सिन्धुपाल्चोक
सिन्धुपाल्चोकको जुरेमा पहाडै खसेर १४५ जनाको मृत्यु भएको आज ठीक चार वर्ष पूरा भएको छ । यो चार वर्षमा देशमा धेरै परिर्वतन भयो तर जुरे पहिरोपीडितको अवस्था भने अहिले पनि उस्तै छ । पीडितको नाममा संकलन भएको साँढे २ करोड जिल्ला प्रशासन कार्यालयको खातामा जम्मा भएको छ । तर पीडितहरु अहिले पनि अन्यत्र गएर बस्न बाध्य छन् ।
पीडितको अवस्था मात्रै होइन, जुरे आसपासका करिब २ किलोमिटर सडकको अवस्था पनि उस्तै छ । वर्षामा यो सडकमा सधैं समस्या हुने गरेको छ । १७ साउन २०७२ को रात जुरेमा पहाडै खस्यो । राम्चेको इटिनी भीर खस्दा मांखा कागुने, ड्यामसाइड र टेकानपुरका १४५ जनाले ज्यान गुमाए । कति घाइते र अंगभंग भए । सयौंको घरवास उठ्यो । पहाड नै खसेपछि १४ घण्टा सम्म सुनकोसी थुनियो ।
१४ घण्टा सुनकोसी बगेन, जुरेमा आँसु मात्र बगिरह्यो । पहाडै खसेर १४५ को जीवनलीला समाप्त भएको सुनकोसी बिपत्तिको चार वर्ष बितिसक्यो । चार वर्षका बीच पहिरोस्थलबाटै सडक छिचोलियो, पहिरो माथि सवारीसाधन गुड्न थाले । पहिरो गएको ठाउँमा काँस फुलेको छ यतिबेला । पहिरोमा काँस त पलायो तर पीडितका मनमा खुसी पलाउन सकेको छैन, न त पीडा भुल्न नै सकेका छन् उनीहरुले ।
पहिरोपीडितका लागि देश विदेशबाट दाताले दिएको २ करोड २४ लाख रुपैयाँ चार वर्ष सम्म सरकारी खातामा रोक्का भएर बस्यो । जसरी पहिरोमा मानिसहरु हराए, त्यसरी नै पहिरोपीडितका नाममा संकलित २ करोड २४ लाख राहत रकम हराइरह्यो चार वर्षसम्म ।
पहिरोपीडितको राहत रकम सरकारले नै ‘कब्जा’ गरिरहेपछि पटकपटक पहिरोपीडितहरु जिल्ला प्रशासन कार्यालय धाए, गृह मन्त्रालयसम्म पनि धाइरहे । चार वर्षसम्म पनि जसका नाममा पैसा संकलन भयो उनीहरुले नै पाएनन् । गृह मन्त्रालयले जुरे पहिरोपीडितका लागि आएको राहत रकमको खाता फुकुवा गरेको नै वर्ष दिन बितिसक्यो । तर खाताको पैसा पीडितका हातमा पुगेन । न त उनीहरुका लागि पुनर्वासको योजनाले नै मूर्त रूप लिन सक्यो ।
जुरे पहिरोको चार वर्षबीच जिल्लामा सात जना सीडीओ फेरिए । तर पीडित/विस्थापितहरुको अवस्था फेरिएन । पीडित/विस्थापित सबैको पीडा उस्तै छ । एकातिर परिवार गुमाउनुको पीडा त छँदैछ, चार वर्ष बितिसक्दा पनि बासको व्यवस्था नहुँदा उनीहरु माथि अर्को पीडा पहाड झैं उभिएकोे छ । ‘हाम्रै नाममा सरकारी खातामा पैसा छ तर हामीलाई बस्ने एउटा घर छैन,’ पहिरोपीडित राम्चे इटीनीका लोकबहादुर तामाङ भन्छन् । चार वर्ष बित्दा समेत आफूहरुको समस्या समाधानका लागि सरकारी तवरबाट केही प्रयास नभएको प्रति उनले आक्रोश पनि पोखे ।
पहिरोपीडितले क्षणिक रूपमा राहत त पाए तर दीर्घकालीन व्यवस्थापनका लागि कुनै प्रयास हुन सकेको छैन । सरकारी उदासीनताका कारण विस्थापितहरुको पुनर्वासको व्यवस्था हुन सकेको छैन । चार वर्षसम्म बिना ठेगानाको शरणार्थी जिन्दगी बिताइसकेका छन् सुनकोसी पहिरोपीडितले ।
राजधानीबाट





























प्रतिक्रिया