सिन्धुपाल्चोक
ठेकेदारले मुख्य संरचना सुरुङमार्ग ‘फाइनल फिनिसिङ’ (ढलान) को कामलाई एकरुपता दिन नसक्दा आगामी असोजमा मेलम्ची पानी पाउने उपत्यकावासीको दुई दशक लामो सपना पर धकेलिने सम्भावना बढेर गएको छ ।
गएको चैत अन्तिम साता २६ किलोमिटर लामो मुहानस्थल अम्बाथान–सुन्दरीजल सुरुङमार्ग ‘ब्रेक थ्रु’ भए पछि उत्साही सरकारले आगामी दसैँ उपहारमा मेलम्ची पानी खुवाउने बाचा गरेको थियो । तीन महिनामा सक्ने लक्ष्य साथ थालिएको ढलान सो समयमा एक तिहाइ पनि नसकिने भएपछि मेलम्ची भाखा फेरि सर्ने देखिएको हो ।
सुरुङ निर्माणमा संलग्न इटालीयन ठेकेदार कम्पनी सिएमसी रेभेना कामलाई ढिलो गराउन उद्यत देखिएको छ । यद्यपी सिएमसीले सुरुङ ढलान रोकेको भने छैन, तर कामलाई गति पनि दिएको छैन । ‘ठेकेदारले कामलाई एकरुपता दिन सकेको छैन,’ मेलम्ची खानेपानी आयोजनाका प्रवक्ता राजेन्द्र पन्तले भने, ‘उतारचढाव भइरहेको उसको कामले एक दिन उत्साही बनाउँछ अर्को दिन निराश ।’
सुरुङ ब्रेक थ्रु हुँदा तीन किमि फिनिसिङ र ढलान भइसकेको थियो । त्यस यताका तीन महिनामा ठेकेदारले थप चार किमी मात्र सुरुङ ढलान गरेको छ । जबकी सम्पूर्ण सुरुङ फिनिसिङको काम तीन महिनामा सकिने आयोजनाको अनुमान थियो । आयोजनाको अनुमान अनुसार साउन पहिलो साता मेलम्ची पानी सुन्दरीजल खसिसक्नु पर्ने बेलामा ठेकेदारले बल्ल ७.४ किमि सुरुङ फिनिसिङको काम सकाएको छ ।
प्रवक्ता पन्त ठेकेदारले अझै कामलाई तीव्रता नदिए असोजको भाखा सर्ने सम्भावना देख्छन् । ‘सुरुङ ढलान जटिल काम नभएकाले दसैँको भाखा असम्भव भने छैन । तर ठेकेदारले चाहिँ काम गर्दिनुपर्यो,’ उनले भने । निर्धारित समय धकेलिन नदिन आयोजना ठेकेदारलाई मनाएर, फकाएर तथा विश्वासमा लिएर काम सम्पन्न गराउने रणनीतिमा छ ।
नागरिकबाट





























प्रतिक्रिया