२०८२ असोज ५ देखि ११ गतेसम्मको राशिफल ।
ज्योतिष शास्त्रअनुसार ब्रह्माण्डमा मुख्यतः नौ ग्रह छन्—सूर्य, चन्द्रमा, मंगल, बुध, बृहस्पति, शुक्र, शनि, राहु र केतु । त्यस्तै, कुल १२ राशि हुन्छन्। वैदिक ज्योतिषमा जन्म समयमा चन्द्रमा रहेको राशिलाई ‘चन्द्र राशि’ भनिन्छ, र यही राशिका आधारमा जातकको स्वभाव, भविष्य तथा दैनिक जीवनका घटनाहरूको विश्लेषण गरिन्छ।
हामी यही चन्द्र राशि र ग्रहहरूको गोचर अनुसार साप्ताहिक राशिफलको मूल्याङ्कन गरी तपाईंलाई मार्गदर्शन प्रदान गर्दछौं । साप्ताहिक राशिफलको माध्यमबाट तपाईंले जान्न सक्नुहुन्छ कि यो साता तपाईंको लागि कस्तो रहनेछ, के–के नयाँ परिवर्तन आउन सक्छन्, र भाग्यले कति साथ दिनेछ।
हामीले प्रस्तुत गरेका उपायहरू ग्रहजन्य बाधा–विघ्न हटाउन र सप्ताहलाई शुभ बनाउन सहायक हुने विश्वास लिएका छौं। यद्यपि, सबै राशिका जातकहरूलाई सबै कुरा समान रूपमा लागू नहुन पनि सक्छन्, किनभने यी भविष्यवाणीहरू ग्रहहरूको गोचर र त्यसको प्रभावका आधारमा गरिएका हुन्। तर, यदि तपाईंले सुझाइएको उपाय अपनाउनुभयो भने, यो साता तपाईंका लागि अधिक लाभदायक र सफल रहन सक्नेछ। हेराैं, ज्योतिषी आचार्य श्री डा. प्रकाश पौडेलद्वारा तयार पारिएको यो साताको राशिफल–
मेष राशि
यो हप्ता मेष राशिका जातकका लागि मिश्रित तर प्रायः अनुकूल रहने देखिन्छ । साताको सुरुवातमा तपाईंले आफैंभित्र नयाँ उत्साह र आत्मविश्वासको लहर महसुस गर्नेछ । कामकाजमा पहिले भन्दा राम्रो परिणाम प्राप्त हुनेछ र विगतका असफलताले अब तपाईंलाई कमजोर बनाउने छैनन्। भविष्यका लागि नयाँ योजना बनाउन सक्नुहुन्छ, जसले करिअर र व्यवसायमा दीर्घकालीन लाभ दिने संकेत गर्दछ।
परिवारमा सुमधुर वातावरण बन्नेछ, विशेषगरी पिता वा ज्येष्ठ सदस्यको सल्लाह मान्दा ठूलो लाभ हुनेछ। उच्च शिक्षा वा प्रतियोगी परीक्षामा अड्किएको प्रगति अगाडि बढ्नेछ। तपाईंको कलात्मक क्षमतामा वृद्धि हुनेछ र कला, साहित्य वा सिर्जनात्मक कामतर्फ आकर्षण बढ्ने सम्भावना छ।
आर्थिक पक्षबाट हेर्दा यो हप्ता बलियो रहनेछ। लामो समयदेखि रोकिएको रकम फिर्ता पाउने सम्भावना छ वा पुरानो ऋण तिर्ने अवसर प्राप्त हुनेछ। नयाँ परियोजनामा पूँजी लगानी वा अतिरिक्त आम्दानीको स्रोत बन्ने संकेत पनि देखिन्छ। गुरु ग्रहको अनुकूल दृष्टिले तपाईंलाई धन सञ्चय, भविष्यका योजनामा पूँजी तयारी, तथा नयाँ काम सुरु गर्न मद्दत पुर्याउनेछ।
शिक्षा क्षेत्रमा लागेका विद्यार्थीले अहंकार र आलस्य नियन्त्रणमा राखेर मेहनत गर्नुपर्ने समय आएको छ। पढाइमा निरन्तरता राख्नेहरूले शिक्षक र अभिभावकको प्रशंसा पाउनेछन्। यो हप्ता अनुशासन र लगनशीलताले तपाईंलाई अगाडि बढाउनेछ।
प्रेम र दाम्पत्य जीवनमा सानो असमझदारी वा चिडचिडापनका कारण तनाव आउन सक्छ, त्यसैले संवाद र संयममा ध्यान दिनुहोस्। अत्यधिक भावुक भएर नयाँ सम्बन्ध बनाउन हतार नगर्नुहोस्। अरूसँग अनावश्यक वादविवाद नगर्नुहोस्, यसले मनमा बेचैनी ल्याउन सक्छ।यस साताभरि तपाईंले आफ्नो स्वास्थ्यप्रति विशेष ध्यान दिनु पर्नेछ। राम्रो स्वास्थ्य नै जीवनको सबै आनन्दको आधार हो भन्ने अनुभूति प्रबल हुनेछ। पुराना हानिकारक बानी–व्यसनहरू त्याग्ने प्रयास गर्नुहोस्। सन्तुलित आहार, नियमित व्यायाम र सकारात्मक जीवनशैली अपनाउँदा दीर्घकालीन लाभ हुनेछ।
