लमजुङका किसानहरु अलैँची टिप्नमा व्यस्त ,उत्पादनबाट २० करोड आम्दानीको अनुमान

लमजुङका किसानहरु अलैँची टिप्नमा व्यस्त ,उत्पादनबाट २० करोड आम्दानीको अनुमान

केन्द्रबिन्दु
15
Shares


काठमाडौँ । लमजुङका किसानहरु यतिबेला अलैँची टिप्नमा व्यस्त छन् । करिब १,२०० मिटर उचाइसम्म खेती गरिएको अलैंची यस वर्ष समय भन्दा छिट्टै पाकेपछि किसान हार्भेष्टिङमा मा व्यस्त भएका हुन्।

मर्स्याङ्दी गाउँपालिका–७ ताराचोकका किसान डम्बरसिंह अधिकारीले डम्बरसाई र जिर्मले जातको अलैंची पाकेपछि टिप्न थालेको बताए । “यो वर्ष छिट्टै नै अलैंची पाक्यो, टिप्ने काम पनि छिटो भयो,” उनले भने, “अब सुकाएर ग्रेडिङ गरेर बिक्री गर्ने तयारीमा छौं ।” ताराचोकका किसानहरूले ४० रोपनीभन्दा बढी जमिनमा अलैंची खेती गरेका छन् ।

स्थानीय इन्द्रप्रसाद तामाङका अनुसार हाल गाउँभर अलैंची टिप्ने चटारो छ। “पहिले खेर गइरहेको पाखोबारी र धान खेत मासेर किसानले अलैंची लगाएका छन्,” उनले भने । खेतीबाट मनग्य आम्दानी भएपछि बसाइँ सरेका गाउँले पनि फर्किएका छन् । मर्स्याङ्दी–७ लुदी गाउँमा बसाइँपछि ६ घरमात्र बाँकी रहँदा अहिले घरसंख्या १९ पुगेको छ ।

रामप्रसाद तामाङका अनुसार सहर झरेका धेरै परिवार फर्केर अलैंची खेतीमा लागेका छन् । लुदी गाउँमा हाल चार सय रोपनीमा अलैंची लगाइएको छ र किसानहरूले लुदी अलैंची कृषक समूहमार्फत सामूहिक खेती गरिरहेका छन् ।

मर्स्याङ्दी–६ बाहुनडाँडाका किसान लोकनाथ घिमिरेले पनि अलैंची टिपेर सुकाइसकेको बताए । उनले ६ रोपनीमा लगाइएको रामशाही जातको अलैंचीबाट करिब १५० केजी उत्पादन भएको जानकारी दिए । अलैंची व्यवसायी महासङ्घ गण्डकीका अध्यक्ष अजय तामाङका अनुसार १,२०० मिटरभन्दा माथिल्लो क्षेत्रको अलैंची दसैँपछि मात्र टिप्न सुरु हुनेछ ।

जिल्लामा करिब १,२०० रोपनीमा अलैंची खेती गरिएको छ, जसमध्ये ७५० रोपनीमा लगाइएको अलैंचीले यस वर्ष उत्पादन दिने अनुमान छ । विगतमा १,५०० रोपनीमा खेती भए पनि रोगका कारण केही भाग नष्ट भएको थियो ।मर्स्याङ्दी गाउँपालिकामा मात्रै करिब ४०० हेक्टरमा अलैंची खेती भइरहेको छ । बेँसीसहर, दोर्दी, दुधपोखरी र क्होलासोँथर गाउँपालिकाका विभिन्न बस्तीमा पनि व्यावसायिक खेती विस्तार गरिएको छ । यस वर्ष जिल्लामा करिब ६० मेट्रिक टन अलैंची उत्पादन हुने अनुमान गरिएको छ ।

गत वर्ष किसानहरूले अलैंची बिक्रीबाट १६ करोड रुपैयाँभन्दा बढी आम्दानी गरेका थिए । यस वर्ष उत्पादन र मूल्य दुवै बढ्ने भएकाले करिब २० करोड रुपैयाँसम्म आम्दानी हुने अपेक्षा लमजुङ अलैंची व्यवसायी महासङ्घका अध्यक्ष सोमबहादुर तामाङले व्यक्त गरे ।

नेपाल अलैंची व्यवसायी महासङ्घका अनुसार प्रमुख व्यापारिक केन्द्र बिर्तामोडमा हाल अलैंचीको मूल्य ग्रेडअनुसार प्रतिमन ९४० किलो० ८१ हजारदेखि ९२ हजार रुपैयाँसम्म छ । सबैभन्दा उच्च गुणस्तरको ‘बोल्ड’ अलैंचीको मूल्य प्रतिमन ९२ हजार रुपैयाँ, सामान्य ‘चालु’को ८१ हजार र मध्यम गुणस्तर ‘जेजे’को मूल्य ८४ हजार रुपैयाँ रहेको छ ।

Logo