काठमाडौं । ‘जेनजी’ पुस्ताको आन्दोलनपछि बनेको अन्तरिम सरकारको मन्त्रिपरिषद्मा महाविर पुनले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको जिम्मेवारी पाउने भएका छन् । चर्चाका बीच राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक डा. पुन शिक्षा मन्त्रालयको जिम्मेवारी लिन तयार भएका हुन् ।
ग्रामीण नेपालमा वायरलेस इन्टरनेट क्रान्ति ल्याउने उनको योगदानले अन्तर्राष्ट्रिय स्तरमा सम्मान कमाएका पुनलाई प्रधानमन्त्री कार्कीले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको जिम्मेवारी लिन आग्रह गरेकी थिइन् । उनले विज्ञान तथा प्रविधिमा मात्र केन्द्रित रहन चाहेको संकेत गरेका छन् । पुनको मन्त्रित्वले ग्रामीण प्रविधि र युवा उद्यमशीलतालाई प्राथमिकता दिन सक्ने अनुमान छ ।
यसैबीच सञ्चार तथा सूचना प्रविधि मन्त्रीमा सञ्चारकर्मी जगदीश खरेलको चर्चा बढेको छ । खरेल इमेज टेलिभिजनका समाचार प्रमुखका रुपमा कार्यरत छन् । खरेलले प्रधानमन्त्रीनिकटबाटै कुरा आएको स्वीकारीसकेका छन् । यसैगरी मानव अधिकारकर्मी रहेकी मोहना अन्सारी पनि मन्त्री बन्ने तयारीमा छिन् । उनले लिने मन्त्रालयको नाम भने खुलेको छैन।
पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा गठित यो सरकारले ६ महिनाभित्र स्वतन्त्र निर्वाचनको वाचा गर्दै सानो तर प्रभावकारी मन्त्रिपरिषद् गठनको दिशामा अघि बढिरहँदा विज्ञहरूको सहभागिताले सबैको ध्यान खिचेको छ ।































प्रतिक्रिया