उपाय- घरमा कलश स्थापना गरी प्रत्येक दिन दुर्गा सप्तशतीको पाठ गर्नु शुभ हुनेछ।
वृष राशि
यो साता कार्यक्षेत्रमा तपाईंलाई आफ्नो भावना विशेषगरी क्रोध नियन्त्रणमा राख्न अत्यन्तै जरुरी हुनेछ। सहकर्मीहरूसँग अनावश्यक वादविवाद वा झगडाको स्थिति बन्न सक्ने भएकाले संयमपूर्वक व्यवहार गर्नुहोस। यदि परिस्थितिलाई धैर्य र विवेकका साथ सामना गर्नुभयो भने तपाईंको पेशागत प्रतिष्ठा सुरक्षित रहनुको साथै सम्मानमा पनि वृद्धि हुनेछ।
यो साता चन्द्र राशिको एघारौँ भावमा शनिदेवको उपस्थितिले विभिन्न स्रोतहरूबाट धन प्राप्तिको सम्भावना देखाउँछ। अतिरिक्त आम्दानी प्राप्त भई तपाईंले त्यसलाई लगानीतर्फ मोड्ने निर्णय लिन सक्नुहुन्छ। तर सम्झनुहोस ।। लामो समयलाई दृष्टिगत गरी गरिएको लगानी भविष्यमा तपाईंका लागि सबभन्दा लाभदायी हुनेछ।
करिअरको दृष्टिले पनि यो हप्ता प्रगति र उन्नतिको सूचक छ। तर, आफ्नो काम आफैं ध्यानपूर्वक गर्नुहोस। वरिष्ठ अधिकारीसँग प्रत्यक्ष संवाद गर्नुहोस्, अरूलाई बीचमा राखेर कुरा नगर्नुहोस्। यसरी गर्दा तपाईंको मेहनत र क्षमता स्पष्ट रूपमा देखिनेछ र अवसरहरू प्राप्त हुनेछन्। कम्पनीमा उच्च पद वा नयाँ जिम्मेवारी पाउने सम्भावना पनि छ। व्यवसायमा संलग्न व्यक्तिहरूका लागि नयाँ काम सुरु गर्ने शुभ समय हुनेछ।
यो हप्ता ध्यान र योग साधना तपाईंका लागि अत्यन्तै लाभकारी हुनेछन्। धार्मिक वा सांस्कृतिक कार्यक्रममा सहभागी हुने अवसर पनि आउनेछ।सन्तानको इच्छा राख्ने जातकहरूलाई यस हप्तामा शुभ समाचार मिल्ने योग छ। तपाईंका कामहरूको प्रशंसा हुनेछ र प्रोत्साहन पाउने सम्भावना पनि प्रबल छ। साताको सुरुवात केही नकारात्मक रहनसक्छ।
प्रयास असफल नहुने भए पनि धैर्य कायम राख्नुपर्छ। पुराना रोग वा शारीरिक समस्या (जस्तै कम्मर वा मेरुदण्ड दुखाइ) बढ्न सक्ने सम्भावना छ। पच्न सजिलो भोजन लिनुहोस् र वजन बढेको छ भने योगाचार्य वा स्वास्थ्य विशेषज्ञसँग सम्पर्क गर्नु उचित हुनेछ। अरूहरूले तपाईंप्रति गलत धारणा बनाउन सक्ने भएकाले व्यवहारमा स्पष्टता र संयम अपनाउनु आवश्यक छ।
उपाय- दैनिक शिवलिङ्गमा जल चढाउनुहोस् र शिव चालिसाको पाठ गर्नुहोस् ।
मिथुन राशि
यो साता सुरुवात निकै शानदार रहनेछ । ठूलो कम्पनी वा प्रतिष्ठानबाट रोजगारीको अवसर पाउन सकिने सम्भावना प्रबल छ। यस अवधिमा तपाईंले आफ्नो व्यवहार मृदु र सरल राख्नु अत्यावश्यक हुनेछ, किनभने विनम्रताले नयाँ सम्बन्धहरू बन्नेछन् र पुराना सम्बन्ध अझ बलियो हुनेछन्। पारिवारिक सहयोग मिल्नेछ, तपाईंका विचार र बोलीले वरपरका मानिसहरू प्रभावित हुनेछन्।
