काठमाडौँ । सिरहाको लहान नगरपालिकाले सुकुम्बासी तथा विपन्न परिवारलाई लक्षित गर्दै घरघरमा खानेपानीको धारा जडान गर्ने अभियान तीव्र बनाएको छ । नगरपालिकाले आज मात्रै थप ५५ सुकुम्बासी परिवारका लागि धारा जडान प्रक्रिया अघि बढाएको हो ।
घरमा धारा जडान भएसँगै अब टाढाटाढाबाट घैलोमा पानी बोक्नुपर्ने बाध्यताबाट सुकुम्बासी परिवारले मुक्ति पाउने भएका छन् । यो अभियान ‘वाटर एड’ नेपालको आर्थिक सहयोगमा लहान नगरपालिका, नेपाल खानेपानी संस्थान लहान शाखा र दलित जनकल्याण युवा क्लब लहानको साझेदारीमा सञ्चालित ‘विकन परियोजना’अन्तर्गत भइरहेको हो ।
आज यहाँ आयोजित एक कार्यक्रममा नगरप्रमुख महेशप्रसाद चौधरीले धारा जडान गरिने परिवारको आवश्यक कागजात खानेपानी संस्थानलाई हस्तान्तरण गरे । उनले दसैँ अगाडि यहाँका अधिकांश घरमा धारा जडान सम्पन्न हुने जानकारी दिए ।
यसपटक वडा नं १, ७, १०, १७ र २४ का ५४ जना लालपुर्जा नभएका सुकुम्बासी र एक जना लालपुर्जा भएका गरी ५५ घरधुरी लाभान्वित हुनेछन् । “गत वर्ष हामीले ४०० विपन्न तथा सुकुम्बासी परिवारमा खानेपानी पु¥याउने योजना बनाएका थियौँ । हालसम्म १८१ घरमा धारा जडान भइसकेको छ”, नगरप्रमुख चौधरीले भने, “वीरगञ्जमा हालै देखिएको हैजाको सङ्क्रमणले देखाउँछ कि शुद्ध पानी सबैको घरमा पुग्नैपर्छ ।” उहाँका अनुसार अघिल्लो वर्षमात्रै ३०० घरधुरीमा धारा जडान गरिसकिएको छ ।
यस क्षेत्रमा इनार र हातेकल सुक्दै गएपछि पानीको भरपर्दो स्रोतका रूपमा घरघरमा धारा आवश्यक भइसकेको लहान–२४ का वडाध्यक्ष राशलाल रायले बताए । उनले खानेपानी संस्थानले काममा गति दिएकामा खुसी व्यक्त गर्दै भने, “अब इनारमा लाइन बस्ने, पालो कुर्ने बाध्यता अन्त्य हुँदै गएको छ । टाढाबाट पानी ल्याउने झन्झट हटेको छ ।”
दलित जनकल्याण युवा क्लबका विकन परियोजना कार्यक्रम प्रबन्धक राजेशकुमार लोहनीले परियोजना केबल धारा जडानमा सीमित नरहेको जनाउँदै वडाध्यक्ष रायले समुदायमा खानेपानी, सरसफाइ र स्वच्छतासम्बन्धी सचेतना अभियान पनि सञ्चालन भइरहेको जानकारी दिए ।































प्रतिक्रिया