काठमाडौं
नेपाल पत्रकार महासंघ महिला विभागद्वारा आयोजित महिला फुटबल प्रतियोगिताको उपाधि प्रिन्ट मिडियाले जितेको छ ।
‘महिला पत्रकार कोषका लागि एक गोल’ भन्ने नाराका साथ शनिबार सातदोबाटो स्थित एन्फा मैदानमा भएको प्रतियोगितामा अनलाइन मिडियालाई २–१ गोलले पराजित गर्दै प्रिन्ट मिडियाले उपाधि जितेको हो । खेल जारी रहेकै बेला रातपरेपछि खेल बीचमै रोकेर पेनाल्टी मार्फत विजेता घोषित गरिएको थियो ।
विजेता टोली प्रिन्टका लागि पून्यवती ढकाल र भाषा शर्माले गोल गरेका थिए भने अनलाइनका तर्फबाट मुना कार्कीले मात्र गोल गर्न सकिन्, अन्य खेलाडीले हानेको पेनाल्टीले गोलपोष्टको दिशा लिन सकेन । प्रतियोगितामा रेडियो र टेलिभिजनले संयुक्तरुपमा तेस्रो स्थान प्राप्त गरे । निर्धारित २० मिनेटको खेलमा दुवै टोलीले गोल गर्न नसकेपछि दुवै टोलीलाई तेस्रो भएको घोषणा गरिएको थियो ।
विजेता टोली रेडियोलाई १–० गोलले र उपविजेता अनलाइन टोली टेलिभिजनलाई २–१ ले पराजित गरी फाइनलमा पुगेका थिए । विजेता तथा उपविजेता टोलीलाई नेपाल पत्रकार महासंघका उपाध्यक्ष विपुल पोखरेल, महासचिव रमेश विष्ट, सचिव रामप्रसाद दाहाल लगायतले ट्रफी प्रदान गर्नुभयो ।
रासस





























प्रतिक्रिया