काठमाडौं
राष्ट्रिय सभा र प्रतिनिधिसभाका समितिले बिहीबारबाट पूर्णता पाएका छन् । बिहीबार बसेको दुवै सदनका छुट्टाछुट्टै बैठकले आ–आफ्ना समितिमा रहने सदस्यहरूको नामावली प्रस्तुत गरी पारित गरेका हुन् ।
राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको मौनतामा समिति घोषणा गरेका हुन् । बिहीबार बसेको राष्ट्रिय सभाको बैठकमा अध्यक्ष तिमिल्सिनाले चारवटा समितिका सदस्यको नाम मनोनयन गरेका हुन् ।
तिमिल्सिनाले बैठकमा नाम घोषणा गर्दा नेपाली कांग्रेस भने मौन बसेको थियो । राष्ट्रिय सभामा नेपाली कांग्रेसका संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले आफूले सदस्यहरूको रुचि र ज्ञानका आधारमा नाम बुझाएको बताए । ‘यसमा हाम्रो विरोध र समर्थन केही पनि छैन,’ उनले भने, ‘सभाध्यक्षको अधिकारको कुरा हो तर हामीले बैठकमा हात नउठाएर मौनता जनायौं ।’
नेपाली कांग्रेसले राष्ट्रिय सभाका चार मध्ये दुई समितिको सभापति दाबी गर्दै आएको छ । समितिको सभापतिको भागबन्डा नमिल्दा सम्म कांग्रेसले नाम नदिने जनाएको थियो । तर सभाध्यक्ष तिमिल्सिनाले आफैं नाम घोषणा गर्ने चेतावनी दिएपछि बिहीबार बिहान कांग्रेसले नाम बुझाएको थियो ।
सभापतिको भागबन्डाको विषय नटुंगिएकाले कांग्रेस बैठकमा मौन बसेको हो । अध्यक्ष तिमिल्सिनाले पटकपटक कांग्रेसलाई आग्रह गरे पनि कांग्रेसले भने नाम दिएको थिएन, जसले गर्दा अध्यक्ष तिमिल्सिनाले आफ्नो अधिकार प्रयोग गरी नाम मनोनयन गरेका हुन् ।
राष्ट्रिय सभापछि बसेको प्रतिनिधिसभा बैठकमा सभामुख कृष्णबहादुर महराले समिति घोषणा गरे । बैठकमा उनले १० वटा समितिका सदस्यको नाम मनोनयन गरेका हुन् । महराले बैठकमा नाम घोषणा गर्दा नेपाली कांग्रेसका सांसदहरू भने उठेर बसेका थिए ।
२६ सदस्य रहेको राज्य व्यवस्था तथा सुशासन समितिमा (ने क पा ) का १४, कांग्रेसका ६, संघीय फोरमका दुई, राजपा, नेपाल मजदुर किसान पार्टी र स्वतन्त्रका एक–एक जना सांसद रहेका छन् । घोषणा भएका समिति मध्ये २५ सदस्य रहने अर्थसमितिमा (ने क पा) का १६, कांग्रेसका ६, राष्ट्रिय जनता पार्टी, संघीय समाजवादी पार्टी, नयाँ शक्ति पार्टीका १–१ जना सांसद रहेका छन् ।
राजधानीबाट





























प्रतिक्रिया