नयाँ व्यवसाय सुरु गर्ने योजना बनाउन सक्नुहुन्छ, जसले भविष्यमा राम्रो सफलता दिनेछ। नियमित रूपमा आत्ममूल्यांकन गर्नुभएन भने गल्ती दोहोरिने सम्भावना हुन्छ, त्यसैले निरन्तर आत्मविश्लेषण गर्नुहोस्। तर अहंकार र कठोरताले धेरै काम बिगार्ने खतरा छ। बदनामी हुने वा आलोचना सहनुपर्ने स्थिति पनि आउन सक्छ। मेहनत गर्न ढिलोसुस्ती नगर्नुहोस्, बरु आफ्ना क्षमताहरूको पुरा प्रदर्शन गर्नुहोस्। पुराना रोग वा स्वास्थ्यसम्बन्धी समस्या हल्का देखिए पनि बेवास्ता नगर्नुहोस्। अनावश्यक विवाद वा षड्यन्त्रबाट टाढा रहनु बुद्धिमानी हुनेछ। साथीहरूसँग तीव्र बहस हुनसक्ने भएकाले धैर्य अपनाउनुहोस्।
आर्थिक पक्ष बलियो रहनेछ । गुरु ग्रहको लग्नमा उपस्थितिले तपाईंका धेरै महत्वपूर्ण योजनाहरू यसै हप्तामा कार्यान्वयन हुने सम्भावना बढाउँछ। नयाँ आर्थिक लाभ प्राप्त हुनेछ, धन सञ्चय गर्ने अवसर मिल्नेछ, र भविष्यका लागि बैंक वा बचत योजनामा लगानी गर्न सकिनेछ। साझेदारीमा व्यवसाय गरिरहेका जातकहरूका लागि यो हप्ता विशेष लाभदायी हुनेछ। यदि ऋण वा लोनको लागि आवेदन दिनुभएको थियो भने यस हप्तामा स्वीकृत हुने योग छ। लगानीबाट भविष्यमा राम्रो नाफा आउनेछ।
शिक्षा क्षेत्रमा उल्लेखनीय प्रगति सम्भव छ । विद्यार्थीहरूले समयको सही सदुपयोग गरेमा राम्रो अवसर प्राप्त गर्नेछन्। तर पढाइमा भन्दा मौज–मस्तीमा समय खर्च गर्नेहरूले यी अवसर गुमाउन सक्छन्। ध्यान केन्द्रित गरे मात्रै सफलतासहित उज्ज्वल भविष्य सम्भव हुनेछ।स्वास्थ्यको हिसाबले हेर्दा यो हप्ता केही चुनौतीपूर्ण देखिन्छ। मसालेदार, तैलीय र जंक फूडबाट टाढा रहनुहोस्। खानपानमा ध्यान दिएर योग र व्यायामलाई दिनचर्यामा समावेश गर्नुभयो भने शरीर स्वस्थ हुने मात्र होइन, मानसिक सन्तुलन पनि कायम रहनेछ।
उपाय- प्रत्येक दिन विष्णु सहस्रनामको पाठ गर्नु शुभ रहनेछ।
कर्कट राशि
कर्कट राशिका जातकहरूका जीवनशैली र सुख सुविधामा वृद्धि हुने संकेत देखिन्छ। तर यी इच्छाहरू पूरा गर्न संचित धन खर्च गर्नुपर्ने हुनसक्छ, जसले बीचमा हल्का आर्थिक चाप ल्याउन सक्छ। त्यसैले खर्चलाई नियन्त्रणमा राखी प्राथमिकता अनुसार बजेट तयार गर्नु नै लाभदायी हुनेछ।कार्य क्षेत्रमा यस हप्ता अघिल्लो प्रयासहरूको सकारात्मक परिणाम देखिने भएकाले सामान्य भन्दा कम मेहनतले नै राम्रो उपलब्धि मिल्नेछ।
पदमा स्थिरता आउनेछ, आत्मविश्वास बढ्नेछ र कामप्रति रुचि बढ्नेछ। यो समयलाई आफ्ना सीप र दक्षता अझ निखार्न प्रयोग गर्नुभयो भने आगामी ठूलो अवसरहरूको भरपुर लाभ लिन सक्नुहुन्छ।
शिक्षा क्षेत्रमा परिणाम मिश्रित रहने देखिन्छ। हप्ताको अन्त्यतिर उच्च शिक्षा वा पढाइसँग सम्बन्धित क्षेत्रमा सफलता प्राप्त हुने योग प्रबल छ। मनलाई अस्थिर वा द्विविधामा नपारेर पढाइतर्फ ध्यान केन्द्रित गर्न सके उपलब्धि बढ्नेछ र भविष्यमा अझ सकारात्मक नतिजा आउनेछ।
परिवार र सामाजिक जीवन सुखद रहने संकेत छ। सन्तानबाट आनन्द प्राप्त हुनेछ। नयाँ दम्पतीहरूका लागि परिवार विस्तारको योजना बनाउन उपयुक्त समय छ। काममा सुधारका लागि बिचमा केही परिवर्तनको सम्भावना छ। घरमा तपाईंको प्रभाव बलियो हुनेछ र पारिवारिक अनुशासन कायम राख्नु आवश्यक हुनेछ। शेयर बजार वा सञ्चार–माध्यमसम्बन्धी काममा संलग्न व्यक्तिहरूलाई लाभ हुने सम्भावना छ।
