काठमाडौं
‘पानी परेको बेला गरेको कालोपत्रे दुई दिन पनि टिक्दैन । त्यसैले वर्षायाममा कालोपत्रे गरिन्न ।’ यो भनाई सडक विभागका उपमहानिर्देशक तथा प्रवक्ता मुक्ति गौतमको हो।
तर आइतबार दिउँसो २ बजे भोटाहिटी, जमल लगायत ठाउँमा सिमसिम पानी परिरहेको थियो । त्यहीबेला सडक विभागको ज्याकेट लगाएका केही कर्मचारीले दुवैतर्फ गाडी रोकेर भोटाहिटी चोक कालोपत्रे गरे । तर कालोपत्रे गरेर गाडी गुडेसँगै अलकत्रा उप्कियो ।
प्रवक्ता गौतमले भने पानी परेको बेला कालोपत्रे नगरेको दाबी गरे । ‘वर्षायाममा गरेको कालोपत्रे दुई दिन पनि टिक्दैन, तसर्थ गराउँदैनौं,’ उनले भने, ‘झन पानी परिरहेको बेला त गराउने कुरै भएन ।’ तर सडक डिभिजन कार्यालय काठमाडौं १ का सूचना अधिकारी सुशीलराज भण्डारी भने नियमितरूपमा भइरहेको खाल्डा पुर्ने काम गरेको बताए ।
‘ठेक्का लगाएर होइन, कार्यालयले नियमितरूपमा सडकमा देखिएका खाल्डा पुर्ने काम गरिरहेको छ,’ सूचना अधिकारी राजभण्डारीले भने, ‘इमोसन गराएको हो । यो गराउँदा पानी परे पनि फरक पर्दैन ।’ राजभण्डारीले बचाउ गरे पनि दिउँसो गरेको कालोपत्रे गाडी चलेसँगै फुरुरु गिटी निस्कन थालिसकेको छ ।
नागरिकबाट































प्रतिक्रिया