जलेश्वर कारागारबाट भागेका कैदीमध्ये २३३ फर्किए

जलेश्वर कारागारबाट भागेका कैदीमध्ये २३३ फर्किए

केन्द्रबिन्दु
6
Shares

काठमाडौँ । गत भदौ २४ गते जेनजीद्वारा गरिएको प्रदर्शनपछि उत्पन्न परिस्थितिका कारण यहाँको जिल्ला कारागार जलेश्वरबाट भागेका कैदीमध्ये २३३ फर्किएका छन् । कारागारबाट भागेका पाँच सय ७६ कैदीबन्दीमध्ये तीन सय ४३ जना अझै फर्किएका छैनन् ।

सङ्घीय राजधानी काठमाडौँसहित देशभरि जेनजीको प्रदर्शन चलिरहेको बेला भदौ २४ गते मङ्गलबार राति करिब ७ बजे जलेश्वर कारागारमा कैदीबन्दी भई बस्दै आएका ४० भारतीयसहित सबै पाँच सय ७६ जना कैदी फरार भएका कारागारका जेलर अशोक क्षेत्रीले जानकारी दिए उनकाअनुसार आज बिहानसम्म दुई सय ३३ जना कैदीबन्दी फर्केर आएका छन् ।

कैदीबन्दी फरार भएको भोलिपल्टै भदौ २५ गत कारागार प्रशासनले फरार कैदीबन्दीलाई फर्किन आह्वान गरेपछि आज बिहानसम्म दुई सय ३३ जना आइसकेका जनाउँदै अझै आउने क्रम पनि जारी रहेको क्षेत्रीले बताए। जलेश्वर कारागारबाट भागेकामध्ये १२ जना कैदीबन्दीलाई भारततर्फ जाँदै गरेको अवस्थामा भारतीय प्रहरीले पक्राउ गरी पुनः कारागार फर्काउन मद्दत गरेको उनले बताए ।

बाँकी कैदीबन्दी आफैँ कारागारमा फर्किएका हुन् । जेनजीको प्रदर्शन चलिरहेको बेला भदौ २४ गते मङ्गलबार राति करिब ५०० को सङ्ख्यामा आएका प्रदर्शनकारीले आफूलाई जेनजी भन्दै कारागार कार्यालयका तीन तहका ढोका फुटाएर सबै कैदीबन्दीलाई भगाएका जेलर क्षेत्रीले जानकारी दिए।

जेनजीको प्रदर्शनको आडमा जलेश्वर कारागारबाट भागेका र अझै पनि नआएका तीन सय ४३ कैदीबन्दीलाई जिल्लाको तीनै तहका सुरक्षाकर्मी परिचालन गरी खोजीकार्य गरिरहेको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालको भनाई छ।

Skip This
Skip This
Logo