तर व्यापारमा केही अनपेक्षित ग्राहक वा परिस्थितिले चुनौती दिन सक्छ। तपाईंको व्यवहारले केही मानिस असन्तुष्ट हुन सक्ने भएकाले धैर्य अपनाउनुहोस्। हप्ताको सुरुवात अलि थकाइपूर्ण हुनसक्छ। आयकर वा कानुनी–करसम्बन्धी काममा लापरवाही नगर्नुहोस्। वैवाहिक जीवनमा सानो गलतफहमी बढ्न सक्ने भएकाले विवाहेतर सम्बन्ध वा अनावश्यक कुराकानीबाट टाढा रहनु बुद्धिमानी हुनेछ।
हप्ताको अन्त्यमा ठूलो व्यापारिक निर्णय लिनबाट बच्नु राम्रो हुनेछ।तपाईंको स्वास्थ्य अघिल्ला साताको तुलनामा राम्रो हुने देखिन्छ। नियमित व्यायाम, सन्तुलित दिनचर्या र पौष्टिक आहारले तपाईंको रोगप्रतिरोधात्मक क्षमता बलियो बनाउनेछ।
उपाय- प्रत्येक दिन “ॐ सोमाय नमः” मन्त्र २१ पटक जप गर्नुहोस्।
सिंह राशि
यो हप्ता सिंह राशिका जातकहरूका लागि अवसर र चुनौती दुवै बोकेको रहनेछ । करियरमा तपाईंको प्रदर्शन अत्यन्त राम्रो हुनेछ र कार्यस्थलमा आफ्नो प्रभाव जमाउन सफल हुनुहुनेछ। उच्च शिक्षा र अध्ययनमा चासो बढ्नेछ र लक्ष्यप्रति गम्भीर रहन सक्नुहुनेछ। जीवनसाथीसँगका मतभेदहरू कम हुनेछन् र सम्बन्धमा सुधार आउनेछ। समाज, राजनीति र पारिवारिक गतिविधिहरूमा सक्रियता बढ्ने सम्भावना छ।
तर, अति उत्साहमा काम गर्नु तपाईंको हितमा नहुन सक्छ। हप्ताको सुरुवातमा तपाईंको राशीमा ग्रहणको प्रभावले कानुनी झमेला वा पुराना मुद्दामा फसाउने संकेत छ। यस कारण मानसिक तनाव बढ्न सक्छ र नीन्द्रामा असर पर्न सक्छ। पर्याप्त आराम, संयमित जीवनशैली र स्वास्थ्यप्रति सचेत रहन आवश्यक छ। मधुमेह वा पुराना रोगबाट पीडितहरूलाई यो हप्ता विशेष ध्यान दिनुपर्छ।
आर्थिक पक्षमा यस हप्ता खर्च बढ्ने देखिन्छ। तर परिवार र जीवनसाथीको सहयोगले खर्चलाई नियन्त्रण गर्न सकिनेछ। व्यावहारिक बजेट बनाउनुभयो भने आर्थिक चाप घट्नेछ। अनावश्यक विलासिताबाट टाढा रहनुहोस् र केवल आवश्यक कार्यमै धन खर्च गर्नु उपयुक्त हुनेछ।
पारिवारिक जीवनमा आपसी सहयोग र आत्मीयता बढ्नेछ। कार्य क्षेत्रमा भने केही चुनौती आउन सक्छन्। तपाईंको योजनामा कसैले हस्तक्षेप गर्ने वा गुप्त रूपमा प्रभाव पार्ने प्रयास गर्न सक्छ। त्यसैले सतर्क रहनुहोस्, आफ्ना योजनाहरू गोप्य राख्नुहोस् र सबै गतिविधिमा चनाखो बन्नुस ।। प्रेम जीवनमा अलि बढी समय दिनाले पढाइ वा करियरमा असर पर्न सक्छ। यसैले प्रेम र लक्ष्यबीच सन्तुलन कायम राख्न आवश्यक छ।
भविष्यलाई ध्यानमा राख्दै अहिलेको प्राथमिकता पढाइ र पेशागत प्रगति हुनु पर्छ भन्ने कुरा सम्झनुहोस्।स्वास्थ्य पक्षमा मनमौजी र लापरवाह व्यवहारले समस्या बढाउन सक्छ। असन्तुलित दिनचर्या, अनावश्यक थकाइ वा अनियमित खानपानले शारीरिक मात्र होइन, व्यक्तिगत जीवनमा पनि तनाव ल्याउन सक्छ। यसैले नियमित व्यायाम, पर्याप्त निद्रा र सन्तुलित आहारलाई प्राथमिकता दिनुहोस्।
उपाय- प्रतिदिन आदित्य हृदय स्तोत्र को पाठ गर्नुहोस्। यसले आत्मबल, कार्यशक्ति र सफलता दिलाउनेछ ।
कन्या राशि
यस हप्तामा सकारात्मक र व्यवस्थित समय रहनेछ । तपाईंलाई आफ्ना काम र योजनामा ध्यान केन्द्रित गर्ने अवसर मिल्नेछ। भावनात्मक रूपमा केही उतारचढाव भए पनि व्यावहारिक सोच र स्थिरता कायम राख्न सक्नु भयो भने धेरै कुरा आफ्नो पक्षमा मोड्न सक्नुहुन्छ। करियरमा राम्रो प्रदर्शन हुने देखिन्छ भने आर्थिक पक्षमा पनि सन्तुलन कायम गर्न सक्नुहुनेछ।
