काठमाडौं
सरकारको कार्यशैली अधिनायकवाद उन्मुख र जनविरोधी रहेको भन्दै देशमा विरोध प्रदर्शन गरिरहेको प्रमुख प्रतिपक्षी दल कांग्रेसले विदेशमा समेत विरोध प्रदर्शन गर्ने भएको छ । ३० वटा देशमा रहेका पार्टी निकटको नेपाली जनसम्पर्क समिति मार्फत कांग्रेसले सरकारको विरोध गर्न लागेको हो । कांग्रेस केन्द्रको तयारी अनुसार आगामी १ देखि ३ अगस्ट भित्र सरकार विरोधी कार्यक्रम हुनेछन् ।
जनसम्पर्क समिति कांग्रेससँग आस्था राख्ने विदेशमा बस्नेहरूको समिति हो । जनसम्पर्क समितिहरूलाई महाधिवेशनमा भाग लिने अधिकार पनि कांग्रेसले दिँदै आएको छ । कांग्रेसका नेताहरू विदेश जाँदा जनसम्पर्क समिति मार्फत नै कार्यक्रम हुँदै आएका छन् ।
१५ साउन अर्थात आज कांग्रेसले ७७ वटै जिल्ला सदरमुकाममा सरकारविरोधी प्रदर्शन गर्दैछ । ‘देश देखि विदेश सम्मबाट सरकार माथि दबाब बढाउन कांग्रेसले एउटै मितिमा विरोध प्रदर्शनको तयारी गरेको छ,’ कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले भने, ‘यहाँ १५ साउन अर्थात् जुलाई ३१ मा विरोधको कार्यक्रम छ ।
विदेशमा सोही दिन वा अगस्ट १ देखि ३ तारिख सम्म सरकारविरोधी प्रदर्शन र विरोध कार्यक्रम गर्ने तयारी छ ।’ आफ्नो अनुकूलमा ती देशका नियम–कानुन भित्र बसेर विरोध प्रदर्शन गर्न १५ दिन अघि नै सबै जनसम्पर्क समितिलाई परिपत्र गरिएको जानकारी पौडेलले दिए ।
विरोधको कार्यक्रम अन्तर्गत जनसम्पर्क समितिहरूले सबै देशको दूतावास अगाडि प्रदर्शन गर्ने कांग्रेसको दाबी छ । ‘विदेशमा रहेका नेपालीले पनि सरकारलाई खबरदारी गरिरहेका छन् भन्दै दबाब दिने र कांग्रेसका पक्षमा जनमत बढाउन पनि विरोध प्रदर्शन गर्न लागिएको हो,’ एक नेताले भने ‘विरोधका अनेक शैलीमा हामी कार्यक्रम गर्दै छौँ ।’
नयाँ पत्रिकाबाट































प्रतिक्रिया