर्माण, शान्ति, स्थिरता र विकासलाई प्राथमिकता दिएर अघि बढ्नुपर्नेमा जोड दिए । उनले जेन जी प्रदर्शनका क्रममा शहादत दिएका व्यक्तिका परिवार र घाइते सँगै उभिएको बताए ।
सभामुख भीमबहादुर भण्डारीले जेनजी आन्दोलनमा शहादत प्राप्त गर्नेहरूको भावनाको कदर गर्दै नयाँ नेपाल निर्माणमा देखिएका समस्याको समीक्षा गरेर अघि बढ्न आग्रह गरे।
प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हीरा सार्कीले अब शान्ति, समृद्धि र पुनःनिर्माणका लागि एकजुट भएर लाग्न सबैलाई आह्वान गरे।































प्रतिक्रिया