गर्भवती महिलाहरूले विशेष सावधानी अपनाउनुपर्ने हुन्छ । पाँचौं भावमा राहुको प्रभावका कारण स्वास्थ्यमा असर पर्न सक्ने योग छ। सरसफाईमा ध्यान दिनुहोस् र खानपान सन्तुलित राख्नुहोस्, अन्यथा सामान्य संक्रमण वा समस्या बढ्न सक्छ।आर्थिक पक्ष बलियो हुने सम्भावना छ। पुरानो लगानीबाट फाइदा मिल्न सक्छ र लिएको ऋण तिर्न पनि सफल हुन सक्नुहुन्छ। तर नयाँ आम्दानीका अवसर खोजिराख्नु आवश्यक छ। घरमा नयाँ सदस्यको आगमन वा शुभसमाचारले पारिवारिक वातावरण खुसीमय बन्नेछ।
सबै परिस्थिति आफैंअनुकूल नहुन सक्छन्। केही योजनाहरू रोकावटमा परे पनि धैर्य नहराउनुहोस्। आत्मसंयम र सकारात्मक सोचले अगाडि बढ्न मद्दत गर्नेछ।विद्यार्थीहरूले आफ्नो लक्ष्य प्राप्तिका लागि योजनाबद्ध भएर काम गर्नुपर्छ। समयको सदुपयोग गर्न कार्यसूची बनाएर अघि बढ्दा सफलता हात लाग्नेछ।पारिवारिक जीवन सन्तोषजनक रहनेछ। रचनात्मक कार्यमा रुचि बढ्नेछ। सामाजिक कार्यक्रममा पुराना साथीहरू भेटिने सम्भावना छ। विवाह योग्य युवाको विवाह तय हुने योग छ। लगानी गर्दा विशेष गरी लटरी वा सट्टामा धन गुम्ने सम्भावना भएकाले सचेत रहनुहोस्।कामकाजी महिलाहरूलाई कार्यभार बढ्न सक्छ। काम टार्ने बानीले अवसर गुमाउन सक्ने भएकाले निरन्तर सक्रिय रहनु जरुरी छ।
उपाय- माता लक्ष्मीलाई प्रसन्न पार्न श्रीसूक्तको पाठ गर्नु लाभकारी हुनेछ।
तुला राशि
यस हप्ता तुला राशिका लागि भाग्यशाली समय रहनेछ । करियरमा प्रगति गर्ने अवसर प्राप्त हुनेछ। व्यापार गर्नेहरूलाई नाफा हुने योग छ। आर्थिक पक्ष मजबुत हुने देखिन्छ। परिवारसँग रमाइलो यात्रा गर्ने सम्भावना छ। अविवाहितहरूका लागि विवाह वा प्रेमसम्बन्धी शुभ समाचार आउन सक्छ। प्रेम जीवनमा सुधार आउनेछ। स्वास्थ्य उत्तम रहनेछ तर नियमित व्यायाम गर्नु लाभदायी हुनेछ।
करियर र व्यवसायमा नयाँ अवसर आउन सक्छ। रियल इस्टेट, वास्तु वा मार्केटिङसँग सम्बन्धित काम गर्नेहरूलाई विशेष लाभ हुने देखिन्छ। कार्यस्थलमा नयाँ योजना सुरु गर्न सक्नुहुन्छ। भविष्यलाई ध्यानमा राखी करियरमा परिवर्तन गर्ने विचार आउन सक्छ। व्यापारमा राम्रो रणनीति अपनाउँदा आम्दानी बढ्नेछ। आर्थिक दृष्टिले यो हप्ता स्थिरता दिनेछ। बचत गर्ने प्रयास सफल हुनेछ। इन्स्योरेन्स वा पुराना स्रोतहरूबाट धन प्राप्ति हुने सम्भावना छ। अनावश्यक खर्चमा नियन्त्रण गर्न सकियो भने अझै राम्रो हुनेछ।
पारिवारिक जीवन सुखमय रहनेछ। परिवारमा नयाँ समाचार वा सदस्यको आगमनले खुसी ल्याउनेछ। बालबालिकाको जीवनमा सकारात्मक परिवर्तन देखिनेछ। अविवाहित युवाहरूको विवाह तय हुन सक्छ । सम्बन्ध र रिश्तामा विश्वास र धैर्य आवश्यक हुनेछ।
प्रेम जीवनमा मधुरता आउनेछ । तर आफ्नो भावनालाई स्पष्ट रूपमा व्यक्त गर्न कठिन हुन सक्छ। बाहिरी मानिसमाथि अत्यधिक भरोसा नगर्नुहोस्। दाम्पत्य जीवन सामान्य र सन्तोषजनक रहनेछ।स्वास्थ्य पक्ष राम्रो रहनेछ। तर आलस्यले कमजोरी ल्याउन सक्छ। हृदयसम्बन्धी समस्या हुने सम्भावना भएकाले सचेत रहनुहोस्। नियमित व्यायाम, योग र सन्तुलित खानपान आवश्यक छ।महत्वपूर्ण निर्णय गर्दा आक्रामक नबन्नुहोस्। आमा–बुबासँग सल्लाह गरेर मात्रै अगाडि बढ्नु उपयुक्त हुनेछ। सोमबार र शनिबार महत्वपूर्ण काम नगर्नुहोस्। धैर्य र व्यावहारिक सोचले सफलता दिलाउनेछ।
उपाय- नित्य “ॐ शुक्राय नमः” मन्त्र ३३ पटक जप गर्नुहोस्।
वृश्चिक राशि
वृश्चिक राशिका जातकहरूको लागि यस हप्ता आफ्नो काममा पूर्ण ध्यान दिनु उपयुक्त हुनेछ । मनलाई स्थिर राखेर कार्यमा केन्द्रित हुँदा सफलता हात लाग्नेछ। जागिर वा नोकरी गर्नेहरूका लागि यो हप्ता विशेष शुभ रहनेछ। स्वास्थ्य सामान्यतया राम्रो रहन्छ। व्यक्तिगत सम्बन्धहरू मजबुत हुनेछन् र नजिकका आफन्तको घर आगमनले पारिवारिक वातावरण रमाइलो बन्नेछ।
वरिष्ठ अधिकारीहरूले तपाईंको वचन र कार्यको सम्मान गर्नेछन्।साथीहरूको सहयोगले व्यावसायिक कठिनाइ कम हुनेछ। तर सहकर्मीहरूमा ईर्ष्या बढ्न सक्छ, त्यसैले सचेत रहनुहोस्। ठूलो रकम ऋण लिनबाट जोगिनु उत्तम हुनेछ। घरका महिला सदस्यसँग व्यवहार राम्रो राख्नुपर्नेछ। राजनीतिक व्यक्तित्व वा विवादास्पद विषयबाट टाढा रहनु लाभदायी हुनेछ।
अज्ञात डर वा अनावश्यक चिन्ताले सताउन सक्छ। सामान्य लापरवाहीले ठूलो क्षति निम्त्याउन सक्ने भएकाले सतर्कता आवश्यक छ। पैसाको दिखावा गर्न नचाहे पनि खर्च बढ्न सक्छ, त्यसैले बजेट नियन्त्रणमा राख्नुहोस्।
गुरु ग्रह आठौं भावमा रहेका कारण नयाँ लगानीका अवसरहरू मिल्ने सम्भावना छ। तर निर्णय गर्दा हतार नगरी योजना विस्तारपूर्वक बुझेर मात्र लगानी गर्नुहोस्। यसले धोका वा घाटाबाट जोगाउनेछ। दाजुभाइ वा दिदीबहिनीहरूको सहयोग अपेक्षाभन्दा बढी हुनेछ। उनीहरूको मद्दतले ठूलो समस्याबाट मुक्त हुन सक्नुहुन्छ।
परिवारसँगको संवाद र सहकार्यले मानसिक शान्ति दिनेछ।विदेश जाने चाहना राख्ने जातकका लागि पनि शुभ संकेत देखिन्छ। काम वा व्यवसायसँग सम्बन्धित विदेश यात्रा वा अवसर प्राप्त हुनसक्छ। यसले करियरमा प्रगति दिलाउनेछ। त्यसैले योजनाबद्ध र आत्मविश्वासका साथ प्रयास गर्नुहोस्।शिक्षा क्षेत्रमा केही अवरोध आउन सक्छ। परीक्षा वा नतिजामा अपेक्षित परिणाम नआउँदा मन खिन्न हुने वा चिडचिडोपन बढ्ने सम्भावना छ। यसले सहपाठीहरूसँग विवाद पनि ल्याउन सक्छ। यस्तो अवस्थामा धैर्य र आत्मनियन्त्रण नै सबैभन्दा राम्रो उपाय हुनेछ।
उपाय- नित्य राति “ॐ ह्रीं दुं दुर्गायै नमः” मन्त्रको १ माला जप गर्नुहोस्।
धनु राशि
धनु राशिका जातक आफ्नो उन्नति र उपलब्धिबाट अत्यन्त उत्साहित महसुस गर्नेछन्। धर्म, अध्यात्म र धार्मिक कार्यमा रुचि बढ्नेछ। करियरको मामलामा आशावादी रहने अवसर छ भने आर्थिक स्थिति पनि सकारात्मक रहनेछ। लामो यात्रा वा व्यावसायिक यात्राका अवसर प्राप्त हुन सक्छन्। लामो समयदेखि रोकिएका कार्यहरू यस हप्तामा पूर्ण हुनेछन्।
महत्वपूर्ण व्यवसायिक सम्बन्धहरू विकास हुनेछन्। मिडिया वा सञ्चार क्षेत्रमा काम गर्नेहरूलाई विशेष लाभ मिल्नेछ। शेयर बजारबाट आम्दानीको सम्भावना छ। प्रेमीजनलाई परिवारसँग भेटाउन उपयुक्त समय छ। पारिवारिक सम्बन्धमा प्रगाढता आउनेछ।
विपरीत लिङ्गका व्यक्तिहरूसँग मैत्रीपूर्ण व्यवहार अपनाउनु लाभदायी हुनेछ। जीवनसाथीको स्वास्थ्यमा ध्यान दिनु आवश्यक छ। छिमेकका केही व्यवहारले तपाईंलाई असन्तुष्ट बनाउन सक्छ। मुखमा छाला वा अल्सरको समस्या देखा पर्न सक्छ। आर्थिक पक्षमा उधारो लिनुपर्ने अवस्था आउन सक्छ। जीवनशैलीसँग सम्बन्धित रोग वा स्वास्थ्य समस्यामा सावधानी आवश्यक छ। आफ्ना अधिकारको गलत प्रयोग नगर्नुहोस्।
वृद्ध जातकहरूले स्वास्थ्यमा विशेष ध्यान दिनु पर्छ। राहु ग्रहको पहिलो भावमा उपस्थितिले खर्चमा वृद्धि हुन सक्छ। तर, चन्द्र राशिको पाँचौं भावमा गुरु ग्रहको अनुकूल प्रभावले आम्दानी बढ्ने र आर्थिक सन्तुलन कायम राख्न मद्दत गर्नेछ। यस हप्तामा राशिमा रहेका ग्रहहरूको अनुकूल स्थिति पेशागत जीवनमा राम्रो परिणाम दिनेछ।
मुख्य व्यवसाय वा जागिरमा रहेका जातकहरूका लागि समय अनुकूल रहनेछ। नयाँ व्यवसाय वा प्रोजेक्ट सुरु गर्ने सोच बनाएका जातकका लागि पनि यो समय शुभ हुनेछ।पारिवारिक जीवनमा नयाँ सदस्यको आगमनले खुसी र उत्सवको माहोल ल्याउनेछ। घरमा स्वादिष्ट भोजन बनाउने र लामो समयपछि सम्पूर्ण परिवारसँग समय बिताउने अवसर मिल्नेछ। यसले पारिवारिक सम्बन्ध बलियो बनाउनेछ र एकजुटता बढाउनेछ।
उपाय- प्रतिदिन पूजा गर्दै विष्णु सहस्त्रनामको पाठ गर्नुहोस्।
मकर राशि
यस हप्तामा मकर राशिका जातक धेरै व्यस्त रहनेछन् । स-साना कामहरूका लागि पनि बढी परिश्रम गर्नुपर्नेछ। हप्ताको सुरुवातमा ध्यान प्रायः घरेलु मामिलामा केन्द्रित रहनेछ। यस क्रममा घरको कुनै सदस्यको स्वास्थ्य तपाईंको चिन्ताको कारण बन्न सक्छ। व्यवसाय वा पेशागत जीवनमा यो हप्तामा आर्थिक कमीकमजोरी देखिन सक्छ।
तर, आवश्यक खर्चहरू पूरा हुनेछन् र आधारभूत आवश्यकता पूरा हुने योग छ। विघ्न–बाधा आए पनि आवश्यकताहरू पूरा हुनेछन्। मकर जातकहरूले आलस्य र अभिमानबाट बच्नुपर्नेछ, अन्यथा बनिरहेका काम रोकिन सक्छन्।
हप्ताको मध्य भागमा कसैको विवादमा नपर्नु लाभदायी हुनेछ, नत्र अपमान वा कानूनी झमेलामा पर्ने सम्भावना छ। यस समयमा मानसिक तनाव र अल्चिपन बढ्न सक्छ। हप्ताको उत्तरार्धमा नौकरीपेशा जातकहरूले सहकर्मीसँग विवादको सामना गर्नुपर्न सक्छ। गुप्त शत्रुले छवि बिगार्ने प्रयास गर्न सक्छन्। यात्रा गर्दा विशेष सतर्क रहनु आवश्यक छ, वाहन सावधानीपूर्वक चलाउनुहोस् र सामानको ख्याल राख्नुहोस्।
प्रेम सम्बन्धमा केही खटास आउने सम्भावना छ। प्रेमीजनसँग भेट नहुनु वा मतभेदले मन खिन्न हुन सक्छ। वैवाहिक जीवन सुखमय बनाउन जीवनसाथीको भावना र आवश्यकतालाई प्राथमिकता दिनुहोस्।
गुरु देवको छठौं भावमा चन्द्रमा रहेकोले अत्यधिक खर्च र चालाकीपूर्ण आर्थिक योजनाबाट बच्नु आवश्यक छ। आर्थिक निर्णयमा घरका बुढापाकासँग वा भरोसायोग्य व्यक्तिसँग सल्लाह लिनु लाभदायी हुनेछ।
उपाय- प्रतिदिन हनुमानजीको पूजा गर्दै श्री सुन्दरकाण्डको पाठ गर्नुहोस्।
कुम्भ राशि
यस हप्तामा कुम्भ राशिका जातकहरूलाइ मिश्रीत रहनेछ । करियरमा सकारात्मक परिणाम आउनेछन् भने प्रेम र संतान सम्बन्ध राम्रो रहनेछ। तर मानसिक तनाव वा पुराना झन्झटका कारण पारिवारिक वातावरणमा अलिकति अशान्ति देखिन सक्छ।आर्थिक पक्षमा लेन–देन गर्दा सावधानी अपनाउनु जरूरी छ। हतारमा निर्णय नगर्नु लाभदायी हुनेछ।
आफ्नो स्वास्थ्यमा विशेष ध्यान दिनुपर्नेछ। आर्थिक पक्षमा केही खर्च वृद्धि देखिनेछ। तर, चन्द्र राशिको पाँचौं भावमा गुरु ग्रहको अनुकूल प्रभावले आम्दानीका नयाँ अवसर प्रदान गर्नेछ। यसले आर्थिक जीवनमा सन्तुलन ल्याउनेछ र वित्तीय लक्ष्य प्राप्त गर्न सजिलो बनाउनेछ।कार्य क्षेत्रमा ग्रहहरूको अनुकूलता सकारात्मक संकेत दिइरहेको छ।
मुख्य व्यवसायसँगै नयाँ काम वा प्रोजेक्ट सुरु गर्न चाहनेहरूका लागि समय अनुकूल रहनेछ। नयाँ अवसरले करियरलाई नयाँ दिशा दिनेछ।हप्ताको पूर्वार्धमा अति उत्साह वा आत्मविश्वासका कारण बनिरहेका काम बिग्रन सक्नेछ। त्यसैले कुनै पनि काम धैर्यपूर्वक गर्नु लाभदायी हुनेछ। घर–परिवारमा पैतृक सम्पत्ति सम्बन्धी विवाद आउन सक्छ। व्यवसायिक लेन–देन गर्दा सावधानी अपनाउनु पर्छ। साझेदारीमा कारोबार गर्नेहरूले स्पष्टता कायम राख्दै अगाडि बढ्नु आवश्यक छ।
यदि आफ्नो ऊर्जा र समयको सदुपयोग बुद्धिमानीपूर्वक गर्नुभयो भने कार्यमा अपेक्षाभन्दा बढी सफलता प्राप्त हुने सम्भावना छ। हप्ताको मध्य भागमा शुभचिन्तकको सहयोग प्राप्त हुनेछ। संतानसँग सम्बन्धित समस्याको समाधानले मनमा शान्ति ल्याउनेछ। लामो समय एउटै प्रकारको काम गर्दा बोर भएका जातकहरूले नयाँ प्रोजेक्ट सुरु गर्न सक्नेछन्। यो हप्तामा विपरीत लिङ्गप्रतिको आकर्षण बढ्नेछ। हालैको मित्रता प्रेम सम्बन्धमा रूपान्तरण हुन सक्छ। लव पार्टनर वा जीवनसाथीसँग बढी समय बिताउने प्रयास हुनेछ। हप्ताको उत्तरार्धमा परिवारसँग पिकनिक वा पर्यटनको अवसर बन्न सक्छ।
उपाय- शिवलिंगाष्टकं स्तोत्रको पाठ गर्नु लाभदायी हुनेछ।
मीन राशि
यस हप्तामा मीन राशिका जातकहरूले स्वास्थ्यलाई प्राथमिकता दिनुपर्नेछ। आर्थिक दृष्टिले यो हप्ता सधैं झै लाभदायक नदेखिएको छ। अनावश्यक खर्चबाट जोगिनु पर्छ, नत्र अचानक आर्थिक तंगीले परिवारमा असुविधा ल्याउन सक्छ।
खर्च सोच–विचार गरेर गर्नु लाभदायी हुनेछ।पारिवारिक जीवनमा खुशीको समाचार आउन सक्छ। घरका सदस्यलाई नयाँ जागिर वा प्रमोशन मिल्ने सम्भावना छ। लामो समयदेखि रोकिएका घर नवीनीकरण वा अन्य योजनाहरू पुरा हुने सम्भावना पनि छ। यसले पारिवारिक सामञ्जस्य र एकता बलियो बनाउनेछ।कार्य र प्राथमिकतामा ध्यान केन्द्रित गर्नु महत्वपूर्ण छ। हप्ताको प्रारम्भमा कामकाजका सिलसिलामा बढी भागदौड़ हुन सक्छ, तर मेहनतको फल प्राप्त हुनेछ । परिवारसँगको गलतफहमीहरू दूर हुनेछन् र अघि बढ्ने अवसर मिल्नेछ।
धन–लाभको दृष्टिले सुख-सुविधासँग सम्बन्धित खर्च हुन सक्छ। भूमि, भवन वा वाहन सम्बन्धी मनोकामना पुरा हुने सम्भावना छ। आम्दानी बढ्नेछ र रोजी–रोजगारका अवसर प्राप्त हुनेछन् । पूर्व निवेशबाट लाभ हुनसक्छ।प्रेम जीवनमा सकारात्मकता रहनेछ। घर–परिवारमा खुशीको वातावरण रहनेछ। लव पार्टनरबाट सरप्राइज भेट वा गिफ्ट प्राप्त हुन सक्छ। जीवनसाथीसँग सुखद पल बित्ने अवसर मिल्नेछ।
उपाय- नित्य आदित्य हृदय स्तोत्रको पाठ गर्नुहोस्।































प्रतिक्रिया